राजकुमार राई

चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभाग, एसिया ब्युरोको निम्तोमा निकै समय अगाडि दुईवटा महत्वपूर्ण कार्यक्रममा सहभागी हुन चीन भ्रमण गर्ने अवसर प्राप्त भएको थियो । ती कार्यक्रममध्ये एउटा थियो, सिन्जियाङ उग्यूर स्वशासित क्षेत्रको राजधानी उरुम्चीमा आयोजित ‘थेमाटिक ब्रिफिङ अन चाइनाज इथ्निक पोलिसी एण्ड द प्रोमोसन अफ युनिटी एण्ड सोलिडारिटी एमोङ् इथ्निक ग्रुप्स्ः प्राक्टिस एण्ड एचिभ्मेन्टस् इन सिन्जियाङ् उग्यूर अटोनोमस रिजन’ विषयक र अर्को युनान प्रान्तको ताई जातिको प्रिफेक्चर सिसुआङ्बान्नामा आयोजित ‘द ज्वाइण्ट् डेलिगेसन अफ् पोलिटिकल पार्टीज् फ्रम नाइबोरिङ् कन्ट्रिज’ नामक थियो । यी कार्यक्रममा नेपालबाट तत्कालीन संघीय समाजवादी फोरम नेपालको तर्फबाट समकक्षी राजनीतिक समिति सदस्य बालकिशोर यादव र म नेपाली कांग्रेसबाट डा.नारायण खड्का र ईन्द्र बानियाँ, नेमकिपाबाट सुरेन्द्रराज गोसाइँ र निरज लबजु, नेकपा (माले)बाट सीपी मैनाली र रामचन्द्र गुप्ता सहभागी भएका थियौं । नेकपा (नेकपा)का प्रतिनिधिहरु भने अलग्गै समूहमा उरुम्चीको कार्यक्रममा मात्र सहभागी भएका थिए । हामी चाइना साउदर्न एअरलाइन्सको उडानबाट काठमाण्डौ–ग्वाङ्झाओ साढे तीन घण्टा र ग्वाङ्झाओ–उरुम्ची पाँच घण्टा बीस मिनेटमा पुगेका थियौं । ग्वाङ्झाओबाट हामीसँग एसिया ब्युरो सचिवमा जिङ र उपसचिव लिओ जी तथा उरुम्ची विमानस्थलबाट खस नेपाली भाषा राम्रोसँग बोल्ने उपसचिव हु बोवान नेपाली नाम प्रसन्ना हुनुहुन्थ्यो । हाम्रो चीन भ्रमणको कार्यक्रम यस प्रकार थियो ।

१) उरुम्ची

उरुम्चीमा हामीलाई हिल्टन होटलमा राखिएको थियो । यसको एघारौं तलाबाट शहरको भब्य दृष्यावलोकन गर्न सकिन्थ्यो । हिउँ नै हिउँले ढाकिएको ठाउँमा ३५÷४० तले गगनचुम्बी भवनहरु, सफा र फराकिला सडकहरु, सिन्जियाङमा रहेका जातिहरुको सांस्कृतिक चिन्ह आकृतिका सडक बत्ति र पोलहरु, द्रुतगतिको रेलसेवा, ठूलठूला कारखानाहरु थिए । होटलमा केही छिन विश्राम गरेपछि हामीलाई अन्तर्राष्ट्रिय बजार घुमाउन लगियो । नेपाल, पाकिस्तान र बंगलादेशका प्रतिनिधिहरुको एउटा टोली बनाइएको थियो । अंग्रेजी भाषा राम्रोसँग बोल्ने थान स्वेले हाम्रो अगुवाई गर्नुभएको थियो । हामी बजार घुम्दा युवायुवती र रातापिरा पाका मान्छेहरु हाँसीखुशीसाथ नाचिरहेका थिए । बिचबिचमा हामी पनि नाचमा मिसिंदै रमाइलो गर्यौं । बजारको बीचमा इस्लाम वास्तुकलामा आधारित भएर निर्माण गरिएको सुन्दर अग्लो धरहरा थियो । शहर बजारका सबै साइनबोर्डहरु शिरानमा उग्यूर, बिचमा चिनियाँ र अन्तिममा अंग्रेजी भाषामा थिए ।

