प्रदेश १ को नामाकरण सम्बन्धमा शेर्पाको आपती

काठमाडौं (सार्वजनिक) । प्रदेश नम्बर १ को नामाकरणको सन्दर्भमा पछिल्लो घटनाक्रमप्रति नेपाल शेर्पा संघले आपती जनाएको छ । पहिचानलाई निमिट्यान्न पार्ने षडयन्त्रपूर्ण रुपमा प्रदेशको नामाकरण गर्न प्रदेशसभा अग्रसर भएको भन्दै नेपाल शेर्पा संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
अध्यक्ष गेल्जे लामा शेर्पाद्धारा एक विज्ञप्ति जारी गर्दै “पहिचानसहितको संघीयताको नारा लिएर आदिवासी जनजाति, पहिचानकामीहरुलाई भर्याङ्ग बनाएर राजनैतिक स्वार्थसिद्ध गर्ने केही दल र ती दलबाट प्रतिनिधित्व गर्ने सांसदहरुको पहिचान विरोधी हर्कतको घोर भत्र्सना गर्दछ ।” उल्लेख गरेको छ ।
संघले प्रदेशको नामाकरण कुनै खोलानालाको नामबाट राख्नु किमार्थ स्वीकार्ने विषय नभएको उल्लेख गर्दै यो प्रस्ताव र दलहरुको निर्णय पहिचानका लागि आफ्नो जीवन आहुति दिने कयौं शहीद, आन्दोलनका क्रममा वेपत्ता र घाइतेहरुको योगदानको खिलापमा रहेको दाबी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ “यसले शहीदहरुको बलिदानीको घोर अपमान गरेको भन्ने हाम्रो बुझाई हो । प्रदेश नम्बर १, प्रदेशसभामा पहिचान विरुद्ध नाम प्रस्ताव गर्ने कार्यप्रति खेद प्रकट गर्दछ ।”
प्रदेशसभाबाट कोसी नामाकरण गर्ने भनि ध्वनी मतले पारित गरिसकेको भएपनि यसलाई पुनः विचार गर्नुपर्ने संघको माग छ । संघले विज्ञप्तिमा भनेको छ “लामो समयको जनसंघर्ष, बलिदान, मधेश तथा आम आदिवासीहरुले निरन्तर रुपमा जारी आन्दोलन, अन्तरिम संविधान, संविधानसभा (१) राज्य व्यवस्था तथा राज्यको शक्ति बाँडफाँड समिति, आयोगले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने भनि उठान गरेका विषयलाई वेवस्ता गरी प्रदेशको नाम खोलानाला, पहाडपर्वतलाई टेकेर गर्नु आम आदिवासी पहिचान पक्षधरमाथिको गम्भिर अपमान हो ।” पहिचानपक्षधरहरुलाई कोसी प्रस्ताव कदापी स्वीकार्न नसक्ने महासचिव लाक्पा शेर्पाले बताए ।
बहुमतको आडमा आम प्रदेशवासी बहुसंख्याक पहिचानवादीहरुको मागलाई नजरअन्दाज गरेर प्रदेशसभाले कोसी प्रदेश नाम राख्न खोज्नु मुलुकलाई फेरी द्धन्द्धतर्फ अघि बढाउनु भएको बताउँदै विज्ञप्तिमा भनिएको छ “यसर्थ, प्रदेशको नामाकरण सन्दर्भमा दलहरुले हिजो गरेका वाचालाई विर्सनु हुँदैन ।”
संघले प्रदेशको नामाकरण पहिचानको आधारमा कायम गर्न माग गर्दै शेर्पा समुदायको मूख्य वसोवास रहेको प्रदेश नम्बर १ को नामाकरणको सन्दर्भमा कतै न कतै शेर्पालुङ जोडिनुपर्ने धारण अघि सारेको छ । अंकगणितको जोडबलमा पहिचानलाई समाप्त पार्ने वर्तमान कुचेष्टा जारी राखेमा परिस्थिती जटिल हुने समेत संघले चेतावानी दिएको छ ।
यता, प्रदेशसभामा ८३ बढीले ध्वनीमतबाट प्रस्ताव स्वीकार गरीसकेको छ । मत विभाजनबाट दुई तिहाई मत प्राप्त गरेको प्रदेश नम्बर १ को नाम कोसी रहने निश्चित छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार