काठमाडौं- विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले निर्मला पन्तको हत्यारालाई आफ्नाे पार्टीले सार्वजनिक गर्ने बताएका छन् ।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित जनसभामा प्रकाण्डले पन्तका हत्यारालाई ओली सरकारले नै लुकाएको भन्दै अब आफूहरुले सार्वजनिक गर्ने बताएका हुन् । उनले हत्यारालाई सार्वजनिक गरी जनकारबाही गर्ने उद्घोष समेत गरेका छन् ।

‘अपराधीलाई लुकाएर सरकारले अनुसन्धानको नाटक गरिरहेको छ, अब हामी सहेर बस्ने अवस्थामा छैनौ,’ उनले भने, ‘हाम्रो पार्टीले निर्मला पन्तको हत्यारालाई पक्राउ गर्छ र जनकारबाही गर्छ ।’

उनले महिला हिंसा, बलात्कार र हत्याका घटनाहरुले नेपाली जनता आजित भइसकेको र सरकार भने भ्रष्टाचारमा चुर्लुम्म डुबिसकेको जिकिर गरे ।

भ्रष्टाचार गर्दिनँ भन्ने प्रधानमन्त्री केपी ओलीलाई वाइडबडी खरिद प्रकरणले नांगेझार पारिसकेको उनले बताए ।

‘वाइडबडी खरिदमा सरकारमै रहेका ठालुहरुले भ्रष्टाचार गरेको प्रमाण भेटिन थालेको छ,’ उनले भने, ‘यसले सरकारले नै भ्रष्टाचारलाई प्रसय दिइरहेको पुष्टि हुन्छ ।’

उनले प्रधानमन्त्री ओली भ्रष्टाचारमा डुबिसकेको जिकिर गर्दै भने, ‘होइन भने वाइडबडी खरिद प्रकरणको छानबिन किन भएन ?’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here