दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष निर्मल राईले आफ्नाे वडामा समृद्धिको आन्दोलन सुरु गरिएको बताएका छन् ।

संघीय समाजवादी फोरम नेपालबाट वडा अध्यक्षमा निर्वाचित भएपछि उनले विद्यार्थीहरुमा उत्पादन तथा सीपमूलक शिक्षा दिनुपर्छ भन्ने अवधारणाअनुसार नै अाफ्नाे क्षेत्रका विद्यार्थीहरुका लागि विभिन्न क्रियाकलापसहितको शैक्षिक क्यालेण्डर नै निर्माण गरिएकाे बताए ।

मुलुकको विकास र समृद्धि गर्ने हो भने विद्यार्थीहरुलाई उत्पादन र व्यवसायमुखी शिक्षा दिनुपर्छ भन्ने लागेकाले नै आफूहरुले भिन्न खालको शैक्षिक अभियान चलाएको उनले बताए ।
प्रस्तुत छ वडा अध्यक्ष राईसँग सार्वजनिक डटकमका लागि विजय चाम्लिङले गरेको कुराकानीको सम्पादित अंशः

स्थानीय निर्वाचन भएको एक वर्ष पुगिसकेको छ । यस अवधिमा तपाईको वडामा के के परिवर्तनहरु भए ? हिजो कस्तो थियो, आज कस्तो भएको छ ?

हामी जनताबाट प्रत्यक्ष निर्वाचित भएको एक वर्षभन्दा बढी भइसकेको छ ।
विकास गर्ने काममा एकैचोटि कायापलट हुँदैन ।
तर समग्रमा वडा नं ५ लफ्याङमा हामीले केही न केही विकासका पूर्वाधार तयार गर्दैछौ ।

सडक, बिजुली बत्ती, खानेपानी, स्वास्थ्य, शिक्षा नै मुख्य पूर्वाधार हुन् । हामी यिनै विषयमा काम गरिरहेका छौ । केही युवा लक्षित कार्यक्रम तथा उत्पादन र वालमैत्री शिक्षालगायत धेरैवटा काम गर्ने प्रयत्न गरिरहेका छौ ।

तपाईंको वडामा विकास र समृद्धि गर्ने हो भने त्यसका आधारहरु के के हुन् ?
विकास र समृद्धिका लागि सबभन्दा पहिले त युवाहरु नै सचेत हुनुपर्छ, अनि जनता सचेत हुनुपर्छ ।
अहिले समृद्धिको कुरा पेचिलो बनेको छ । समृद्धि भनेको अर्थसँग जोडिएको हुन्छ । हरेक कुरा अर्थसँग जोडिन्छ ।
हामी लफ्याङमा निर्वाचित भएपछिको पहिलो बैठकमै वडा अध्यक्षको नाताले एउटा प्रस्ताव अगाडि सारेको थिएँ ।

हामीले विकास गर्ने कुराहरुमा सडक, बत्ति, खानेपानी, खेलकुद, स्वास्थ्य, शिक्षालगायत कुराहरु त छँदैछन् त्यसमा पनि हामीले शिक्षालाई जोड दिनुपर्छ भनेर लागिरहेका छौ । र शिक्षा क्षेत्रलाई सुधार गर्नका लागि अहिले हाम्रो नगरपालिको शिक्षा ऐन र नियमावली पनि बनिसकेको हुनाले त्यसैको आधारमा वडाभित्रको शिक्षालाई सुधार्नुपर्छ भनेर लागेका छौं ।

हामीले वर्षभरिमा ५० वटाभन्दा बढी कार्यक्रमहरु सार्वजनिक गरेर शैक्षिक क्यालेण्डर निर्माण गरेका छौ । हामीले सेड्युल नै बनाएर सुरुवात पनि गरिसकेका छौ ।
जस्तै बालबालिकाहरुमा फरकफरक क्षमता लुकेको हुन्छ । हामी मान्छेहरु धेरै हुन्छौ, हामी सबैसँग आआफ्नाे खालका क्षमता हुन्छन् ।

तर हिजोको पद्धति र सिस्टम भनेको चाहिँ कुनै एक जना मानिससँग पढ्न लेख्न सक्ने क्षमता छ भने उसलाई त्यही आधारमा प्रथम बनाउँदै गइन्थ्यो । अन्य बच्चाहरु वा मानिसहरु चाहिँ पछाडि पर्ने स्थिति हुन्थ्यो ।

