काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका वृहत योजना बनाउने प्रस्ताव गरेका छन् । राजपाका नेताहरुसँग आज शुक्रबार बालुवटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गरेका हुन् ।

तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि वृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका हुन् ।

सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर, विभिन्न सामााजिक विकृतिबाट तराईका जनतालाई मुक्त पार्नुपर्ने ओलीले बताए । उनले भने, ‘यी सबै समस्या समाधानका लागि राजनीतिक रुपमा योजना बनाऔं र कार्यान्वयन गरौं ।’

राजपा अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । प्रधानमन्त्री ओलीले ज्ञापनपत्र हेरेपछि राजपाले पहिला उठाएका कतिपय माग असान्दर्भिक भइसकेको बताए ।

संविधान संशोधनका बारेमा राजपाले राखेको जिज्ञासमा ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताए । ‘संविधानमा देखिएका त्रुटीहरुमा छलफल गरौं तर यसैमा अल्झिएर नबसौं,’ ओलीले भने, ‘देश विकासमा लागौ ।’

प्रधानमन्त्री ओलीलाई भेट्न ठाकुरका साथै राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादब र केशव झालगायत बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here