चीनमा पछाडि परेको स्वशासित क्षेत्र, प्रान्त, प्रिफेक्चर, काउण्टी आदिलाई विकसित र धनीले सहयोग साझेदारी गर्नपर्ने सरकारी नीति रहेछ ।

बजारमा पस्तुन समुदायले संचालन गरेको पसलमा चिण्डोहरु थिए । मैले धार्मिक सांस्कृतिक कार्यमा चिण्डो चलाउने नेपालका किरात समुदायसँग पस्तुन समुदायको कुनै न कुनै रुपमा समाजशास्त्रीय मानवशास्त्रीय सम्बन्ध रहन सक्ने आंकलन गरेँ । तर पस्तुनहरु हेर्दा आर्य मंगोलियन आकृतिका र धार्मिक रुपले चाहिँ इस्लाम रहेछन् । साँझमा एउटा भब्य रेष्टुरेण्टमा डिनर खाँदै चिनियाँ, उग्यूर र अन्य स्थानीय भाषामा गाइएको गीत र नृत्य हेरियो । उग्यूर र पस्तुनहरुको मुख्य बाजा डम्फु रहेछ । तर डम्फू भने हाम्रा तामाङ, गुरुङ, मगरको भन्दा ठूलो र जोडले बजाउँदा रहेछन् ।

भोलिपल्ट विहान आठ बजे ब्रेकफास्ट खाएर तयार हुन भनिएको थियो । त्यतिखेर रात नै थियो । बेजिङ समय अनुसार चीनमा काम हुने भएकोले त्यस्तो भएको थियो । हामीले रातकै समयमा ब्रेकफास्ट खायौं । यसपछि रिभल नामक कारखानाको अवलोकन गर्यौं । सधैं हिउँले ढाकिरहने र ३० डिग्री सेल्सियससम्म तापक्रम झर्ने ठाउँमा यत्रो ठूलो कारखाना र न्यानो वाताबरणमा श्रमिकहरु काम गरिरहेको पाउँदा मानवीय अठोट, श्रम र इमान्दारिताले असंभव लाग्ने कुरालाई पनि संभव बनाउन सकिने रहेछ भन्ने महसुश भयो । यसपछि हामी सेन्ट्रल एसिया गोल्ड एण्ड जेम्स जेड औद्योगिक पार्क पुग्यौं । सिन्जियाङ उग्यूर स्वशासित क्षेत्रमा उत्खनन गरिएका सुन, रत्न, जेड आदिलाई यहाँ प्रशोधन र डिजाइनिङ गरेर विश्व बजारमा पठाइने रहेछ । यसपछि सरकारले निर्माण गरिदिएको नागरिक आवासक्षेत्र हेर्न गयौं । सफा, ब्यवस्थित र सुरक्षित आवासीय भवनहरु पहिलाका ५÷६ र अहिलेका ३५÷४० तले रहेछन् । त्यहाँ हामीले बहुजातीय विद्यार्थी कक्षा हेर्यौं, स्थानीय परिकार चाख्यौं र महिलाहरुद्वारा संचालित स्थानीय उत्पादनको पसल हेर्यौं । सबै राम्रा, सफा र ब्यवस्थित थिए । यसपछि हामी इस्लामिक धार्मिक विद्यालय अवलोकन गर्न गयौं ।

विद्यालयमा सरकारले छात्रवृत्ति दिएर धार्मिक शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्ने रहेछ । विद्यार्थीहरुलाई बिश्वका बिभिन्न विद्यालयमा पनि धार्मिक उच्च शिक्षाको लागि सरकारले पठाउने रहेछ । यो विद्यालयको अवलोकन पश्चात् सिन्जियाङकै सबैभन्दा पुरानो याङ हाङ मस्जिद हेर्यौं । इस्लामिक धार्मिक विद्यालय, मस्जिदहरु, इस्लाम शैलीमा निर्मित धरहरा र स्वतन्त्रपूर्वक धर्म मानिरहेका नागरिकहरु हेर्दा चीनले सिन्जियाङमा इस्लाम धर्मावलम्बीहरुलाई दमन गरिरहेको छ भन्ने कतिपय आक्षेप कपोकल्पित, मनगढन्ते, राजनीतिक पूर्वाग्रहपूर्ण रहेको महसुश भयो ।

