संघीय समाजवादी फोरम नेपालको प्रदेश नं १ को भेला यही असोज ९ र १० गते विराटनगरमा गरिदैछ । भेलाबाट प्रदेश नं १ स्तरीय समिति गठन गरिनेछ ।

५१ सदस्यीय उक्त प्रदेश समितिको अध्यक्षका लागि पार्टीका केन्द्रीय सदस्य जुद्ध ढाक्रेले आफ्नाे दाबी प्रस्तुत गरेका छन् । ओखलढुंगाका ढाक्रे संघीय समाजवादी फोरम नेपालले अख्तियार गरेको राजनीतिक सिद्धान्त संघीय समाजवादका सहलेखक समेत हुुन् ।

प्रस्तुत छ यस सम्बन्धमा सार्वजनिक डटकमका लागि विजय चाम्लिङले ढाक्रेसँग गरेका संक्षिप्त कुराकानीको अंश ।

-संघीय समाजवादी फोरम नेपालको प्रदेश नं १ को अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । तपाईको उम्मेदवारी किन ?

पहिलो कुरा, संघीय समाजवादी फोरम नेपाललाई सशक्तिकरण गर्न, दोस्रो वर्तमान सात प्रदेशमध्ये एक नम्बर प्रदेश अति चेतनायुक्त अति उच्च तहको जनता बसेको क्षेत्र हो । त्यस्तो क्षेत्रको नेतृत्वका निम्ति नेपथ्यबाट जति पनि साथीहरुको नाम आएको छ, उहाँहरु संघीय समाजवादलाई बुझेर आउनुभएको छ के ? भन्ने शंका छ मलाई ।

तेस्रो, प्रदेश नं १ को नेतृत्वको लागि सर्वसम्मत गर्ने/गराउने भनेर मैले बहुत पहल गरेँ । आफ्नाे समयमा नाम कमाएका इज्जतदार मेयर भइसकेका व्यक्तिहरु पनि पर्छन् त्यसमा । उहाँहरु पनि मेरो यो समस्या छ त्योे समस्या छ भन्दै नेतृत्व लिनबाट हच्किए ।

त्यस्तै संघीय समाजवादी फोरम नेपालको किरात प्रदेश अध्यक्ष, उपाध्यक्षहरुको पनि जिम्मेवारी हो । तर उहाँहरुले समेत राजनीतिक रुपमा अपरिपक्क मान्छेलाई नेतृत्व गर्नुपर्छ भनेर एक किसिमको दबाब दिइरहनुभएको छ । त्यो कुरा मलाई मन परेन ।

चौथो, प्रदेश नं १ को नेतृत्वका लागि योग्यता नै नपुगेको व्यक्ति उम्मेदवारी घोषणा गरिसकेपछि केन्द्रीय नेतृत्व जो विशेष नेतृत्व हुनुहुन्छ उहाँहरुसँग पनि यसरी समाधान गर्नुपर्छ भनेर मैले धेरै पहल गरेँ । तर पार्टी नेतृत्वले पनि चित्तबुझ्दो जवाफ नदिएको र सकभर त्यो कुराको रेस्पोन्स नै गर्न नचाहेको कारणले मैले उम्मेदवारी दिनुपर्ने भयो ।

पाँचौ, म संघीय समाजवादी फोरम नेपालको संघीय समाजवादको सहलेखक पनि हुँ । यो विषय मैले राम्रोसँग बुझेको छु । त्यसको आधारमा पनि मैले उम्मेदवारी घोषणा गरेको हुँ ।

छैटौ, पार्टीको कमजोर ढोकाबाट प्रवेश गरेका, संघीय समाजवादी फोरम नेपाल भन्न जानिनसकेका साथीहरुले पनि आफ्नाे उम्मेदवारी घोषणा गरी जबरजस्ती भोट तान्ने, आफूभन्दा सिनियर नेताहरुको अस्तित्वलाई पनि स्वीकार नगर्ने अनि म त उठे-उठे भन्नेजस्तो दबाबयुक्त अभिव्यक्ति दिएकाले पनि मैले उम्मेदवारी घोषणा गरेको हुँ ।

-अरु कुनै सर्वसम्मत हुने उम्मेदवार थियो भने तपाईले आफ्नाे उम्मेदवारी घोषणा गर्नुहुन्नथ्यो त्यसो भए ?

हो । मैले त्यसको लागि बहुत पहल गरेको छु । पार्टीका नेताहरुसँग झण्डैझण्डै ५१ चोटि पहल गरे होला, त्यो एकजना व्यक्तिको लागि ।

-को हुन् त्यो व्यक्ति भन्न मिल्छ ?

