[sharethis-inline-buttons]

काठमाडौं, १ माघ । किरात राई यायोक्खाका कार्यबाहक अध्यक्ष दिवस राईले चार किरात संस्थाबीच किरात येले संवत् ५०७९ लाई नै प्रचलनमा ल्याउने सहमति भएको दाबी गरेका छन् ।

उक्त सहमति बमोजिम किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज र किरात याक्खा छुम्माले येले संवत् ५०७९ प्रयोग गरिरहेको उनले बताए ।

चार किरात संस्थाद्वारा तत्कालिन समयमा गठित ‘किरात येले संवत् अध्ययन समन्वय समिति’ले ५ वर्षअघि विभिन्न अध्ययन गोष्ठि तथा छलफलहरु चलाएर नेपालको इतिहासमा हालसम्म भेटिएको प्रमाणको आधारमा किरात येले संवतको गणना निकालेको थियो । जस अनुसार यस वर्ष किरात येले संवत् ३७९८ हुन्छ ।

केही किरातीहरुले भने अध्ययन र हालसम्मको ठोस प्रमाणलाई आधार मानेर किरात येले संवत् ३७९८ प्रयोग गर्नुपर्ने बताइरहेका छन् ।

किरात येले संवत् ५०७९ को अवसरमा यायोक्खाद्वारा मंगलबार कोटेश्वरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा कार्यबाहक अध्यक्ष राईले भने, ‘एउटै अध्ययनलाई मानिहालेर हजारौ दस्तावेजमा लेखिसकिएको संवतलाई परिवर्तन गर्यौ भने फेरि अर्को नयाँ अध्ययनले नयाँ पुष्टि पनि निकाल्न सक्छ । यसबारे अध्ययन पनि जारी रहेकोले एउटै कारणले संवत् फेर्नु हुँदैन भन्ने चार किरात संस्थाको समझदारी रहेको छ ।’

कार्यक्रममा किरात राई प्रज्ञा परिषदका कुलपति जयकुमार राईले किरात येले संवतको ऐतिहासिकताबारे प्रकाश पारे ।

कार्यक्रममा नेकपा र नेपाली कांग्रेसका किरात राई नेताहरुले समेत शुभकामना दिए ।

उक्त कार्यक्रममा दिवंगत चित्रकार तथा कवि अर्जुन खालिङ राईका छोरी निन्वाङ राईलाई उनको शिक्षामा सहयोग गर्नका लागि यायोक्खाले १ लाख १ रुपैयाँ नगद प्रदान गरेको छ ।

चित्रकला, लेखन तथा साहित्यको माध्यमबाट किरात समुदायमा महत्वपूर्ण योगदान पुर्याएका दिवंगत खालिङको छोरीलाई शैक्षिक प्रोत्साहन मिल्ने अपेक्षासहित प्रोत्साहनपत्र र नगद हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here