काठमाडौं- चाम्लिङ भाषाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले ‘चाम्लिङ भाषाः आधारभूत सिकाई’ नामक पुस्तक प्रकाशन गरिएको छ । विजय बलम्ताली राईले लेखेको उक्त पुस्तक किरात राई चाम्लिङ खाम्बातिमले प्रकाशन गरेको हो ।

हिजो शनिबार (जेठ ५ गते) काठमाडौंको कोटेश्वरस्थित किरात राई यायोक्खाको केन्द्रीय कार्यालयको सुम्निमा हलमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो ।

रकम चाम्लिङको सहजीकरण र चाम्लिङ राईभित्र पर्ने ‘निनाम्बुँछा’ परिवारको प्रायोजनमा तयार पारिएको पुस्तकमा चाम्लिङ, खस नेपाल र अंग्रेजी भाषामा अर्थ खुलाइएको छ ।

पुस्तकको मूल्य ५ सय ५५ रुपैयाँ तोकिएको छ । साकेला उभौली २०७५ को अवसर पारेर विमोचन गरिएको पुस्तक चाम्लिङ भाषा सिक्न चाहनेहरुका लागि उपयोगी रहेको छ ।

पुस्तक विमोचन कार्यक्रममा किरात राई यायोक्खाका कार्यबाहक अध्यक्ष दिवस राईले किरात राई समुदायभित्र विभिन्न भाषिक समुदाय रहेको र ती सबै भाषाहरुको संरक्षणका लागि सबै आआफ्नाे ठाउमा जुट्नुपर्ने बताए । उनले हाल प्रदेश १ लाई किरात प्रदेश नामाकरणका लागि पनि यायोक्खाले पहल गरिरहेको र राजनीतिक दबाब सिर्जना गर्ने काम जारी रहेको बताए ।

चाम्लिङ खाम्बातिमका अध्यक्ष युवराज राईले चाम्लिङ भाषा संरक्षणका लागि पुस्तक महत्वपूर्ण भएको बताए । उनले पुस्तक प्रकाशनका लागि पहल गर्नुहुने सबैलाई धन्यवाद प्रकट गरे । कार्यक्रममा खाम्बातिमका उपाध्यक्ष गेन राईले स्वागत भाषण गरेका थिए ।
पुस्तकका लेखक विजय बलम्ताली राईले आफूले तयार पारेको पुस्तकबाट चाम्लिङ भाषा मात्रै नभएर आधारभूत अंग्रेजी भाषा समेत सिक्न सकिने बताए ।

राष्ट्र निर्माण अभियानका अभियान्त तथा अभिवक्ता किवाङ हाङ राईले नयाँ पुस्ताले आफ्नाे मौलिक चाड पर्वहरु फलो गर्नुपर्ने र शिक्षामा जोड दिनुपर्ने बताए । भाषा आयोजका उपसचिव झुमप्रसाद राई, निनाम्बुँछा परिवारका प्रतिनिधि ज्ञानदिप राई लगायतले पुस्तकबारे बोलेका थिए ।

चाम्लिङ भाषासम्बन्धी विभिन्न पुस्तक लेखेर योगदान दिएको भन्दै लेखक विजय बलम्तालीलाई फेटा लगाएर सम्मान गर्नुका साथै ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार समेत प्रदान गरिएको थियो ।

खाम्बातिमको आयोजनामा शनिबार विहान कोटेश्वरमै सामुहिक हुइलुङ पुजा समेत गरिएको थियो । हुइलुङ पुजापछि पुस्तक विमोचन गरिएको थियो भने सोपछि साकेला सिली सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here