काठमाडौं, २८ पुस । चार वर्षदेखि आफ्नो सेवा सुविधा र तलब नदिएपछि क्यासिनो अन्नाका मजदुरहरु आन्दोलनमा उत्रिएका छन् ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पको कारण देखाउदै बन्द गरिएको दरबारमार्गस्थित होटल डेला अन्नपूर्णअन्तर्गत क्यासिनो अन्नाको भवन भत्काउनुअघि नै क्यासिनोका मजदुरहरुलाई कामबाट निकालिएको थियो ।

आफूहरुले पाउने तलब र सुविधासमेत नदिई विना जानकारी कामबाट निकालिएपछि मजदुरहरुले आन्दोलन थालेका हुन् ।
उक्त क्यासिनोमा ९२२ जना मजदुर कार्यरत थिए ।

क्यासिनो पीडितहरुले शनिबार दबारमार्गमा भेला भएर प्रदर्शन गरे ।

पीडित मजदुर गोपाल राईले आगामी माघ ५ गते पुनः भेला आयोजना गरी संघर्ष समिति गठन गरिने र आफूहरुको माग सम्बोधनका लागि अल्टिमेटम नै दिएर अघि बढ्ने बताए ।

‘अल्टिमेटम दिँदा पनि हाम्रो माग पूरा भएन भने हामी होटलकै गेटमा धर्ना दिनेछौ,’ राईले भने । मजदुरहरुले आफ्नो पुनर्बहाली हुनुपर्ने भन्दै आन्दोलन थालेका हुन् ।

क्यासिनो अन्नाको भवन भूकम्पबाट भत्काउनु नै पर्ने गरी क्षति नभए पनि कमिसनको खेलले रातारात भत्काइएको थियो ।
कामबाट निकालेर भवन समेत भत्काइएपछि मजदुरहरुको बिचल्ली भएको राईको भनाइ छ ।

होटलका सञ्चालक सिर्जना मल्ल राणा र उनका श्रीमान कपिल राणासहितको टोलीले क्यासिनो अन्नाका समस्या समाधान नगरी अर्कै व्यक्तिलाई उक्त क्यासिनो सञ्चालन गर्न दिएका थिए ।

हाल उक्त स्थानमा ‘क्यासिनो प्यालेस’को नाममा सञ्चालन भइरहेको छ ।

क्यासिनोका मजदुरहरुले आफूहरुको माग सम्बोधन गर्न लामो समयदेखि दबाब दिदै आएको भए पनि क्यासिनो व्यवस्थापकले बेवास्ता गरेको भन्दै होटल अन्नपूर्णविरुद्ध नै आन्दोलन थालेका हुन् ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here