कृषि सामग्री बेच्न बसेका विद्यार्थीहरु

तर हाम्रो बुझाइ के हो भने कुनै न कुनै मानिससँग कुनै न कुनै क्षमता हुन्छ । कोहीसँग पढ्न लेख्न सक्ने क्षमता हुन्छ, कोहीसँग खेल्न सक्ने क्षमता हुन्छ, कोहीसँग गीत संगीतको क्षमता हुन्छ भने कोहीसँग साहित्यको क्षमता हुन्छ ।
यी सबै कुराहरुलाई हामीले अतिरिक्त क्रियाकलापबाट अगाडि बढाऔ भनेर हामीले शैक्षिक क्यालेण्डर बनाएका छौं ।

यसमा आर्थिक समृद्धिको उद्देश्य रहेको छ । समृद्धिको बारेमा हामीले बच्चाहरुलाई हरेक कुरा सिकाउनुपर्छ ।
बच्चाहरु बाउआमामा मात्रै निर्भर हुन्छन् । उसलाई चाहिने कापी, कलम किन्न, हरेक किसिमको शैक्षिक सामग्री किन्नका लागि आमाबाउमै निर्भर हुन्छन् ।

तर यसलाई हामीले सिर्जनात्मक ढंगले अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले हामीसँग बजार पनि नजिक छ र बच्चाहरुलाई उत्पादनसँग जोड्नुपर्छ भनेर उत्पादनलाई शैक्षिक कार्यक्रमभित्र राखेका छौ ।
त्यो कार्यक्रममा के छ भने हामीले सेड्युलमा चाहिँ गत भदौ १ गते सबै विद्यार्थीहरुले करेसाबारी निर्माण गर्ने भनिएको छ ।
हाम्रो वडामा एक मावि, एक आधारभूत र तीन प्राथमिक विद्यालय छन । जम्मा पाँचवटा विद्यालयका सबै विद्यार्थीहरुलाई भदौ १ गते चाहिँ करेसाबारी निर्माण गर्ने भनेर सेड्युलमा राख्यौ ।

मौसमअनुसार हरेक चिज उत्पादन गर्न करेसाबारी निर्माणलाई पनि शिक्षामा राखेका छौ । र गत मंसिर २२ गते शनिबारको दिन दिक्तेलको हाटडाँडामा हामीले एउटा कार्यक्रम गर्यौ ।

करेसाबारी बनाएर त्यहाँ उत्पादन गरेको चिज बजारमा लगेर बेच्न सिकाउनुपर्छ । यो पनि शिक्षा हो भनेर हामीले उत्पादन भएको चिज बजारमा लगेर प्रदर्शन गर्ने र बेच्ने कार्यक्रम गर्याै ।

यो काम गर्दा अभिभावकहरुको प्रतिक्रिया कस्तो पाउनुभयो ?
अभिभावकहरुबाट यसमा मात्रै नभएर हाम्रो धेरैवटा कार्यक्रमहरुमा साथ रहेको छ ।
हामीले बेलाबेलामा शिक्षक, व्यवस्थापन समिति, अभिभावक संघ, वडा शिक्षा समिति, वडाका जनप्रतिनिधि सबै बसेर अन्तरक्रिया गर्छौ ।

हामीले गर्दै आएको कार्यक्रमहरुको बारेमा समिक्षा गर्छौ । त्यसमा हामी सबै सन्तुष्ट छौ । स्कूलस्कूलमा पनि अभिभावकहरुलाई बोलाएर वडा शिक्षा समितिले सारेको कार्यक्रमहरु कतिको लाभदायक छ, यसले विद्यार्थीहरुमा कतिका परिवर्तन आएको छ भनेर कार्यक्रम गर्दा हामीले सुरु गरेको कार्यक्रमहरुबाट अभिभावकहरु सतप्रतिशत सन्तुष्ट हुनुहुन्छ ।

हाम्रो मुख्य उद्देश्य भनेको सानैदेखि व्यवसायी बन्न सिक्नुपर्छ भन्ने हो । अस्ति हामीले गरेको हाटमा कृषि उपजको प्रदर्शन र विक्री गर्ने काम गर्यौ । त्यो पनि शिक्षा नै हो ।

बजारमा लगेर बेच्ने कसरी, उत्पादन गर्ने कसरी भन्ने नै हाम्रो विषय हो ।
अहिले गाउँघरमा कस्तो नराम्रो परम्परा आएको छ भने हामी किन्न जानुपर्यो भने खुसी हुँदै जान्छौ ।
तर आफूसँग घरमा उत्पादन भएको कुनै चिज बेच्न जानुपर्यो भने हामी लजाउछौ, बाउआमाले भनेको पनि मान्दैनौ ।

