इटहरी । १४४ बर्षसम्म बाँचेर इतिहास बनाएका वीरनारायण माँझीको गाँउसम्म पिच बाटो पुग्ने भएको छ ।

इटहरी उपमहानगरको वहुबर्षे गौरवको योजनाअनुरुप इटहरी उपमहानगर–११ भुसकलुवादेखि वीरनारायण माँझीको घर रहेको इटहरी उपमहानगर– १० आमझोंगीसम्म पुग्ने वीरनारायण मार्ग सडकको इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिल्यान्यास गरेका छन् ।

डेढ किलोमिटर लामो सो सडक आगामी बर्ष जेठ ४ गतेसम्ममा कालोपत्रे भइसक्ने गरि सम्झौता भएको छ ।
यो बाटोको शिल्यान्याससँगै इटहरीमा बहुबर्षे सडक निर्माण सुरु भएको छ ।

गाउँका ११ मूल बाटोलाई वहुबर्षे सडकका रुपमा उपमहानगरले कालोपत्रे गर्दैछ । शिल्यान्साय कार्यक्रममालाई सम्वोधन गर्दै प्रमुख द्धारिकलाल चौधरीले अन्य सडक निर्माण र महत्वपूर्ण निर्माण परियोजना चाँडै सुरु हुने जानकारी दिए ।
उनले अब गाउँका जनताले उपमहानगवासी भएको अनुभूत गर्ने विश्वास ब्यक्त गरे ।

प्रमुख चौधरीले सडक निर्माणको गुणस्तरमा कुनै पनि सम्झौता नहुने दावी गरे । उनले जनताले तिरेको करको कहिल्यै पनि दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाए ।

उपप्रमुख लक्ष्मी गौतमले इटहरीको गाँउगाँउका वासिन्दालाई नगरवासी भएको पहिलो अनुभूति दिलाउन गाउँगाउँमा सडक निर्माण थालिएको बताइन् ।

वडा नम्वर १३ का अध्यक्ष शिव नारायण चौधरीले गाउँका जनता विकासका गति देखेर उत्साहित भएको बताए ।
वडा नम्वर ११ का वडाध्यक्ष रुपेश चौधरीले ऐतिहासिक ब्यक्तित्व वीरनारायण माँझीको नामको वाटो कालोपत्रे हुने भएपछि वडावासी खुशी रहेको जनाए ।

इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेका अनुसार सम्झौता भन्दाअघि नै निर्माण सकिने गरि निर्माणको कामले तिव्रता लिने बताए ।

वीर नारायण माँझीका पनाती हरी नारायण माँझीले उपमहानगरले यो सडक पीच गर्नु वीरनारायण माँझीप्रति सम्मान भएको बताए ।

हरीनारायणका अनुसार वीरनारायण माँझीको जन्म विक्रम संवत् १९१३ मा र निधन २०५७ सालमा भएको थियो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here