ललितपुर- संघीय समाजवादी फोरम नेपालले वर्तमान सात प्रदेशकै संरचनाअनुसार अाफ्नाे पार्टी संगठन निर्माण गर्ने भएको छ ।

१० प्लस १ प्रदेशको पक्षमा संघर्ष जारी राख्ने तर हाल राज्यको संवैधानिक संरचनाअनुसार पार्टी संरचना निर्माण गर्ने उसले बताएको छ ।

संघीय फोरमले हाल सातवटै प्रदेशकाे इन्चार्ज र सहइन्चार्ज समेत तोकेको छ ।

प्रदेश नं १ को इन्चार्जमा रणध्वज कन्दङवा चयन भएका छन् । उनी पार्टीका महासचिव हुन् । सहइन्चार्जमा सचिव परशुराम बस्नेत छानिएका छन् ।

प्रदेश नं २ को इन्चार्जमा उपाध्यक्ष रेणुकुमारी यादव छानिएकी छन् । सहइन्चार्ज चुन्न बाँकी रहेको छ । यसैगरी प्रदेश नं ३ को इन्चार्जमा आङदेण्डी शेर्पा र सहइन्चार्जमा कृष्णबहादुर घजुलाई तोकिएको छ ।

प्रदेश नं ४ को इन्चार्जमा महेन्द्र थापा मगर र सहइन्चार्जमा गणेशमान गुरुङलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश नं ५ को इन्चार्जको जिम्मेवारी मो इस्तियाक राईलाई दिइएको छ । वर्तमान सरकारको सहरी विकासमन्त्री समेत रहेका राई पार्टीका सचिव हुन् ।

प्रदेश नं ६ को इन्चार्जमा राजन केसी र प्रदेश नं ७ को इन्चार्जमा दानबहादुर विश्वकर्मा चयन भएका छन् । प्रदेश नं ७ का सहइन्चार्जमा होरिलाल चौधरी छानिएका छन् । प्रदेश नं ५ र ६ को सहइन्चार्ज तोक्न बाँकी रहेको छ ।

पार्टी महाधिवेशनको तयारी गरिरहेको संघीय फोरमले यही भदौ महिनाभित्रमा प्रदेशका इन्चार्ज र सहइन्चार्जको पहलबाट प्रदेश समिति गठन गरिसक्ने लक्ष्य राखेको छ ।

प्रदेश समिति पार्टीको विधानतः ५१ सदस्यीय रहनेछ । प्रदेश इन्चार्ज र सहइन्चार्जको पहलमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, पहिलाको प्रदेश समिति सदस्यहरु, केन्द्रीय विभागका सदस्यहरुको भेलाबाट प्रदेश समिति गठन गरिने छ ।

सात प्रदेशको पार्टी संरचना बनाए पनि १० प्लस १ प्रदेशको पुरानो प्रदेश समिति पनि यथावत राखिने छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here