[sharethis-inline-buttons]

कतै सेतो र कतै कालो मानिएको संविधान दिवसको दिन म वीरगञ्जमा थिएँ । काठमाडौँबाट अरु निकैजना पनि गएका थिए । दुर्गा सोब, कृष्ण सर्वहारी, विजय कर्ण, राजेन्द्र महर्जन, अनुभव अजीत, प्रभात झा, युग पाठक, तुलानारायण साह, सुन्दरमणि दीक्षित, सीके लाल, प्रदीप गिरी, किशोर नेपाल, दमननाथ ढुङ्गाना आदि । बिराटनगरबाट राकेश मिश्र आएका थिए ।

मधेसको राजनीतिक मुद्रा हेर्दा थाहा भयो— त्यहाँ सिंहदरबारप्रतिको असन्तोष र आक्रोश बढ्दो छ । काठमाडौंको सनातनी राष्ट्रवादको नजरले हेर्दा मधेसमा अब केही पनि समस्या छैन । उपेन्द्र यादव, जो संघीयताको मुद्दा उठाएर नेताका रुपमा स्थापित भएका थिए, जो मधेसी आन्दोलनका जाजल्यमान अगुवा थिए, उपप्रधानमन्त्री पद प्राप्त भएपछि उनी नेकपा डबलमा विलय भएका छन् । अझ भनूँ, उनी पूर्वमाकेका प्रमुख पुष्पकमल दाहालझैं नेकपा डबलको प्रभुत्वशाली ओली प्रवृत्तिमा घुलीत भएका छन् ।

राजपाले ओली सरकारलाई समर्थन गरेको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री मधेसी छन्, जो वर्तमान संविधानको शपथ खाएर मुख्यमन्त्री बनेका हुन् । भनेपछि, पहाडी राष्ट्रवादका दृष्टिमा मधेसको समस्या त सकियो । त्यहाँ अब कुनै असन्तुष्टि बाँकी रहेन, कुनै दाबी बाँकी रहेन । बाँकी रह्यो केवल सिके राउत प्रवृत्ति । सिंहदरबारको हेराइमा सिके राउत प्रवृत्ति राजनीतिक समस्या होइन, विखण्डनकारी समस्या हो । यो प्रवृत्तिलाई सेनाले …भैगो । यो नश्लीय राष्ट्रवादी नजरले हेर्दा देखिने मधेसको अवस्था हो ।

तर, मधेसमा उभिएर नियाल्दा मधेसको समस्या यति सरल छैन । सिंहदरबारका शासकहरुका लागि त्यो यति आनन्ददायी छैन । बरु त्यो त विकराल हुँदो छ । संविधान दिवसका दिन संघीय राजधानी काठमाडौँमा हर्षातिरेकको उन्मादमा उत्सव मनाइँदै गर्दा सुनसरीदेखि कञ्चनपुरसम्म आक्रोशको आगो बलेको थियो । सहभागिताको संख्या र व्यापकता, आक्रोशको उच्चता र तीव्रतालाई नियाल्दा सनातनी राष्ट्रवादले आँकलन गरेको भन्दा मधेसको अवस्था धेरै फरक छ । एकदमै उत्तेजक, आक्रामक र विष्फोटक ।

उपेन्द्र यादव पदीय स्वार्थ र सत्ताआनन्दको पछि लागेर नेकपा डबलमा विलय भएपछि आम मधेसी जनमानसमा उनीप्रति तीव्र आक्रोश र घृणा उत्पन्न भएको छ । यादवप्रतिको यो आक्रोश र घृणा सिके राउतप्रतिको सहानुभूतिमा रुपान्तरित भएको छ । राजपाले संविधान संशोधनको उधारो आश्वासनलाई पत्याएर ओली सरकारलाई समर्थन गर्‍याे । तर, राजपा नेतृत्वले भनेझैं संविधान संशोधनको प्रक्रिया एक इञ्च पनि अघि बढेको छैन । नेकपा डबलको ओली प्रवृत्ति आवश्यकता र औचित्यअनुसार संविधान संशोधन हुनसक्छ भन्ने उही पुरानो छलकारी टेप बजाइरेको छ ।

