काठमाडौं- प्रदेश नं ४ लाई गण्डकी प्रदेश नामाकरण गरिएपछि आदिवासी जनजाति संघसंस्थाहरुले सोप्रति आपत्ति जनाउदै तत्काल प्रदेशसभा बैठकको निर्णय सञ्चाउन आग्रह गरेका छन् ।

पहिचानसहितको संघीयताको पक्षमा संघर्ष गर्दै आएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले प्रदेश नं ४ लाई ऐतिहासिक मानव सभ्यता र भूगोलका आधारमा ‘तमुवान–गण्डकी प्रदेश’ नामाकरण गर्न माग गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष मुक्ति रोका मगर, नेपाल मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद पुन मगर, नेपाल छन्त्याल संघ म्याग्दीका अध्यक्ष चित्रमान छन्त्याल, तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद म्याग्दीका अध्यक्ष चन्द्रबहादुर गुरुङ र थकाली सेवा समितिका अध्यक्ष जगतनारायण गौचनले संयुक्त वक्तव्य जारी गरी शुक्रबारको प्रदेशसभाको निर्णय अबिलम्ब सच्याउन माग गरेका हुन् ।

गण्डकी प्रदेश नामाकरणकाे विरूद्दमा अान्दाेलनका लागि छलफल गरिदै

उनीहरुले प्रदेश नं ४ को नाम गण्डकी प्रदेश राखेकोमा शुक्रबार (असार २२ गते) लाई ‘कालो दिन’को संज्ञा समेत दिएका छन् । उनीहरुले आदिवासी जनजातिहरुको पहिचान मेटाउने काम गरिएकाले शनिबार (असार २३ गते) दिउँसो १ बजे बेनीबजारमा विरोधसभा गर्नेछन् ।

नेपाल आदिवासी जनजाति महासंघ बाग्लुङका अध्यक्ष बमबहादुर गुरुङले पनि शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश नं ४ को नामाकरण सच्याएर तमुवान–मगरात प्रदेश राख्न माग गरेका छन् ।

गुरुङले गण्डकी प्रदेश नामाकरणको विरोधमा शनिबार बेलुकी ५ बजे बाग्लुङ बजारको धौलागिरी चोकमा विरोधसभा गरिने उल्लेख गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ नवलपुरले समेत विज्ञप्तीमार्फत तमुवान–मगरात प्रदेश नामाकरण गर्न माग गरेको छ ।

जगमान र किरण बहिष्कार

यसैबीच तमुवान–मगरात संघर्ष समितिले पहिचानसहितको संघीयता बन्न नदिने नेकपाका नेता तथा प्रदेश नं ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, नेकपानिकट डा जगमान गुरुङ र आदिवासी जनजाति कोटाबाट प्रदेश सांसद भएकाहरुलाई बहिष्कार गर्ने जनाएको छ ।

‘तमुवान–मगरातको पहिचान मेटाउने गरी पहिचानको अपव्याख्या गर्ने कथित विद्वान डा जगमान गुरुङ र प्रदेश नं ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङलाई बहिष्कार गर्ने, पहिचानको विरुद्धमा विष बमन गर्ने जगमान र किरणलाई कुनै कार्यक्रममा नबोलाउने, उनीहरु सहभागी भएको कार्यक्रम बहिष्कार गर्ने,’ समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ, ‘आदिवासी जनजाति कोटाबाट प्रदेशसभा सदस्य बन्ने अवसर पाएका र प्रदेशसभामा आदिवासी जनजातिका मुद्दा नउठाई दलीय खेलौना बनेका सभा सदस्यहरुलाई समेत बहिष्कार गर्ने ।’

शुक्रबार मतदान प्रक्रियाबाट प्रदेश नं ४ को नामाकरण हुँदा दुई मत मात्रै गण्डकी प्रदेशको विपक्षमा खसेको थियो । नयाँ शक्ति पार्टीका प्रदेश सांसदहरुले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here