सिन्धुपाल्चोक, ११ फागुन । सिन्धुपाल्चोकमा नेकपा, कांग्रेस र राप्रपाका एक दर्जनभन्दा बढी जिल्ला तहका नेताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

शनिबार सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिकामा आयोजित औपचारिक कार्यक्रमका तीन वटै पार्टीका नेता तथा कार्यकर्ताहरु संघीय फोरममा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा दानबहादुर तामाङ, महाविर तामाङ, लालबहादुर तामाङ, सन्तलाल तामाङ, निमा वाङ्गेल लामा, पासाङ तामाङ, कालु तामाङ, पेमा वङ्जु लामा, साने लामा लगायतका नेता छन् ।

संघीय फोरम सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष जगतबहादुर मोक्तानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघीय फोरम प्रदेश नं ३ का अध्यक्ष लालबहादुर तामाङले खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

सो क्रममा अध्यक्ष तामाङले प्रदेश नं ३ मा पार्टी निर्माण तथा संगठन विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको बताए ।

उनले संघीय फोरमप्रति जनताको आकर्षण बढ्दै गएको भन्दै अब संगठन विस्तार गरेर बृहत राजनीतिक शक्ति खडा गर्नुपर्ने औल्याए ।

जिल्ला अध्यक्ष मोक्तानले संघीय फोरमले बाकेको राजनीतिक मुद्दा बुझ्नेहरु धमाधम पार्टी प्रवेश गर्न थालेको बताए ।
पहिचान, समानुपातिक सहभागिता, भाषिक सांस्कृतिक न्याय र समानता तथा अधिकारका विषय राम्रोसँग बुझ्नेहरु संघीय फोरममा प्रवेश गर्न थालेको उनले बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here