यो आवश्यकता र औचित्यको निर्धारण गर्ने कसले र कहिले हो ? राजपालाई अत्तोपत्तो छैन । कहिल्यै पूरा नगरिने उधारो आश्वासनको भरमा राजपाले सरकारलाई समर्थन गर्दा ऊप्रति जनमानस क्षुव्ध छ । र, राजपाप्रतिको मधेसी जनताको समर्थन, आस्था र निष्ठा पनि धुलिसात् भएको छ । राजपाप्रतिको यो जनअसन्तुष्टि र घृणा पनि सीके राउतप्रतिको सहानुभूतिमा रुपान्तरित भएको छ । काठमाडौँमा सनातनी शासक जमातको बीचमा संविधान दिवसको उत्पात उत्सव मनाइँदै गर्दा जनकपुरमा के भयो ? त्यहाँ प्रशासनका आँखा छलेर र सुरक्षाको कठोर घेरा तोडेर सिके राउत हाजिर भए र उनले अाफ्ना समर्थकहरुलाई अग्निवर्षी भाषामा सम्वोधन गरे ।

सिंहदरबारका अनुदारवादी शासकहरु ढुक्क होलान्— फोरम प्रत्यक्षरुपले र राजपालाई अप्रत्यक्षरुपले अाफ्नाे राजनीतिक जुवामुनि नारेपछि मधेसको समस्या सकियो । र, अब सदाका लागि हाइसञ्चो भयो । तर, मधेसको यथार्थ यसको ठीक विपरीत छ । मधेसमा सिके राउत एउटामात्रै छैन । ठाउँठाउँमा र क्षणक्षणमा मझौला कदका र साना धेरै सिके राउतहरु देखिन्छन् । त्यसैले यो समस्या संकीर्ण दम्भी राष्ट्रवादका आँखाले देखेको भन्दा धेरै गम्भीर छ ।

कञ्चनपुरकी किशोरी निर्मलाको बलात्कार र हत्याको घटनामा राज्यका कर्ताहरु आफ्नै दुष्कर्मको दुश्चक्रमा नअल्झिएका भए मधेसको यो चौतर्फी आक्रोशलाई दमन गर्न शायद ठूलो स्तरमा शक्तिको प्रयोग हुन्थ्यो । र, त्यसको परिणाम भयावह हुन सक्थ्यो । धन्न त्यो भएन ।

संख्या बढिरहेका र आक्रोशको आगो ओकलिरहेका यी विभिन्न कदका सीके राउतहरुका जन्मदाता ओली सर हुन् । अथवा भनूँ, मधेसीलाई अझै उपहास गर्न नछाड्ने अन्यद्वेषी ओली प्रवृत्ति हो । ओलीको दुच्छर बोलीमा घरिघरि प्रकट हुने नश्लीय राष्ट्रवाद हो । मौसमी राष्ट्रवादीहरु सीके राउतहरुमा क्रियाकलापहरुमा विखण्डनको बीज देख्छन् । वास्तवमा विखण्डनको विजारोपणकर्ता ओली सरहरु हुन् । सीके राउतहरु त केवल यो बीजबाट उम्रिएका बिरुवाहरु हुन् । माथि सिंहदरबारमा मूल नसङ्लिई तल मधेसमा प्रवाह सङ्लिने कुरै छैन ।

दुई तिहाईका अधिपति कार्यकारी ओली सरसँग यहाँ उपस्थित नेकपा डबलका नेता साथीहरुको पहुँच अवश्यै होला । तपाईहरुमध्ये जसले मधेसको यो समस्याबारे बुझाउँदा उहाँले सुन्नुहुन्छ, सुनाइदिनुहोला । मधेसलाई नश्लीय राष्टवादका आँखाले हेर्न छाडिएन र मधेसीहरुका पहिचान, समानता र प्रतिष्ठाका आकांक्षालाई संविधानमार्फत् सम्वोधन र सम्मान गरिएन भने नतिजा के हुन्छ, समस्याका स्रष्टा र प्रवर्धक ओली सरलाई थाहा होला । अनिष्ट नतिजाको श्रेय प्राप्त हुने ओली सरलाई नै हो । यो पनि निजहजुरलाई थाहै होला ।

(रकम चाम्लिङकाे फेसबुक वालबाट)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here