[sharethis-inline-buttons]

काठमाडौं- लेखक खगेन्द्र संग्रौलाले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताले पहाडमा गाडिएर बसेको मधेसविरोधी भावना झन् बलियो हुने बताएका छन् ।

दश वर्ष जनयुद्ध लडेको माओवादी केन्द्र एमालेमा बिलय हुँदा त्यसबाट राष्ट्रिय एकतामा कुनै सुधार नहुने उनले बताए । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले पार्टीले मधेसलाई हेर्ने दृष्टिकोण विभेदकारी भएको र सोही पार्टीमा माओवादी समेत मिसिदा त्यसले मुलुकलाई निकास दिन नसक्ने संग्रौलाले बताए ।

उपेन्द्र यादव र अशोक राईहरुले मधेस र पहाडलाई भावनात्मक रुपमा जोड्ने गरी पार्टी निर्माण गरेको भए पनि पहाडका मानिसमा मधेसीलाई हेर्ने दृष्टिकोण परम्परागत भएकोले संघीय समाजवादी फोरम नेपालले पहाडमा निर्वाचन जित्न नसकेको उनले बताए ।
‘पहाड र मधेसलाई जोड्न सक्ने मुलुकको राष्ट्रिय एकता बलियो बनाउन सक्ने सम्भावना बोकेको पार्टी संघीय फोरम नै हो,’ सार्वजनिक डटकमसँग संग्रौलाले भने, ‘राजपा नितान्त क्षेत्रीय पार्टी हो । एमाले र कांग्रेसको कुरै नगरौ, माओवादी एमालेमा सिसिने भएपछि उसको पनि केही हुनेवाला छैन ।’

उनले एमाले र माओवादीको एकता नेताहरुको स्वार्थमा मात्रै भएको जिकिर गरे । निर्वाचनको परिणाम अनुसार माओवादी केन्द्र विस्तारै खुम्चिदै गएकाले तथा आफ्नाे मुद्दा छोडेर एमालेसँग एकता नगरे कुनै बेला जनयुद्धकालीन मुद्दा उठाएर आफू हेग पुर्याउने डर भएकाले नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेसँग एकता गर्ने पक्षमा पुगेको उनले बताए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here