जनकपुरधाम, पुस २७ । मधेस क्रान्ति फोरम र नेपाल विद्यार्थी संघका सयौ नेता तथा कार्यकर्ताहरु शुक्रबार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

फोरम नेपाल धनुषाले जनकपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले फुलमाला लगाई स्वागत गरे ।

मधेश क्रान्ति फोरम नेपालका संयोजक नविनकुमार यादवको नेतृत्वमा करिब २ सय जना र नेविसंघका गौतम यादवको नेतृत्वमा समेत करिब २ सय जना युवा विद्यार्थीहरु फाेरम नेपालमा प्रवेश गरेका हुन् ।

थप उर्जा प्रदान गर्ने

नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टी अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्यामन्त्री यादवले मुलुकको वैकल्पिक शक्तिको रुपमा स्थापित हुँदै गएको फोरम नेपालमा युवाहरुको प्रवेशले थप उर्जा प्रदान गर्ने उल्लेख गरे ।

उनले आन्दोलनको जगमा स्थापित फोरम नेपालको काँधमा अहिले संघीयता कार्यान्वयनको मुख्य अभिभारा रहेकोले पार्टी सो जिम्मेवारीको लागि सडक सदन र सरकार तीनै स्थानबाट संघर्ष गरिरहेको बताए ।

वर्तमान संविधानका कतिपय धारामा विमति कायम रहेको उल्लेख गर्दै अध्यक्ष यादवले संविधानमा रहेका संघीयता गणतन्त्र र मौलिक हकजस्ता विषयवस्तुहरुलाई संस्थागत गराउदै जनसंख्याको आधारमा प्रतिनिधित्व, प्रदेशको अधिकार, राज्य पुनःसंरचनाजस्ता विषयहरुको लागि संघर्ष गर्दै जानु नै अहिले मुख्य आवश्यकता रहेको उल्लेख गरे ।

आर्थिक क्रान्तिविना राजनीतिक क्रान्ति सफल हुन नसक्ने भन्दै उनले पार्टी अहिले राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्न समेत आर्थिक क्रान्तिको बाटोमा लागेको बताए ।

अब लोक सेवा ऐन ल्याउने क्रममा छाैं

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले युवाहरुको बलिदानीले स्थापित प्रदेश नं २ को सरकार युवाहरुकै भावना अनुसार अघि बढिरहेको उल्लेख गरे ।

उनले प्रदेश सरकारको हरेक कदम मधेश आन्दोलनको मर्म अघि बढिरहेकाले नै अहिले प्रदेश सरकार अप्पन शासन अप्पन प्रशासनको मूल मन्त्रलाई साकार पार्न प्रहरी ऐन ल्याइसकेको र लोक सेवा ऐन ल्याउने क्रममा रहेको बताए ।

जिल्ला अध्यक्ष चन्देश्वर महतोको अध्यक्षतामा भएको कार्यक्रममा राजनीति समिति सदस्य हरिनारायण यादव, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज उर्मिला साहसहितका वक्ताहरु थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here