उरुम्ची मस्जिद ।

बेलुका हामी बसेकै होटलको जिङसान ग्राण्ड हलमा सिन्जियाङ उग्यूर स्वशासित क्षेत्रको कम्युनिष्ट पार्टी र सरकारको तर्फबाट हाम्रो निम्ति रात्रिभोजको आयोजना गरियो । कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी, विदेश विभागका उपमन्त्रीले स्वागत मन्तब्य राख्नुभयो भने सुडानका सांसद अध्यक्षले सम्बोधन गर्नुभयो ।

उरुम्ची पुगेको तेस्रो दिन होटलको सडकपारि अण्डाकारको विशाल भवनमा मुख्य कार्यक्रम आयोजना गरिएको थियो । सुरक्षा गेट र अग्लाअग्ला चारवटा विद्युतीय भर्याङ चढेर हामी कन्फ्रेन्स हलमा पुग्यौं । यस कन्फ्रेन्समा ३० देशका ५० राजीनतिक पार्टीका २०० प्रतिनिधिहरु सहभागी थिए । कार्यक्रमको सुरुवातत चिनियाँ कम्युनिष्ट पार्टी, विदेश विभागका उपमन्त्री गुओ येझाउले गर्नुभयो । यसपछि सिन्जियाङ सम्बन्धी डकुमेण्ट्री देखाइयो । यसपश्चात् जातीय एकता र सद्भावको निम्ति भइरहेको कामको बारेमा कम्युनिष्ट पार्टीका अक्सु प्रिफेक्चर समितिका उपसचिव नियाज असिम र विकासमा साझेदारी बारेमा गुआङडोङ प्रान्तको तर्फबाट सिन्जियाङ उग्यूर स्वशासित क्षेत्रको लागि विकास साझेदार कार्यक्रमको टिम लिडर टाङ लिमिङले प्रस्तुति दिनुभयो ।

चीनमा पछाडि परेको स्वशासित क्षेत्र, प्रान्त, प्रिफेक्चर, काउण्टी आदिलाई विकसित र धनीले सहयोग साझेदारी गर्नपर्ने सरकारी नीति रहेछ । यसपछि सिन्जियाङ गोल्ड विन्ड साइन्स एण्ड टेक्नोलोजी कम्पनीका अध्यक्ष वु गाङले खुलापन र सहयोग बारेमा बताउनुभयो । चीनले हावाबाट विजुली उत्पादन गर्ने परियोजना टर्की, पाकिस्तान, अष्ट्रेलिया लगायतका देशमा संचालन गरिरहेको बताइयो ।

कार्यक्रमको दोस्रोे चरणमा विचार प्रस्तुति राखिएको थियो । विदेशी नेताहरुमा इजिप्टका संसदका प्रथम उपसभामुख इलसायद महमुद इल्सेरिफ, वंगलादेशका उपसभामुख फाजल रब्बी मिया, टर्कीका प्याट्रिओटिक पार्टीका अध्यक्ष डोगु पेरिन्सेक, रसियन कम्युनिष्ट पार्टीका अलेक्सी लेस्किन तथा चीनको तर्फबाट कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका मन्त्री सङ ताओ र पोलिटब्युरो सदस्य तथा सिन्जियाङ उग्यूर स्वशसित क्षेत्रीय समितिका सचिव चेन काङ गुओले धारणा राख्नुभयो । विचार प्रस्तुत गर्ने ब्यक्तिहरुमध्ये मूलतः चिनियाँ नेताहरुको भनाइमा चीनका अल्पसंख्यक जातिहरुलाई पहिचान र अधिकार दिइएकोले उनीहरु सन्तुष्ट भएको साथै हान जाति र अल्पसंख्यक जातिहरुमा हार्दिकता भई राष्ट्रिय एकता मजबूत भई समृद्घि प्राप्त भएको र समृद्घिमा नै जातीय, भाषिक, धार्मिक, साँस्कृतिक पक्षहरु फलेको फुलेको हो भन्ने थियो ।

