“दुःख आइपरे मगर गाउँ पस्नु” भन्ने उखान त्यतिकै बनेकाे होइन । हिजो हिन्दूआर्यहरू मुस्लिम आक्रमणबाट भागेर नेपालका गण्डक क्षेत्रका मगरबस्तीमा आएका थिए । भरपर्दो, सुबानी, उदार र दयावान मगरबस्ती उनीहरूका लागि स्वर्गिक क्रिडास्थल बन्याे ।

औलो दिँदा डुडुल्नो नै गुमाइपठाए मगरहरूले । लोक र परलोकको छट्टु हिन्दू धार्मिक
भाग्यवादकाे काल्पनिक आख्यानको तरबारले मगरको मौलिकता ध्वँस्त बनाइयो । बच्चाको न्वरानदेखि मृत्युको काजक्रियासम्ममा हिन्दू पुरेतहरूलाई मगरहरूले पोसे । मगरलाई मात्र होइन, मगरका राजालाई समेत हिन्दू बनाइयाे । मगर राजालाई त जनै नै भिराइदिएर आफ्नो मगर समाजबाट यसरी अलग्याइयो कि “मेरो पूर्खा मगर हो” भन्न लज्जाग्लानी हुने अवस्था शाह राजाहरूमा सिर्जना गराइयो भने उता मगरहरूले चाहिँ “शाह राजाको पुर्खा मगर थियो” भन्दा विश्वास नै नलाग्ने गराइयो ।

नश्ल वर्णशंकर

शाह राजाहरूको नश्ल वर्णशंकर हो । मगर राजालाई हिन्दू बनाएर जनै भिराएपछि उनीहरूको नक्कली वंशावली तयार बनाउन लगाई आर्य कन्याहरूसँग विवाह गराइयो । यसले पछिका पुस्ताहरूको नश्ल आर्यजस्तो देखिन गएको हो ।

पृथ्वीनारायण शाहकी आमा कौशल्यवती पाल्पाको गान्धर्व सेन मगरकी छोरी हुन् । तर पृथ्वीनारायणका छोरा प्रतापसिंह चाहिँ बाहिरबाट ल्याइएकाे आर्यपत्नी नरेन्द्रलक्ष्मीको छोरा हुन् । उता प्रतापसिंहको छोरा रणबहादुरले त पशुपतिमा ल्याइएकी कान्तवती तराईकी मिश्र बाहुनी हुन् । त्यसबाट जन्मेको हुन् गिर्वाण ।

यसरी राजाका सन्तानहरू वर्णशंकर हुँदै ज्ञानेन्द्रसम्म आइपुगेका हुन् । पहिलो नश्ललाई दोस्राे नश्लमा रूपान्तरण गर्न दोस्राे नश्लसँग लगातार तीन पुस्तासम्म वैवाहिक सम्बन्ध गराइयो भने त्यो पहिलो नश्ल दोस्राे नश्लको गुणमा आउँछ ।

पृथ्वीनारायण शाहको तिखो नाक र भासिएको आँखा भएको तस्बिर त पछि कलाकारलाई स्केच गर्न लगाइएको हो । जस्तो भारतका मुगल सम्राटहरूको पुर्खा मंगोलियन हो । मंगोल शब्दको अपभ्रंश हो मुगल । मुगल सामाज्यका संस्थापक बाबर र उनको छोरा हुमायुनसम्म उनीहरूको मुखाकृति मंगोलाईड नै थियो । पछि पर्सियन र हिन्दू संस्कारसँग घुलमिल र वैवाहिक सम्बन्धले उनीहरूकोमुखाकृति पछिल्लो पुस्तासम्म आइपुग्दा पुरै आर्यन भएको थियो । ठीक त्यसरी नै मगर राजाहरूको वैवाहिक तथा सांस्कृतिक सम्बन्ध हिन्दूआर्यसँग भएको हुँदा अनुहार र व्यवहार हिन्दूआर्य भएको मात्र हो ।

बलदीप प्रभाश्वर चामलिङ

मगर हुनुको आधार

पहाडी जनै नलगाउने राजालाई छोरी दिइन्न भनेपछि पृथ्वीनारायण शाहले गोरखा दरबारमा १०८ बाहुनलाई भोज खुवाइ बानारस गएर कल्पित वशिष्ट गोत्र बनाई जनै धारण गरी मकवानपुरका राजाकी छोरी इन्द्रलक्ष्मीसँग विवाह गरेका थिए ।

यदि पृथ्वीनारायण शाह हिन्दूआर्य भएको भए किन पछि जनै लगाउनुपर्थ्यो ?

