जनकपुरधाम- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विपद् व्यवस्थापनका लागि प्रदेश सरकार एकीकृत नीति निर्माणमा लागेको बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी धनुषाले आज (साेमबार) आयोजना गरेको प्रदेशस्तरीय विपद् प्रतिकार्य योजना विषयक गोष्ठिलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले एकीकृत योजनाको आभावमा विपद व्यवस्थापन प्रभावकारी हुन नसकेको अाैल्याए ।

अहिले विपद् व्यवस्थापनको क्षेत्रमा आआफ्नै तरिकाले काम गरिरहेको निकायहरू नीति निर्माणपछि एकीकृत ढंगले अघि बढ्ने र त्यसले विपद व्यवस्थापनको काम समेत प्रभावकारी हुने उनकाे भनाइ छ ।

विपद् व्यवस्थापनको नाममा विगतमा आएका राहतहरूसमेत प्रभावकारी बन्न नसकेको टिप्पणी गर्दै उनले भएका नियम कानुनलाई समेत व्यवहारमा ल्याउन नसक्नु सम्बन्धित निकायको ठूलो कमजोरी रहेको बताए ।

रेडक्रस धनुषाका सभापति रामनरेश सिंहको अध्यक्षतामा भएको गोष्ठि उद्घाटनसत्रमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, पूर्वसभासद डा विजय कुमार सिंह, जिल्ला समन्वय समितिका सभापति रामदेव वनरैत लगायतले अाअाफ्नाे विचार राखेका थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here