संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामप्रसाद रिजालले आफूहरुको पार्टी खस आर्यविरोधी नभएको बताएका छन् । उनले कांग्रेस–कम्युनिष्टका नेताहरुले लाञ्छना लगाउने चिज नै नभेटाएकाले संघीय समाजवादी फोरमलाई ‘जातीय पार्टी’ भनेर गलत प्रचार गरिरहेको बताए । तर यही पार्टीको नेतृत्व खस आर्य समुदायका व्यक्तिले लिएमा त्यो अवस्थामा जातीय पार्टी नहुने उनको भनाइ छ । प्रस्तुत छ सार्वजनिक डटकमका लागि रिजालसँग गरिएको अन्तर्वार्ताको सम्पादित अंश

तपाईं कहिलेदेखि संघीय समाजवादी फोरममा हुनुहुन्छ ?
म २०६३ सालदेखि नै छु । म २०७० सालमा तत्कालिन मधेसी जनअधिकार फोरमबाट संविधानसभाको निर्वाचनमा समानुपातिक उम्मेदवार पनि थिए ।

मधेसी जनअधिकार फोरमलाई मधेसीहरुको पार्टी भनिन्थ्यो । त्यो पार्टीमा लाग्दा तपाईंलाई असहज भएन ?
त्यसबेला उपेन्द्र यादवको नेतृत्वमा मधेसी जनअधिकार फोरम थियो । त्यसबेला पनि पार्टीले उत्पीडितहरुकै अधिकारका लागि काम गरेको थियो ।
विस्तारै पार्टी एकता भएपछि यसले राष्ट्रिय पार्टीको मान्यता पाएको छ । नाम पनि परिवर्तन भएको छ ।
जब म फोरममा उम्मेदवार भइरहँदा मलाई त्यसबेला विशेषगरी नेकपा एमालेका साथीहरुले रामप्रसाद यादवसम्म भने । यसको दिमाग खुस्कियो । यसलाई राँची लानुपर्छ भने । फोरममा लागेका कारणले मलाई बहुलाएछन्सम्म भने । तर अहिले त्यस्तो अवस्था छैन ।

पछिल्लो समय तीनवटा पार्टीहरुबीच एकता भएर संघीय समाजवादी फोरम नेपाल बनेपछि चाहिँ कस्तो छ उनीहरुको हेर्ने दृष्टिकोण ?
अहिले देशमा मुलतः तीनवटा शक्ति देखा परेको छ । एउटा एमाले–माओवादी मिलेर बनेको नेकपा, अर्को नेपाली कांग्रेस छ ।
तर कांग्रेस र कम्युनिष्टबाट यो देशको परिवर्तन हुन सकेन । यो देशमा रहेका १२५ जातजातिको उत्थान हुन सकेन । एकल जाति, एकल धर्म, एकल संस्कृतिको मात्रै पक्षपोषण गरियो ।

त्यसकारण पहिचान र अधिकारका लागि, मुलुकमा रहेको विभेदको अन्त्य र देशमा रहेको बेरोजगारी समस्याहरु, आर्थिक रुपमा देश झन् गरिब भइरहेको अवस्था छ । पञ्चायतकालमा भएको उद्योगधन्दाहरु पनि कांग्रेस–कम्युनिष्टहरुको सरकारले बन्द गरिसकेका छन् ।

त्यसकारण यो देशमा एकातिर जातीय अधिकारका कुराहरु छन् । सबै जातिलाई अधिकार दिने गरी यो पार्टी अघि बढिरहेको छ । मैले भन्नु खोजेको के हो भने राज्यले सबै धर्मको सम्मान गर्नुपर्यो । सबै संस्कार संस्कृतिहरुको सम्मान गर्न नसकेको अवस्था छ । संविधानमा पनि खस र आर्यलाई मात्रै परिभाषित गरिएको छ ।
मैले खस आर्यको विरोध गरेको होइन । सबै जातिहरुको अस्तित्व र पहिचानलाई राज्यले स्वीकार गर्नुपर्छ भनेको हो । तर स्वीकार गरिएको छैन ।
अहिले कांग्रेस र कम्युनिष्टको विकल्पमा यो पार्टी उदाइसकेको अवस्था छ । चुनावको परिणामले पनि देखाइसकेको छ । यसले तेस्रो राष्ट्रिय पार्टीको मान्यता पाइसकेको छ ।

