[sharethis-inline-buttons]

काठमाडौं– राजनीतिक विश्लेषक तथा लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल र वर्तमान सरकार कम्युनिष्ट नै नभएको जिकिर गरेका छन् ।

प्रधानमन्त्री ओली र दाहालको पृष्ठभूमि कम्युनिष्ट रहेको भए पनि वर्तमानमा उनीहरुमा कम्युनिष्टको क समेत नरहेको उनले बताए ।
‘मोबाइलपाटी टिभी’सँगको अन्तर्वार्तामा संग्रौलाले निम्न तीन कारण ओली–दाहालहरु कम्युनिष्ट नभएको बताए ।

यस्तो छ संग्रौलाको भनाइः

यो सरकारको नायकहरुको पृष्ठभूमि त कम्युनिष्टहरुकै हो ।
खड्गप्रसाद ओली झापा विद्रोहबाट जन्मेको हो । विद्रोहमा उनले खुकुरी उजाए अथवा खुकुरी उजाउनेहरुलाई समर्थन गरे । उनी जेलमा परे ।

पुष्पकमल दाहाल त नेपालको इतिहासमा सबैभन्दा ठूलो आँधीबेरी लिएर आएका हुन् । पृष्ठभूमिको संलग्नताको हिसाबले कम्युनिष्ट हुन् ।
तर अहिलेको उनीहरुको आर्थिक स्थिति, सामाजिक सम्बन्ध, जीवनशैली, खानपान, आर्जनका स्रोतहरु सबै हेर्दा कम्युनिष्ट भन्ने तत्वको त पनि देख्दिनँ । यो त दलाल पुँजीपतिको झर्रा प्रतिनिधिजस्तो लाग्छ ।

दोस्रो
पार्टीको नाम कम्युनिष्ट पार्टी राखिएको छ । कम्युनिष्ट पार्टीमा आन्तरिक जनवाद भन्ने चिज शुन्य छ । खड्गप्रसाद ओली एक जना सम्राट जस्तो छ । उनको बचन नै हुकुम हो । हुकुमको अगाडि पुष्पकमल दाहाल पनि छाँयाजस्तो लाग्छ ।

तेस्रो,
पार्टी चाहि माफिया, बिचौलिया दलाल, चोट्टाचोरहरुको नियन्त्रणमा छ । अब यिनले आफूलार्इ कम्युनिष्ट भन्नु कम्युनिष्ट भन्ने आदर्शकै उपहासजस्तो लाग्छ । दुई तिहाईको खड्गप्रसाद ओलीको सरकारले नेपाली समाजलाई समाजवादमा लाने भनेको लोभी बनियाले जगतको कल्याण गर्छु भन्याजस्तो लाग्छ ।

 

संग्रौलाले दुई तिहाई बहुमतको ओली सरकारले चाहेको खण्डमा धेरै काम गर्न सक्ने बताए । प्रधानमन्त्री ओलीले रेल र पानीजहाजको हावा गफ हाक्न छोडेर ससाना काम गरे त्यसले उनलाई पनि भलो हुने देशको पनि कल्याण हुने संग्रौलाको सुझाव छ ।

संग्रौलाको भनाइः
चाहेको खण्डमा यो सरकारले धेरै गर्न सक्छ ।
संविधान बाधक छ भने संशोधन गर्न सक्छ । नेपालको स्रोत साधनको प्रयोग गर्न सक्छ ।

समाजवादको कुरा नगरीकन रेल र पानीजहाको कुरा नगरी सानो सानो काम गरे तीनलाई पनि राम्रो हुन्थ्यो देशको पनि कल्याण हुन्थ्यो ।
रोजगारी बढाइदिए हुन्थ्यो । विदेश गएर मरेर बाकसमा आउनुपर्ने युवाहरुलाई देशमै गरिखाने बनाइदिए हुन्थ्यो ।

नेपाल कृषिप्रधान देश हो अझै पनि । कमसेकम खाद्यवस्तुमा आत्मनिर्भर, मासुमा आत्मनिर्भर, फलफुलमा आत्मनिर्भर बनाइदिए धेरै राम्रो हुन्थ्यो । रेल र पानीजहाजको हावा गफ छोडेर सडकको गुणस्तर विकास गरे राम्रो हुन्थ्यो ।

सडक नपुगेको सडक पुयाईदिए हुन्थ्यो । नेपालको जडिबुट्टि, जलविद्युतकोे दोहन र विकासमा ध्यान दिए हुन्थ्यो । तर यो सरकार धरालतमा उभिएको छैन । आकाशमा उडिरहेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here