यो संस्कारको अन्त्य गरिनैपर्छ । यो समृद्धिसँग पनि जोडिन्छ । हामीले कार्यक्रम गर्नुको उद्देश्य पनि यही हो । यो हामीले लफ्याङमा सुरु गरेको आन्दोलन हो ।

मंसिर २२ गते कृषि उपज बिक्रीका क्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई गुन्द्रुक उपहार दिदै वडा अध्यक्ष राई ।

यो चाहिँ एउटा समृद्धिकै आन्दोलन हो, समाजवादी शिक्षाको आन्दोलन हो र आन्दोलन अर्थसँग जोडिएको छ ।
बच्चाहरुले कम्तिमा पढ्दै गर्दा क्लासमा लेख्नुमात्रै सिकाएर पढ्नुमात्रै सिकाएर भएन ।
उसले करेसाबारी निर्माण गर्नेदेखि लिएर सागसब्जी उत्पादन गर्ने, कुखुरा पाल्ने, बाख्रा पाल्ने, बंगुर पाल्ने यस्ता खालका कुराहरु सिक्नुपर्छ भनेर सुरु गरेका हौ ।

बच्चाहरुको सहभागिताचाहिँ कस्तो रह्यो, उनीहरु यसमा अभ्यस्त हुन सक्छन् ?

अस्तिको कार्यक्रमले त उत्साह थपिएको छ । अभिभावकहरु आफै पनि सहभागी भए ।
त्यसमा हामीले अझै के गर्यौ भने विद्याथीहरुलाई मात्रै बेच्न लाएनौ । वडा अध्यक्ष म आफै एउटा सुंगुरको पाठो लगेर बेच्न गएँ ।

हाम्रा स्कूलका हेडमास्टरहरु सबै, व्यवस्थान समितिका अध्यक्षहरु सबै, जनप्रतिनिधि सबै बेच्न गयौ ।
हाम्रो वडा सदस्य शसिकला राईले त अरुबेला पनि सधै बेच्नुहुन्थ्यो त्यो दिन उहाँले त एकभारी साग नै लगेर बेच्नुभयो ।
यसले बच्चाहरुमा के थपिदो रैछ भने बेच्नु चाहिँ ठुलो कुरा हैन रैछ है, हाम्रो वडा अध्यक्षले त बेच्नुभो हाम्रो हेड सरले त बेच्नुभो भनेर उनीहरुमा पनि उत्साह थपिदो रहेछ ।

शिक्षाबाहेक कृषि, पर्यटन अन्य पूर्वाधारलगायत तपाईको क्षेत्रमा योजना कार्यक्रमहरु बनाएर समृद्धि हासिल गर्नका लागि यो यो आधार छ हाम्रो भन्नुपर्दा के के भन्नुहुन्छ ?

पूर्वाधारको हकमा हाम्रो वडामा नगरपालिकाबाट आवधिक नगर विकास योजना तयार गरिसकेका छौ ।
त्यही कार्यक्रममा हामीले वडामा दुई वटा कार्यक्रमलाई गौरवको योजनाको रुपमा लिएका छौ ।

त्यसमा एउटा दिक्तेल अस्पताल चोकबाट लफ्याङ हुँदै साप्सुखोला जाने सडकलाई गौरवको योजनाअन्तर्गत अगाडि सारेका छौ ।

अर्को दिक्तेलदेखि नै चाम्लिङ चोक, ल्याण्डफिल्ड साइट हुँदै तितिरबोटे, चुवाबोटे दोभानसम्मको सडकको अवधारणा बनाएर त्यसलाई पनि गौरवको योजनामा राखेका छौ ।

यो दुईटा बाटो लफ्याङकाे लागि अत्यन्त महत्वपूर्ण बाटो हो । एउटा साकेला गाउँपालिकासँग जोडिन्छ भने अर्को दिप्रुङ गाउँपालिकासँग जोडिन्छ ।
त्यो बाटो सिधै खोटाङको २ नम्बर क्षेत्रको फाक्टाङ सुन्तले तल्लो भेगसम्म जोडिन्छ । र यसवर्षदेखि नै योजना सुरु गर्ने कार्यक्रम बनेको छ ।

बिजुली बत्तिको कुरा गर्दा धेरै ठाउँमा पुगिसकेको छ । केही ठाउँमा बाँकी छ । पुगिसकेको ठाउँमा पनि अत्यन्तै जिर्ण अवस्था रहेको छ ।

बिजुलीको पोल बासको बनाइएको छ । कतिपय ठाउँमा सामान्य काठको पोल बनाइएको छ । कुनै पनि बेला दुर्घटना हुने सम्भावना भएकोले हामीले काठेपोलमुक्त र फलामेपोलयुक्त वडा निर्माण गर्नुपर्छ भनेर गत वर्ष नै ३० लाख बजेट विनियोजन गर्यौ ।