तर तपाईहरुको पार्टीलाई त अहिले पनि जातीय पार्टी नै भनिन्छ नि ?
यो पार्टीलाई जातीय पार्टी भन्नेहरुसँग अरु केही छैन लाञ्छना लगाउने चिज । नेपालमा अहिले यो पार्टी भन्दा लोकतान्त्रिक, पहिचानवादी पार्टी अरु कुनै छैन । यो पार्टी संघीयताको जननी पनि हो । मधेसमा उपेन्द्र यादवको नेतृत्वमा भएको आन्दोलनले नै यो देशलाई संघीयतामा लगेको हो ।

उपेन्द्र यादवले यो पार्टी नखोलेको भए यो देशमा संघीयता गणतन्त्र आउदैनथ्यो । मैले भन्न खोजेको कुरो के हो भने यो पार्टीलाई आरोप लगाउने कुनै आधार नभएपछि कमजोर मानसिकताले कांग्रेस–कम्युनिष्टहरुले यसलाई जातिवादी पार्टी भनेका हुन् ।

पार्टीमा किन बढीजसो जनजाति र मधेसीहरु मात्रै छन् ? बाहुन क्षेत्री समुदायका मानिसहरु त खासै छैनन् त ?
यो पार्टीमा खस आर्यका मान्छेहरु पनि छन् । तर प्रतिशत कम भएको छ । यो पार्टीलाई हिजो मधेसवादी भन्ने आरोप लाग्यो उपेन्द्र यादवले नेतृत्व गर्दा । अशोक राईहरु आइसकेपछि यो पार्टी मधेसी र जनजातिको मात्रै भन्ने छाप परेको छ । तर यो गलत कुरो हो ।
यो पार्टीले अब जातीय जनसंख्याको आधारमा नयाँ केन्द्रीय समिति घोषणा गर्नेछ । र पार्टीको राष्ट्रिय महाधिवेशन आगामी माघमा हुँदैछ ।
यो पार्टी जातीय पार्टी होइन भनेर हामीले बुझाउन नसकेको पनि हो ।

यो पार्टी खस आर्यविरोधी होइन । यो पार्टीले सबभन्दा बढी खस आर्यलाई ३१ प्रतिशत आरक्षण दिनुपर्छ जातीय जनसंख्याको आधारमा भनेको छ भने यो पार्टी खस आर्यविरोधी हुन सक्दैन ।

अर्को कुरो कांग्रेस र एमालेका अध्यक्ष भएका मान्छेहरु सबै खस आर्यका छन् । एमालेको त्यही छ, माओवादीको त्यही छ । अन्य कम्युनिष्ट पार्टीहरुको पनि त्यही छ । ती पार्टीहरुचाहिँ जातिवादी हुन् ।
कांग्रेस एमाले माओवादीको नेतृत्व एकल जाति र एकल समुदायले नेतृत्व गरिरहेको छ । तर एउटा मधेसीको छोरोले नेतृत्व गरेको कारणले मात्रै यो पार्टीलाई जातिवादी पार्टी भनिएको हो ।

यदि यो पार्टीमा पनि बाहुन क्षेत्रीले नेतृत्व गर्ने हो भने त्यो बेला जातीय पार्टी हुँदैन । यो देशका पार्टीहरु बाहुनक्षेत्रीले मात्रै नेतृत्व गरुन् भन्ने एक किसिमको परिस्थिति र इतिहास भएको कारणले गर्दा हाम्रो पार्टीलाई जातीवादी भनिएको हो । मुख्य कारण यही हो ।

