काठमाडौं, १० पुस । संघीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संघीय शासन व्यवस्थाले मात्रै समाज र बहुराष्ट्रियतालाई समेट्ने बताएका छन् ।

ससफो, नेपाल प्रदेश नम्बर ३ द्वारा काठमाडौंको खुसिबुस्थित नेपाः व्याङ्क्वेटमा आयोजित पार्टी महाधिवेशनसम्बन्धी अभिमूखिकरण तथा प्रशिक्षण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

नेपाल जस्तो मुलुकका लागि राष्ट्रिय एकताको मूल आधार संघीयता भएको कुरामा जोड दिदै उनले भने, ‘यदि बहुराष्ट्रियतालाई समेट्न नसक्ने हो भने समृद्धि–समृद्धि मात्रै भनेर समृद्धि आउदैन र आइहाले पनि क्याटालोनिया, स्कटल्याण्ड र क्युबेकमा जस्तो विद्रोह हुने खतरा रहन्छ । जातीय राज्यको विकल्पमा जन्मेको राज्य नै संघीय राज्य हो । शासनमा सबै जातिको साझेदारी भएको राज्य व्यवस्था हामीले चाहेका हौँ ।’

संघीय समाजवादका ९ वटा विशेषताहरु समेत उल्लेख गर्दै उनले भने, ‘संघीय शासन व्यवस्थासँग जोडिएको मूल विषय पहिचान हो र पहिचानको कुरा गर्दा आर्जित पहिचान हैन जन्मशिद्ध पहिचान मुख्य हो ।’

ससफो, नेपालका केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश समितिका अध्यक्ष लालबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश इन्चार्ज आङ्डेण्डी शेर्पाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन पार्टी केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश सहइन्चार्ज कृष्णबहादुर घजुले गरेका थिए ।

साेमबारदेखि सुरू भएकाे प्रशिक्षण मंगलबार समापन भएकाे छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here