प्रतिनिधिमूलक तस्बिर

अविवाहित विदेशी जोडीले अबदेखि साउदी अरबका होटलमा एउटै कोठामा बस्न पाउने भएका छन् ।

कट्टर इस्लामिक कानुन भएको साउदी अरबमा प्रवेशाज्ञासम्बन्धी नयाँ कानुन ल्याइएपछि पुरानो नियममा परिवर्तन हुन लागेको हो ।

नयाँ कानुनअनुसार महिलाहरूले पनि एक्लै होटलमा बस्न पाउनेछन् ।

यसअघि महिला र पुरुषले होटलमा एउटै कोठमा बस्न विवाहित भएको प्रमाण पेस गर्नुपर्ने नियम थियो ।

पर्यटन उद्योगलाई प्रवर्धन गर्न साउदी सरकारले नियम परिवर्तन गरेको हो ।

के छ नयाँ नियममा ?

यसअघि होटलमा सँगै बस्न जोडीहरूले विवाहित भएको प्रमाण देखाउनुपर्थ्यो। तर अब त्यो नियम विदेशीहरूका लागि खुकुलो बनाइएको छ ।

“सबै साउदी नागरिकलाई होटलमा बस्न जाँदा परिवारको परिचयपत्र वा उनीहरूबीचको सम्बन्ध प्रष्ट पार्ने खालका केही प्रमाण देखाउन आग्रह गरिएको छ,” पर्यटन र राष्ट्रिय सम्पदा हेर्ने साउदी निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“विदेशी पर्यटकहरूको हकमा भने यो नियम लागु हुँदैन। सबै महिलाहरू, साउदी अरबकै नागरिकहरूले पनि एक्लै होटलमा बस्न पाउनेछन् । तर यसका लागि उनीहरूले आफ्नो परिचय खुलाउनुपर्नेछ ।”

हालै सार्वजनिक भएको प्रवेशाज्ञासम्बन्धी नयाँ नियममा विदेशी महिला पर्यटकले पूरै शरीर ढाक्नु नपर्ने तर उनीहरूको वस्त्र शालीन हुने अपेक्षा गरिएको उल्लेख छ ।

तर साउदी अरबमा मदिरा अझै पनि प्रतिबन्धित छ ।

के हुन परिवर्तनका कारण?

संसारकै सबैभन्दा कडा कानुन भएको देशको रूपमा हेरिएको साउदी अरब विदेशी पर्यटक र लगानीकर्ताका आँखामा आफ्नो छवि फेर्न चाहन्छ ।

कार्यकारी अधिकार आफूसँग भएका त्यहाँका युवराज मोहम्मद बिन सलमानले साउदी अरबमा केही परिवर्तनहरू गरेका छन् ।

त्यहाँ महिलालाई सवारीसाधन हाँक्ने अनुमति दिइएको छ र महिलाहरू अबदेखि पुरुष संरक्षकको अनुमतिबिनै विदेश जान पाउँछन् ।

पर्यटनमा कस्ताे प्रभाव ?

तर यी परिवर्तनहरू पत्रकार जमाल खशोग्जीको हत्या र अन्य केही विवादास्पद विषयका कारण ओझेलमा परेका छन् ।

द इन्डिपेन्डन्ट पत्रिकाका पत्रकार साइमन क्ल्याडरका अनुसार भिसासम्बन्धी नियममा अपनाइएको लचकताले साउदी अरब आउने मानिसहरूको सङ्ख्या बढाउन सक्नेछ ।

“भिसा लिनका लागि पूरा गर्नुपर्ने कागजी र अन्य प्रक्रियालाई सहज बनाइएकाले यहाँ आउने पर्यटकहरूको सङ्ख्या बढ्नेछ। मेरो विचारमा सुरुमा अरब र यहाँको सम्पदामा रुचि राख्ने मानिसहरूको सङ्ख्या बढ्नेछ ।” बीबीसी नेपालीबाट

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here