किरात राई यायोक्खा किरात राई समुदायको साझा संस्था हो । प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्नुपर्छ भनेर अभियान चलाउदै आएको यायोक्खाको यही फागुन १८, १९ र २० गते सुनसरीको धरानमा १०औं राष्ट्रिय महाधिवेशन हुँदैछ ।
उक्त महाधिवेशनको सन्दर्भमा यायोक्खा महासचिव जीवन हाताचो राईसँग गरिएको कुराकानी ।

राष्ट्रिय महासधिवेशनको तयारी कस्तो हुँदैछ ?
प्रचारप्रसार तीव्र रुपमा भइरहेको छ । प्रचारको सामाग्री पर्चा, पम्लेट, व्यानर र भित्ते लेखनका सामग्रीहरु जिल्ला पुग्ने क्रम जारी छ । आर्थिक सहयोग र अन्यका पत्रहरु काटिदैछ । जिल्ला र भातृसंगठनको अधिवेशनहरु धमाधम भइरहेका छन् ।

प्रतिनिधि पर्यवेक्षक कति हुन्छन् ?
नेपाल र देश बाहिरबाट करिव एक हजारको संख्यामा प्रतिनिधि पर्यवेक्षक धरान पुग्नेछन् ।

महाधिवेशनको उद्घाटन सत्रमा कति जनसहभागिता उतार्ने तयारी छ ?
यो महाधिवेशन हाम्रो लागि अगाडिको भन्दा अत्यन्त फरक छ । यायोक्खाले १ नम्बर प्रदेशको नाम किरात राख्नुपर्छ भन्ने चलाइरहेको अभियानलाई सार्थकता दिनको लागि यो महाधिवेशनले प्रदेश सभालाई दवाव दिनुपर्छ भन्ने हाम्रो सोंच हो ।

हामी तयारीकै क्रममा छौ । यो बेला अलिक जनशक्ति प्रदर्शन गर्नुपर्छ भन्नेमा छौ । त्यसैले देशभरी र विदेशमा रहेका शाखा संगठनहरु र किरात नाममा सहमत राख्नुहुने शुभेक्षुकसहित एक लाख भन्दा बढी जनसंख्या उतार्नु पर्छ भन्नेमा हाम्रो तयारी रहेको छ ।

महाधिवेशनको मुख्य एजेण्डा के हो ?
हामी यो कार्यकालभरि नै १ नम्बर प्रदेशको नाम किरात प्रदेश रहनुपर्छ भनेर सयौं अभियानहरु सञ्चालन गरियो । प्रदेश सभालाई यो देशकै गर्विलो किरातकालिन इतिहास, भुगोल, संस्कृति र सभ्यताको सम्मान गरोस भन्ने शन्देश दिने नै हाम्रो मुख्य एजेण्डा रह्यो ।

प्रदेश १ को नाम किरात राखिनु पर्छ भन्ने एजेण्डा हाम्रो मुख्य मुद्धा बन्छ । साथै किरात राई समुदायलाई अधिकार सम्पन्न बनाउन र किरातीहरुको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण, प्रवद्र्वन र विकासको कार्यहरु हाम्रो महाधिवेशनको एजेण्डाहरु हुनेछन् ।

यायोक्खाले राजनीतिक एजेण्डा किन उठाएको भन्ने पनि छन् नि ?
राजनीति कुनै पार्टीमा आवद्ध भएका व्यक्ति वा दलले मात्र गर्दैनन् । राजनीतिमा हरेक नागरिकको सहभागिता हुन्छ । सहभागिता कस्तो किसिमको हुने भन्ने मात्रै फरक हो ।

जसमा किरात राई यायोक्खा ७ लाख किरात राईहरुको साझा संस्थाहुनुको नाताले आफ्नो समुदायको अधिकार, समावेशी, समानुपातिक जस्ता विषयहरुमा सरकार र राजनीतिक दलहरुलाई सुझाव वा दवावको रुपमा सधै खवरदारी समुहगत ढंगले गर्दै आएका हौं ।