२) सिसुआङबान्ना

उरुम्चीको कार्यक्रम सिद्घिएपछि नेपाल, पाकिस्तान र बंगलादेशको टोली चाइना इस्टर्न एअरलाइन्सको उडानबाट चीनको दक्षिणमा अवस्थित युनान प्रान्ततर्फ लाग्यो । लगातारको चार घण्टा बीस मिनेटको उडान पशचात् युनानको राजधानी कुन्मिङ पुगेर बेजिङ रोडस्थित खाइबा ल्याजा होटलमा बस्यौं । भोलिपल्ट विहान म्यान्मार र लाओससँग सिमाना जोडिएको ताई जातिको स्वशासन रहेको सिसुआङबान्नातर्फ लाग्यौं । हवाइअड्डाबाट बाहिर निस्कदा सिन्जियाङमा जसरी सडकको ग्रिनबेल्टमा चिण्डो, ढोल र झ्याम्टाका आकृतिहरु ठाउँठाउँमा राखिएका थिए । वास्तबमा ताई जातिमा यी वस्तुहरुको सांस्कृतिक महत्व भएकोले तिनीहरुको प्रबद्र्घन गर्न त्यसो गरिएको रहेछ । हामीलाई यहाँ सिसुआङबान्ना पार्क भिल्लेज रिसोर्टमा बस्ने ब्यवस्था गरिएको थियो । होटलमा पुग्दा प्याजी रङको सुनाखरीको माला लगाइदिएर स्वागत गरियो । नेपालका किरातहरुले जस्तै माला लगाइदिएपछि दुई हात जोड्ने ताई जातिको पनि चलन रहेछ । तर उनीहरु हात जोड्दा दाहिने खुट्टा अलिकति खुम्चाएर टाउको झुकाउने गर्दा रहेछन् ।

दशौं हजार नदीनाला र डाँडाकाँडा वारिपारि रहेका नेपालका किरात र चीनका ताई जातिबिच भाषा, संस्कृति, भेसभुषामा सामिप्यता पाउँदा म अति रोमाञ्चित भएँ ।

युनान प्रान्त चीनमा रहेका ५६ जातिमध्ये आधा जसोको उत्पत्तिस्थल र बसोबास रहेको प्रान्त रहेछ । यहाँ ताई, हनी, यी, हान, लाहु, बुलाङ, जिनुओ, मियाओ, हुई, बा, झुनाग, जिङपो आदि जातिहरु बस्दा रहेछन् । यसमध्ये सिसुआङबान्ना ताई जातिको प्रिफेक्चरस्तरीय स्वायत्त क्षेत्र रहेछ । यसको नाम पनि ताई जातिको भाषाबाट आएको रहेछ । सिसुआङबान्नाको अर्थ नेपालका किरातहरुको किपटसँग एकाकार हुने बाह्र प्रशासनिक क्षेत्र रहेछ । यस प्रिफेक्चरको जनसँख्या ११,८०,००० रहेछ जसमा ताई जातिको संख्या ३,३३,००० अर्थात् एक तिहाइ रहेछ । तथापि यो उनीहरुको ऐतिहासिक थलो भएकोले गभर्नरदेखि राज्यको नेत्रित्वदायी स्थानमा ताई जातिको अग्राधिकार छ । अन्य ठाउँका जातिहरुको लागि पनि आ–आफ्नो ऐतिहासिक भूमिमा यही नीति लागु गरिएको रहेछ ।

