काठमाडौं, ५ फागुन । किरात राई सांस्कृतिक कलाकार संघले मुन्दुम परम्परामा आधारित किराती संस्कृतिहरुको संरक्षण गर्ने उद्देश्यले रुङरिमा (संस्कृति) नामक भिडियो संंग्रह तयार पारेको छ । संघले रिसिया, हियारी, वाढाङमी र साकेला संस्कृतिमा आधारित भिडियो संग्रह तयार पारेको हो ।
रुङरिमा केही समयअघि मात्रै तयार पारिएकोे हो । काठमाडौं उपत्यकामा गत २९ माघमा रुङरिमाको विशेष प्रदर्शनी समेत गरिएको थियो । संघले उपत्यका बाहिर र विभिन्न देशमा समेत प्रदर्शन गरिने जनाएको छ ।

रिसिया भिडियो गीतमा शब्द टीका चाम्लिङ, लय राजुएन राई, गायन नविन राईका छन् भने छाँयांकन युवराज राई र निर्देशन रोशन राईले गरेका छन् ।
हियारीमा शब्द र लय जितेन राई, गायनमा जितेन राई, पार्वती राई, सरला राई, आभा मुकारुङ, मण्डल साम्पाङ, आशबहादुर राई, राजुएन राई र कला राईको रहेको छ । यस गीतको छाँयांकन युवराज राई र निर्देशन जनक राईले गरेका छन् ।

वाढाङमीमा शब्द खुक्सङ खम्बू, लय राजुएन राई, गायनमा पार्वती राई, आभा मुकारुङ, सुशिला राई, सरला राई, रामकर राई, सुरज मेवाहाङ राई, रेवत राई र विनोद राई छन् । यसको निर्देशन सालिक सातासाकले गरेका हुन् ।
साकेला गीतमा शब्द र लय जितेन राईको रहेको छ भने गायनमा जितेन राई, भीषण मुकारुङ, मण्डल साम्पाङ, आशबहादुर राई, राजुएन राई, राई नविन, पार्वती राई, सरला राई, कला राई र आभा मुकारुङ छन् । यसको छाँयांकन युवराज राई र निर्देशन भूपेन्द्र पुमा राईले गरेका छन् ।

रुङरिमा के हाे ?
संघकाे विज्ञप्तीअनुसार मानिस जुन समाजमा जन्मन्छ, हुर्कन्छ त्यो समाजको संस्कृतिले उसको जीवनको हरेक पाटोलाई प्रभावित र निर्देशित गर्दै जान्छ  । किराती सभ्यताको विकास क्रम सँगसँगै किराती पुर्खाहरुले आविष्कार र आर्जन गरी हस्तान्तरण गर्दै आएका ज्ञान, सीप, मूल्य मान्यता र संस्कृति किरात राई जातिको जीवन पद्धति हो, जीवनको सार हो, किराती पहिचान हो ।
सांस्कृतिक परम्परामा रमाउँदै र बाँच्दै आएका किरात राई जातिको सांस्कृतिक मूल्य मान्यता र परम्परा ठाउँ र मुन्दुम परम्परा अनुसार केही फरक भए पनि समग्र सार एउटै रहेको छ ।
मुन्दुम परम्परा अनुसार मौखिक परम्परामा बाँचेको किरात राई जातिको संस्कृतिको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको कर्तव्य हो । यही अभियान अन्तर्गत किरात राई सांस्कृतिक कलाकार संघद्वारा निर्माण गरिएको सांस्कृतिक भिडियो संग्रहको नाम रुङरिमा (संस्कृति) राखिएको हाे ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here