म भन्दिनँ । अब कोही हुन सक्दैन । भोलि परिस्थितिले सिर्जना गर्यो भने र प्रदेश नं १ को जनताको चेतना र त्यहाँका कार्यकर्ताहरुलाई समेट्ने गरी कमसेकम मेरो लेबलको मान्छे वा यो हाम्रो नेता हो भन्ने व्यक्तित्व आयो भने त्यसको बारेमा विचार गर्न सकिन्छ ।

तर अहिले त्यो सम्भावना देखिदैन । मैले अघि पनि भनेँ जोजोसँग अपेक्षा गरेँ सुझाव पनि दिएँ बस्नुपर्छ भनेर उहाँहरुमा नामर्द र कायरतापना देखियो । त्यो कायरपना घटाउनलाई म अगाडि आएको हुँ ।

-उम्मेदवारहरु दुई तिनजना देखिएको छ अहिलेसम्म । पार्टीले त सर्वसम्मत नेतृत्व चयनको पहल गर्छ नै । त्यसको आधार के हुनुपर्छ ?

त्यसमा एक, पार्टीको नीति सिद्धान्त बुझेको हुनुपर्छ । दुई, प्रदेश नं १ भनेको विशेष गरेर किरात र लिम्बूहरुको बसोबास क्षेत्र हो ।

किरात र लिम्बू एउटै हो । पार्टी उठ्यो भने मात्रै किरात प्रदेश पाइन्छ लिम्बुवान पनि पाइन्छ शेर्पा प्रदेश पनि पाइन्छ । अबको नेतृत्वको क्षमता र योग्यता भनेको पार्टीलाई बुझ्ने हुनुपर्छ र कम्तिमा शैक्षिक योग्यता पनि हुनुपर्छ ।

-तपाईले पार्टी उठाउनका लागि उम्मेदवारी दिएको भन्नुभयो । तपाईहरुको पार्टी पटकपटक निर्वाचनमा भाग लिएको छ । खासगरी पहाडी क्षेत्रमा पार्टी निक्कै कमजोर देखिएको छ । यसको कारण के होला ?

यसको जवाफ त प्रष्ट छ । देख्दाखेरि बहुत अजंगको व्यक्तित्वहरु देखिएका छन् हाम्रो पार्टीमा । तर फिल्डमा काम गर्ने र द्वन्द्वलाई व्यवस्थापन गर्ने क्षमता सिनियर नेताहरुमा देखिएन । विवाद भयो भने बोल्न पनि नचाहने खालका नेताहरु छन् ।

अब हाम्रो पुस्ताले विवाद पनि फेस गरेर विवाद मिलाउने गरी जानुपर्छ । जबसम्म विवाद मिलाइँदैन तबसम्म संगठन उठ्दैन । संगठनविना चुनाव त जितिदैन ।

-तपाई प्रदेश नं १ को अध्यक्षमा निर्वाचित हुनुभयो भने के के काम गर्नुहुन्छ ?
पहिलो कुरा त अहिले किरात र लिम्बुवानबिच द्वन्द्व देखिएको छ, त्यसलाई मिलाउछु । किनभने म वीर किरातको सुपुत्र हुँ । किरात र लिम्बू भनेको एउटै पुर्खाको दुई सन्तान, दुई सभ्यतामा निर्माण भएको हो ।

दाेस्राे, मैले शेर्पाहरुको बारेमा अलिकति अध्ययन गरेको छु । शेर्पाहरु पनि किरात लिम्बूहरुको दाजुभाइभित्रै पर्छन् । त्यो सभ्यतालाई पनि जोगाउँदै जानुपर्छ भन्ने काम गर्छु ।

अर्को संघीय समाजवादी फोरम नेपाललाई मधेसी पार्टी भनिन्छ । पहिला संघीय समाजवादी पार्टीलाई जनजातिको भनियो, पछि अहिले पनि हाम्रो पार्टीलाई मधेसीको भनिन्छ ।

एक नम्बर प्रदेशमा खस र आर्य समुदायका धेरै दाजुभाइहरु हुनुहुन्छ । आदिम भूमि किरात र लिम्बुवानकै भए पनि खसहरुको जनसंख्या धेरै छ एक नम्बर प्रदेशमा ।

खस र आर्यलाई कमसेकम यो पार्टीमा नजिक राख्न सक्नुपर्छ हामीले । र त्यो काम म गर्न सक्छु भन्ने विश्वासको आधारमा म एक नम्बर प्रदेशलाई संघीय समाजवादी फोरममय बनाउँछु ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here