सिसुआङबान्ना पुगेको दिन दिउँसो कम्युनिष्ट पार्टीको प्रिफेक्चरस्तरीय पार्टीस्कूलको अवलोकन गर्यौं । यसको अध्यक्षले स्कूलको बारेमा बताएपछि अन्तरक्रिया गरियो । त्यसपछि ताई जातिका महिलाहरुले संचालन गरेको जाङबा ताई कपडा उद्योग हेर्यौं । परम्परागत ताई घरमा संचालित घरेलु उद्योगमा उत्पादित कपडा ठ्याक्कै किराती राई लिम्बु महिलाले तानमा बुनेको खाँडी र ढाका जस्तै थिए । तान, चर्खा, थुरी, टुकी आदि यताको जस्तै थिए । तर तान भने यताकै परिष्कृत र कलात्मक लाग्यो । पहिरनमा पनि चौवन्दी आकारको चोलो र केही आधुनिकता प्रदान गरिएको लुङ्गी लगाएका थिए । हाम्रा किराती महिलाले जस्तै काँधमा बुनेको सानो जाली झोला भिरेको, कपालमा फूल र कसै कसैले यताको भन्दा अलि सानो आकारको समाङबुङ (सुनको फूल) लगाएका थिए । उनीहरुले हामीलाई जन्तर जस्तो माला र बुनेको बुट्टे गलबन्दी काँधमा लगाइदिए । मलाई कताकता किराती गाउँमा पुगेको अनुभूति भयो । बेलुका हाम्रो सम्मानमा गभर्नर लुओ होङ जिआङले हामी बसेकै रिसोर्टमा रात्रिभोजको आयोजना गर्नुभयो । हामीले पार्टीको तर्फबाट वहाँलाई बुद्घको मूर्ति उपहार दियौं ।

सिसुआङबान्ना भ्रमणको क्रममा मेरो सम्झनामा सदा रहिरहने कुरा चाहिँ पुरानो ताई गाउँको भ्रमण र गाउँको विचमा ठूलो आगन भएको घरमा गरिएको अन्तरक्रिया कार्यक्रम हो । मेङहान टाउनको माङ युआन नामक पुरानो ताई गाउँमा हामी पुग्दा गाउँ प्रवेश गर्ने गेटको दुवैपट्टि सडकमा लाम लागेका महिला पुरुषहरुले ढोल झ्याम्टा बजाउँदै हाम्रो स्वागत गरे । ढोल झ्याम्टाको तालमा किरातीहरुको साकेवा सिलीकै झल्को दिनेगरी बिचबिचमा सोइ सोइ भन्दै थिए । उनीहरुको ढोल भने एकातिर मात्र बजाउने खालको थियो । त्यसपछि हामी गाउँ घुम्यौ । किरात परम्परा जस्तै प्रत्येक घरको आगनमा चिण्डोमा फूल स्युरिएर सँगै छेउमा दियो बालिएको थियो । कार्यक्रम आयोजना गरिएको घरमा बाँस र बेतको खुट्टा सहितको नाङ्लोमा केराको दुई पात बिछ्याएर केरा, सुन्तला, जुनार, तित्तिरी हामी पाहुनाको लागि राखिएको थियो । प्रत्येक नाङ्लोको वरिपरि हामी तीनजना विदेशी र एकजना ताई महिलालाई राखिएको थियो । आफू चिनियाँ भाषा नजान्ने र ताई महिला अंग्रेजी नबुझ्ने भए पनि छोटो बसाइमा मैले इसाराले सोध्दा केरालाई ताई भाषामा नासी भनिदो रहेछ । यता बान्तावा राईले ङाक्सी, चाम्लिङ राईले ङासी, थुलुङ राईले न्यासी भन्दछन् । नमस्ते ढोग भन्दा उनीहरु सेवा दु भन्दा रहेछन् । यता राईले सेवा र लिम्बुले सेवारो भन्दछन् । ताई पुरुषले लगाउने पहिरन पनि यहाँका राई लिम्बुसँग मिल्दोजुल्दो थियो । मलाई माङ युआन गाउँ पुग्दा चीनमा नभई नेपालको कुनै किराती गाउँमा पुगेको महसुश भयो । दशौं हजार नदीनाला र डाँडाकाँडा वारिपारि रहेका नेपालका किरात र चीनका ताई जातिबिच भाषा, संस्कृति, भेसभुषामा सामिप्यता पाउँदा म अति रोमाञ्चित भएँ । मलाई के लागेको छ भने ध्वनि उच्चारणको कारणले मात्र फरक भएको हो, राई जाति र ताई जाति एउटै जाति हुन सक्दछ । तथापि यसको लागि मानवशास्त्री, समाजशास्त्री, भाषाविद, संस्कृतिविद, इतिहासकार आदिको टोलीले अध्ययन गर्न आवश्यक छ ।