तपाईंहरु संविधान संशोधनका लागि सरकारमा गएका हौ भन्नुहुन्छ । तर अहिले संशोधनको कुरै गर्नुहुन्न ?
हैन । कुरा नगरेको भन्दा पनि अहिले हाम्रा अध्यक्षले अहिलेको सकारसँग अनौपचारिक रुपमा संविधान संशोधनका लागि वार्ता गरिरहनुभएको छ ।

संशोधन भएन भने के गर्नुहुन्छ ?
हामीले संशोधनका लागि लिखित सहमति गरेपछि नै हामी सरकारमा गएका हौ । त्यो सहमति कार्यान्वयन भएन भने हाम्रो पार्टी सरकारबाट बाहिरिन्छ र फेरि उत्पीडित समुदायको पक्षमा संविधान संशोधनका लागि आन्दोलन थाल्छ ।

संशोधनका लागि कति समय पर्खिनुपर्छ ?
हामीले सकेसम्म छिटो संशोधन गर्नुपर्छ भनेका छौं । हामी सरकारको गतिविधिहरु सरकारमै बसेर हेरिरहेका छौं । हामी अहिले पनि आन्दोलनकै स्वरुपमा छौं । हिजो हामीले सडक आन्दोलन गरेका थियौ । हिजो सदन अवरोध गरेका थियौ । अहिले सरकारमै बसेर पनि आन्दोलन गरिरहेका छौं । हाम्रो पार्टी पर्ख र हेरको रणनीतिमा छ ।

तपाईंहरुको पार्टीले मधेसमा मात्रै सफलता पाएको देखिन्छ । पहाडमा शुन्य अवस्था बनेको छ निर्वाचनमा । मधेसमा पनि पुरै मधेस राम्रो छ भन्ने अवस्था छैन । पार्टी निर्माणका लागि के आधारमा अघि बढ्नुहुन्छ ?
मुख्य कुरो पार्टी निर्माणका लागि संगठन विस्तार गर्नुपर्छ । पार्टीमा लागेका केन्द्रीय समितिमा रहेका हामीजस्ता मान्छेहरु वा जिल्ला तहकै नेतृत्वहरु पूर्णरुपमा लागेको अवस्था छैन । संगठन विस्तार गर्नका लागि पार्टीले पूर्णकालिन नेता कार्यकर्ताहरु उत्पादन गर्नुपर्छ । अब मधेसदेखि पहाड र हिमालसम्म संगठन बनाउन पूर्णकालिन भएर नेताहरु लाग्नुपर्छ ।

अर्को कुरो यो पार्टी खस आर्यविरोधी भन्ने आरोप छ । यो कुरो पार्टीले खण्डन गरेर खस आर्यका साथीहरु अहिले कांग्रेस–कम्युनिष्टमा जसरी सहज रुपमा प्रवेश गरिरहेका छन् त्यसरी नै यो पार्टीमा पनि खस आर्यका मान्छेहरु प्रवेश गर्ने वातावरण बनाउनुपर्छ ।

नेतृत्वले तपाईंले भनेजस्तै त्यो खालको योजना बनाएको छ कि छैन ?
योजना त बनाएको होला तर कार्यान्वयन भएको छैन । मैले पार्टीका केन्द्रीय अध्यक्षलाई पटकपटक भनेको छु । म एउटा पत्रकार पनि हुँ । विभिन्न मिडियाहरुसँग मेरो राम्रो सम्बन्ध छ ।

मलाई पार्टीको प्रवक्ता बनाएर मिडियालाई नजिक बनाएको अवस्थामा र यो पार्टी खस आर्यविरोधी होइन भन्ने कुरो मिडियाबाट छर्न सकेको अवस्थामा यो पार्टीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न सकिन्छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here