त्यही गरिरहेका छौ । राजनीति शास्त्रको ब्याख्या अनुसार हित समुह, दवाव समुहको रुपमा भूमिका निर्वाह मात्र गरिरहेका हौं । यदी राजनीतिक पार्टी, सरकार र प्रदेश सभाले किरातीहरुको इतिहास, भूगोल, संस्कृति र सभ्यताको सम्मान र सदासयता कायम गर्दै किरात नाम राख्ने जिम्मेवारी इमान्दार साथ निर्वाह गर्ने हो भने यायोक्खाले यो आरोप खेप्नै पर्दैन थियो ।

प्रदेशको नामकरण किरात राख्नको लागि के के गर्नुभयो ?
हामीले प्रदेको मुख्यमन्त्री, सभामुख, ९३ जनै प्रदेशसभा सदस्यहरु, देशका प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेका सभापति शेरबहादुर देउवालगायतसँग भेटेर किरात प्रदेश बन्ने आधारहरु बुझाएका छौं ।


प्रदेशको नाम किरात राख्न हस्ताक्षर संकलन गरेर बुझाएका छौ । निरन्तर प्रचारप्रशार र राजनीतिक दलका नेताहरुलाई खबरदारी गरिहेका छौ । नेताहरु र प्रदेशको आम जनतामा किरात शब्द के हो भन्ने बारेमा बुझाउने प्रयास गरेका छौ ।

प्रदेशको नाम किरात रहला त ?
नाम किरात रहन्छ भन्ने पुरै विश्वासमा छौ । किरात शब्द किराती समुदायको मात्र होइन, किरातकालीन इतिहास, सिंगो देशकै इतिहास हो । इतिहासको सम्मान र राज्यको हरेक सचेत नागरिकले गर्ने नैतिक जिम्मेवारी हो । त्यसैगरी नेपाल विभिन्न जातजाति संस्कार र संस्कृतिसहितको आपसी सद्भाव र सदासयतासताको जगमा उभिएर बसेको समाज भएको कारणले यसमा सवै नेपालीको साथ रहनेछ भन्ने विश्वास गरेका छौ । राजनीतिक दलले यी कुरा बुझेर निर्णय गर्ने गराउने छन् भन्नेमा विश्वास्त छ ।

महाधिवेशनले नयाँ नेतृत्व पनि निर्वाचित गर्लान्, मुख्य नेतृत्वको लागि मैदानमा तपाइ पनि हो ?
मुख्यतय महाधिवेशन नेतृत्व भन्दापनि नीतिको महाधिवेशन बन्नुपर्छ भन्ने हो । महाधिवेशनले कस्तो नीति बनाउछ र त्यो नीतिलाई परिणाममा परिणत गर्नको लागि कस्तो नेतृत्व चयन गर्नेभन्ने महाधिवेशनले ठम्याउने छ । हाम्रो संगठनले हालम्म सर्वसहमत रुपमा नेतृत्व चयन गर्दै आएको छ । म हो वा होइन भन्ने कुराले त्यति महत्व राख्दैन । हामी सर्वसहमतिकै रुपमा नेतृत्व चयन गर्नेछौ ।

को को छन् ?
हाम्रो संस्थाले एक से एक नेतृत्वको जन्म दिएको छ । सहमतिमै नेतृत्व चयन हुने भएकोले सक्षम नेतृत्व आउनेछ ।

अन्त्यमा छुटेका बिषय केही छ ?
विश्वभरि रहेका किरात राई समुदायको सहभागिता रहनु पर्दछ । आर्थिक, भौतिक, बौद्विक, नैतिक सहयोग गर्न अपिल गर्दछु । त्यसपछि संघ, प्रदेश, स्थानीय सरकार र सुभेच्छुक संघ, संस्था, राजनीतिक दलका नेता कार्यकर्ताहरु र आम नेपालीहरुलाई मन, वचन र कर्मले सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।

2 COMMENTS

  1. 1 number pradesh lai kirat pradesh namakaran garnu akdam sabaile accept grne pradesh ko name ho ksaiko pni bibad hudaina. Rajdhani Dhankuta banaungda bibad hudaina 1 no pradesh ko kendrama parx.

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here