चीन मुलतः केन्द्रिकृत र एकात्मक चरित्रको शासन प्रणाली भएको देश हो । तथापि यसले जातिहरुलाई पहिचान सहित दिएको स्वायत्त शासनको अधिकार कुनै संघीय शासन प्रणाली अवलम्बन गर्ने देशको भन्दा कम छैन ।

३) जातीय व्यवस्थापनमा चीनको अनुभव

छपन्न जातिहरु रहेको चीनमा हान जाति एक्लैले जनसंख्याको ९३% हिस्सा ओगट्छ । त्यसो भएता पनि ७% अल्पसंख्यक जातिहरुलाई केन्द्रीय स्तरको राज्यका हरेक निकायमा १४% आरक्षण प्रदान गरिएको छ । आफ्नो क्षमता र योग्यताले पुग्ने थप अवसर पनि छंदैछ । यसको साथै हान जाति बाहेकलाई आफ्नो ऐतिहासिक थातथलोमा अग्राधिकार सहित स्वायत्त शासनको प्रत्याभूति दिइएको छ । यसले गर्दा सबै जातिहरुले समान अवसर पाएका छन् । चीन मुलतः केन्द्रिकृत र एकात्मक चरित्रको शासन प्रणाली भएको देश हो । तथापि यसले जातिहरुलाई पहिचान सहित दिएको स्वायत्त शासनको अधिकार कुनै संघीय शासन प्रणाली अवलम्बन गर्ने देशको भन्दा कम छैन । चीनले जातिहरुको ब्यवस्थापनको लागि अख्तियार गरेको नीतिले जातीय सन्तुष्टि र सद्भाव कायम भएको छ जसले गर्दा राष्ट्रिय एकता मजबुत भई आर्थिक समृद्घि हासिल गरेको छ । अहिले चीन दोस्रो अर्थतन्त्र सहित विश्वको महाशक्ति मुलुक बनेको छ ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र क्षेत्रीय विविधता भएको नेपाल भर्खर संघीय प्रणालीमा प्रवेश गरेको छ । तर संघीयता प्रशासनिक स्वरुपको नाम मात्रको छ । यथार्थमा जातीय विविधतालाई व्यवस्थापन गर्न नै हामी संघीयतामा जानुपरेको हो । ढाँटछल, लोभलालच, विभेदको निरन्तरताले जातीय ब्यवस्थापन हुन सक्दैन र वास्तविक संघीय प्रणाली पनि कायम हुँदैन ।

नेपालमा विद्यमान जातीय अन्तर्विरोधको सही तरिकाले हल गर्नको लागि पहिचानमा आधारित किरात, लिम्बुवान, मधेश, शेर्पालुङ, तामसालिङ, नेवा, तमुवान, मगरात, खसान, थरुहट प्रदेश तथा शिल्पी (दलित) समुदायको निम्ति शिल्पी विशेष प्रदेशका साथै अल्पसंख्यक जातिहरुको निम्ति स्वायत्त क्षेत्र, लोपोन्मुख र सीमान्तकृत जातिहरुको निम्ति संरक्षित क्षेत्र, विशेष क्षेत्र निर्माण गर्नुपर्दछ । संघमा साझा शासन, प्रदेश र स्वायत्त क्षेत्रमा स्वशासनको ब्यवस्था गर्नुपर्दछ । यसको साथै राज्यको सबै निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक समावेसिता गर्नुपर्दछ । जातिहरुको व्यवस्थापनमा चीनको अनुभवले यही कुरा बताउँछ ।

(लेखक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद हुन् । जनविश्वास साप्ताहिकमा प्रकाशित यो संस्मरणात्मक आलेख संक्षेपिकरण गरी यस अनलाइनमा प्रस्तुत गरिएको छ । –सम्पादक)

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here