ललितपुर– संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले आफ्नाे पार्टी संविधान संशोधन गर्नका लागि सरकारमा सहभागी भएको बताएका छन् ।

उनले संविधानको एउटा धारा मात्रै आफ्नाे पार्टीको माग अनुकूल संशोधन गर्न सकिएमा त्यो ठूलो उपलब्धि हुने बताए ।

‘हामी मन्त्रालय पाउन सरकारमा गएको होइन, संविधान संशोधन गर्न सरकारमा सहभागी भएको हो भन्ने बुझ्नुपर्छ,’ आज (शनिबार) ललितपुरको बालकुमारीस्थित् पार्टी केन्द्रीय कार्यालयमा आयोजित उदयपुर–काठमाडौ सम्पर्क समितिको प्रथम अधिवेशन उद्घाटन गर्दै नेता राईले भने, ‘संविधानको एउटा धारा मात्रै हाम्रो अनुकूलमा संशोधन गर्न सक्यौ भने त्यो ठूलो उपलब्धि हुन्छ, जुन उपलब्धि हामीले सडकमा एक लाख जनता उतार्दा पनि सम्भव हुँदैन ।’

पार्टीका केन्द्रीय सदस्य भूपेन्द्र नेम्वाङले संघीय समाजवादी फोरममा लागेर दुःख गर्दा खेर नजाने बताए ।

उनले युवा पुस्ताको सक्रिय सहभागिताबाटै पार्टी निर्माण हुने बताए । अर्का केन्द्रीय सदस्य चन्द्रविक्रम राईले आदिवासी जनजातिमाथि हरेक कोणबाट विभेद रहेकाले विभेदविरुद्ध संगठित भएर लाग्नुपर्ने बताए ।

अर्का केन्द्रीय सदस्य देवराज राईले आगामी निर्वाचनमा उदयपुरमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारलाई हराउने गरी संगठन विस्तार र निर्माणमा लाग्न अनुरोध गरे ।

अर्का केन्द्रीय सदस्य डा केके राईले संघीय समाजवादी फोरम नेपालको भविश्य राम्रो रहेकाले ढुक्क भएर पार्टीको काममा लाग्न कार्यकर्ताहरुसँग आग्रह गरे ।

पार्टीका उदयपुर जिल्ला समितिका अध्यक्ष सिद्धान्त राईले अबको राजनीतिक शक्ति नै संघीय समाजवादी फोरम रहेको जिकिर गरे ।
उनले आफ्नाे जिल्लामा ५ हजार क्रियाशील सदस्य खडा गर्ने तयारी गरिएको बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here