रौतहट । राष्ट्रिय सूचना आयोगले रौतहटस्थित एक स्थानीय तहका प्रशासकीय प्रमुख र सूचना अधिकारीलाई जनही ७ हजार रुपैयाँ जरिबाना गरेको छ ।

इसनाथ नगरपालिकाका प्रशासकीय अधिकृत नन्दकिशोर प्रसाद गुप्ता र सूचना अधिकारी दिपेश रौनियारलाई जनही ७ हजार जरिबाना गरिएको हो ।

जरिबाना भएको रकम असुल उपरगरी लिखित जानकारी गराउन आयोगले जिल्ला प्रशासन कार्यालय रौतहटमा पत्राचार गरेको छ ।
आयोगले माग अनुसारको सूचना उपलब्ध गराउन र बिभागीय कारबाहीको सिफारिस गर्न इसनाथ नगरपालिकाका प्रमुखलाई समेत पत्र लेखेको छ ।

इसनाथ नगरपालिका–२ का जयप्रकाश साहले आर्थिक बर्ष २०७४।०७५ र २०७५।०७६ को नगर परिषदको निर्णय, नगरपालिकामा कार्यरत स्थायी, करार, ज्यालादारीलगायत कर्मचारीको नियुक्तिपत्र माग गरेका थिए ।

नगरपालिकाले बितरण गरेको सामाजिक सुरक्षाभत्ता प्राप्त गर्नेको बिवरण, आव २०७४।०७५ मा मुस्लिम महिलाको चेतना अभिबृद्धिको लागि कार्यक्रम गर्ने संस्था र रकमको बिवरण, वडा १ देखि ९ सम्मको विकास योजना तथा उपभोक्ता समितिको बिवरणलगायत बिभिन्न विकास निर्माणबारे १४ बुँदे सूचना माग गरिएको थियो ।

सूचनाको हक सम्बन्धी ऐन अनुसार निवेदन र सो बापत लाग्ने दस्तुर ११ सय रुपैयाँ बुझाएको साहले बताए ।

पटक पटक सूचना माग गर्न नगरपालिकामा जाँदा कार्यालय प्रमुख गुप्ता र सुचना अधिकारी रौनियारले बिभिन्न बहाना बनाएर फर्काउने गरेका थिए ।

सोपश्चात साहले राष्ट्रिय सूचना आयोग काठमाडौंमा कार्यालय प्रमुख र सूचना अधिकारीबिरुद्ध २०७५ असोज ७ गते उजुरी दिएका थिए ।

सोको झण्डै एकबर्षपछि आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, सूचना आयुक्तद्धय किरणकुमार पोखरेल, यशोदादेवी तिम्मलसिनाको निर्णय नं २३ अनुसार २०७६ साउन २४ गते माग अनुसारको सूचना उपलब्ध गराउन इसनाथ नगरपालिकालाई आदेश भएको थियो ।

आयोगको आदेशलाई समेत बेवास्ता गरेको कारण आयोगले गुप्ता र रौनियारलाई जनही ७ हजार रुपैयाँ जरिबाना गरेको हो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here