नरभुपाल शाहकी पत्नी तथा पृथ्वीनारायण शाहकी आमा कौशल्यवती मगरकी छोरी हुन् ।

ससुराली मगर भएपछि ज्वाईचेला मगर नै हुने भो । अहिलेका आधुनिक हिन्दूआर्यले त अन्तरजातीय विवाहलाई स्वीकार्न मान्दैन भने त्यो बेला यदि राजा आर्य भएको भए मगरकी छोरी बिहे गर्थेहोलान् ?

शाह राजाका पुर्खा खाञ्चा र मिञ्चा थिए भनेर सबै इतिहासकारहरू एकमत छन् । यो शब्द मगर भाषा हुन् । मगर भाषाको काराङ्च (जेठो र ठूलो) र मारच (कान्छो र सानो) शब्दको अपभ्रंश हुन् खाञ्चा र मिञ्चा । शाहवंशका पुर्खा मगर नभइदिएको भए मगर भाषामा यस्तो भनिने थिएन ।

शाह राजाहरूको कुलदेवी स्याङ्जाको अलामदेवी हुन् । जहाँ पुजारी राना मगरका छन् । आफ्नो कुल देवता भएको ठाउँमा अरू जाति राखिन्न । पछि राजा हिन्दू भए पनि कुलदेवी मन्दिरमा रहने पुजारी मगरकै निरन्तरता भयाे ।

 १८३१ विस माघेसक्रान्तिमा नुवाकोट त्रिसुली सूर्यवतीका त्रिवेणी देवीघाटमा पृथ्वीनारायणको मृत्यु हुँदा वहाँको दाजु सुरथसिंह राना मगर थियो” भनेर योगी नरहरीनाथले “श्री मगर-गुरूङ वंशावली”मा लेखेका छन् । यसमा राजाको जुठो सूतकमा मगरहरूले साथ दिएको पनि उल्लेख छ । दाजु राना मगर भए भाइ के हुन्छ ? पृथ्वीनारायण विशुद्ध आर्य भए मर्दापर्दा किन मगर सामेल हुन्थे ?

पृथ्वीनारायणसँगै एक मगर चाकर पनि सती गएको छ । यदि राजा हिन्दूआर्य भएको हुन्थ्यो भने बाहुनले शुद्र बनाएको मान्छेलाई राजासँगै सती पठाउन अपवित्र हुन्थ्यो ।

शाह राजा खलकले कलंकीमा माघ महिनामा कुल पूजा गर्दा कालो सुगुरको बली चढाउथे । हिन्दुआर्य र मुस्लिमले त सुंगुर छुन त के हेर्न पनि चाहन्न ।

राजपरिवारमा मामाकी छोरी बिहे गर्ने प्रचलन थियो । त्रिभुवनको पिता पृथ्वीविक्रमले आफ्नो मामा वीरशम्शेरको छोरी विहे गरेका थिए । यो चलन मगरको हो ।

खान र शाह भनेको पदवी हो । खानको अर्थ भनेको प्रमुख राजा हो । शाह भनेको पनि त्यही हो । हिजो भारतका शक्तिशाली मुस्लिम राजाहरूले आफूलाई शाह तथा खान भनेर चिनाउँथे । त्यो बेला मुस्लिमहरूको प्रतिष्ठा र प्रभुत्वको जगजगी थियो । यसरी आफूहरूलाई पनि शक्तिशाली र प्रतिष्ठित तुल्याउन मगर राजाहरूले खान र शाहको पदवी ग्रहण गरेका थिए । शाहवंश राजाको पुर्खा कुलमण्डनको पालादेखि शाह पदवी धारण गरिएको हो ।

खान र शाह पदवी लिएकै भरमा शाहवंशलाई मुस्लिम भन्न सकिन्न । कुनै पनि परदेशी तथा पाहुनालाई कसैले तुरन्त गद्दी त्यागी दिदैन । कसैले आफ्नो श्रीमतीलाई कुनै परको मानिसले केही गर्न त परै जाओस् जाबाे चुम्बन गर्न पनि दिन चाहँदैन । त्यसको प्रतिकार हुन्छ । हो, यस्तै हो, सत्ता अरूलाई दिन ।

१० शाहवंश मगर परिवारकै हो भनेर ह्यामिल्टन (एन अकाउन्ट अव किङडम अव नेपाल) र भेन्सिटार्ट (नोट्स अन नेपाल)ले लेखेका छन् ।

इतिहासको गाथालाई मनन् गर्ने हो भने अबका आधुनिक मगरहरू कांग्रेस-कम्युनिष्टको झोले भएर रहनु एकपल पनि सुहाउँदैन । कांग्रेस-कम्युनिष्टको पहिचान भन्दा मगरको पहिचान र इतिहास हजारौ वर्ष पुरानो हो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here