त्यसको धेरै काम सम्पन्न भइसकेको छ र केही काम मात्रै बाँकी छ । वडाको १६ घरमा बिजुली पुगेको छैन भूगोल विकटताले गर्दा । तर यो सबै ठाउँमा यही सालभित्रमा फलामे पोल पुर्याउने र बिजुली नपुगेको घरमा बिजुली पुर्याउने तयारी गरेका छौ ।

अर्को कुरा खेलकुदसँग सम्बन्धित कार्यक्रम पनि छ । युवाहरुलाई कुलतबाट बचाउनका लागि पनि खेलकुद आवश्यक छ ।
खेलकुद युवाहरुको चासोको विषय पनि हो । हामीले पहाडी भूगोलकै सबभन्दा उत्कृष्ट खेलकुद मैदान निर्माण गरिनुपर्छ भनेर ३० रोपनीभन्दा बढी जग्गाको व्यवस्था गरिसकेका छौ ।

यही साल खर्च हुने गरी हामीले १२ लाख ७० हजार रुपैयाँ विनियोजन गरेका छौ । र उक्त बजेटले खेलकुद मैदान बनाउने तयारी गरिरहेका छौ ।

पर्यटनको विषयमा हामीसँग ऐतिहासिक मझुवागढी छ । मझुवागढीको विकासका लागि हामीले वडाकै पहलबाट सडक पुर्याइसकेका छौ । त्यस ठाउँमा हामीले किरात सभ्यताको प्रतिक अनुरुप ठुलोठुलो ढुंगा लगेर तीन चुला पनि बनाएका छौं ।
मझुागढीकै छेउमा रहेको मझुवा कालिका भगवतीथान, बुद्धेश्वर गुफा पनि छ हामीसँग । त्यसबाट पनि हामीले पर्यटन प्रवद्र्धन गर्न सक्छौ । सँगै जोडिएको तीनतले भिर पनि अत्यन्तै सुन्दर छ । यी ठाउँको विकासका लागि नगरपालिका तहबाट गुरुयोजना समेत बनेको छ र काम पनि भइरहेको छ ।

नेपालमा लामो समयदेखि स्थानीय निर्वाचन भएको थिएन । स्थानीय निर्वाचन भएर जनप्रतिनिधि आइसकेपछि जनताले परिवर्तनको महशुस गरे कि गरेनन् ?

यसमा दुईवटा कुरा छ । पहिलो कुरा त जनप्रतिनिधिहरु निकै लामो समय अर्थात २० वर्षपछि मात्रै आए । यसमा धेरै ठाउँको गुनासोहरु छ । मेरो वडामा पनि गुनासाहरु छन् ।
जनताले सोचेर चाहेजस्तो चाहिँ भएको छैन ।

जस्तै पहिले गाउँगाउँमा सिंहदरबार भन्ने ह्विम चलेको थियो । त्यसले सबैलाई अब केही हुन्छ भन्ने परेको थियो ।
जनता स्वभाविक रुपमा छिटोभन्दा छिटो विकास भएको देख्न चाहन्छन् । तर हामी अहिले त्यो स्थितिमा छैनौ ।
मेरो बुझाइमा सिंहदबार गाउँमा त पुगेको छ । तर नगर र पालिकामा मात्रै पुगेको छ ।

वडालाई स्वस्फूर्त खर्च गर्ने अधिकार छैन । त्यसले गर्दा नगरपालिका र गाउँपालिकामा पहुँच कम हुनेको वा पालिकासँग निकट सम्बन्ध राख्न नसक्ने वडाहरुलाई समस्या हुने गरेको छ ।

नगरपालिकामा धेरैवटा समितिहरु बन्छ । त्यो समिति स्वभाविक रुपमा मेयर उपमेयरको अनुकूलमै बन्छ ।
वडालाई आर्थिक अधिकार दिने हो भने, सबै वडा अध्यक्षहरु इमान्दर भएर लाग्ने हो भने जनताले चाहेको गतिमा काम हुनेथियो ।

नगरपालिकामा एउटै पार्टीको मेयर उपमेयर वडा अध्यक्ष हुने सम्भावना कम नै हुन्छ । मेयर उपमेयरसँग नजिक भएकाले बढी बजेट लाने र अरुलाई कम बजेट हुने, वडाबाट सिफारिस भएर गएको कतिपय योजनाहरु पनि काटछाट हुने स्थितिले गर्दा समस्या छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here