किवाङ हाङ राई
केन्द्रीय सदस्य, किरात राई यायोक्खा ।

खोटाङमा भएको किरात राई विद्यार्थी संघको ९औं राष्ट्रिय सम्मेलन पश्चात करिब पाँच महिनाको अन्तरालमा अचानक झापामा किरात राई विद्यार्थी संघकै नामबाट एउटा समानान्तर संगठन घोषणा गरेको विज्ञप्ती सामाजिक सञ्जालबाट थाहा पाइयो ।
त्यस सन्दर्भमा किरात राई यायोक्खाले विज्ञप्ती पनि निकालिसकेको छ ।

सरसर्ती हेर्दा किरात राई विद्यार्थी संघको ९औं राष्ट्रिय सम्मेलन जुन खोटाङमा भएको थियो, गत वैशाखमा त्यसमा हाल विद्रोह गरेर समानान्तर संगठन बनाउने भाइहरुको उपस्थिति थियो । उहाँहरुले अधिवेशनमा प्रतिनिधि भएर परिषदको सदस्यसम्मको चरणमा निर्वाचनमा पनि भाग लिएको र अन्तमा सहमतिको प्रयास हुँदाहुँदै सहमति नहुने भइसकेपछि बहिष्कार गरेजस्तो गरिएको रहेछ ।

समानान्तर संगठन खडा गर्ने भाइहरुले उहाँहरुको भनाइ बहिष्कार गरेर नै निस्केको भन्ने छ । तर सम्मेलनमा उपस्थित हुनु, प्रतिनिधि हुनु, निर्वाचनमा भएका केही डकुमेन्टहरु देखिनु र आधिकारिक रुपले अधिवेशन सम्पन्न भएको अवस्था हेर्दाखेरि उक्त अधिवेशन वैधानिक हो । र हामीले त्यसैलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।

अब रह्यो समानान्तर संगठन खडा गर्नुको उदेश्य असन्तुष्टि, विकृति, विसंगति, सामाजिक सञ्जालबाट लगाइएको एक प्रकारको राजनीति आक्षेप छ । यदि ती कुराहरु सही हुन् भने उनीहरु सच्चिनुपर्छ । विकृति विसंगति छन् भने हटाउनुपर्छ । र विद्रोह भन्ने कुरा चाहिँ राम्रो कुरा हो । सही लक्ष्यको लागि, गतिशीलताको लागि अग्रगामिताको लागि विद्रोह गर्नु राम्रो हो । विद्रोह सदैव खराब होइन भन्ने मान्यता राख्ने मान्छु हुँ म ।

तर यसले राईहरुमा विभाजन जस्तो ल्याएको छ । दुवै पक्ष मिल्नुपर्छ भन्ने सबैको एक स्वरमा आवाज आइरहेको छ । यो असन्तुष्टिलाई समाधान गरेर राईहरु एकजुट भएर जानैपर्छ । त्यसको विकल्प छैन ।

कसरी जाने ? भन्ने कुरा छ । अब वैधानिक संगठन हुँदाहुँदै, वैधानिक कुरा मान्दामान्दै त्यसलाई स्वीकार नगरीकन अर्को संगठन खडा गर्दाखेरि नैतिकताको प्रश्न आउँछ । अनुशासनको प्रश्न आउँछ । ती कुराहरुलाई केन्द्रीय पदाधिकारीहरुले, मातृ संगठन किरात राई यायोक्खाले असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ ।

मैले सुनेको छु, १४ जिल्लामा संगठन भएको किरात राई विद्यार्थी संघको ९ जिल्लाको अध्यक्षहरुले आप्mनो विमति राखेका रहेछन् । वास्तवमा यो ठुलो तरंग हो । त्यसकारण यसलाई सम्बोधन गर्न आवश्यक छ ।

म स्पष्ट बोल्ने मान्छु हुँ । विद्रोह गर्ने भाइहरुले यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईलाई आक्षेप लगाएका छ । उहाँले सिधै नेकपाकरण गर्नुभो भन्ने आक्षेप छ । र विद्रोह गर्ने भाइहरुलाई पनि समाजवादी पार्टीको आक्षेप लागेको छ । दुवैलाई आरोप छ । राजनीतिक आक्षेप नलागोस्, नलगाऔ पनि । प्रमाण छ भने नछाडौ पनि ।

अहिले राजनीतिक पार्टीमा नहुने मान्छे कोही पनि छैन । पार्टीमा नलाग्ने मान्छे मबाहेक अरु छैन पनि होला । त्यसले गर्दा म के भन्दैछु भने किरात राई यायोक्खामा प्रवेश गरेपछि यायोक्खाको विशिष्ट एजेण्डामा काम गर्नुपर्छ ।
यायोक्खाका पदाधिकारीहरु पार्टीमा लाग्नै नहुने भन्ने होइन । तर यायोक्खालाई पार्टीको भातृ संगठन बनाउनु भएन । अर्थात पार्टीको लाचार छाँयाको रुपमा बनाउनु हुँदैन, यत्ति हो ख्याल गर्नुपर्ने कुरा ।

यो कुरा विद्यार्थी संगठनमा पनि लागु हुन्छ । एकछत्र नेकपाको भातृसंगठन जस्तो पनि देखिनुभएन । विद्रोही संगठन पनि समाजवादीको भातृ संगठनजस्तो देखिनुभएन । र किरात राई यायोक्खाको विशुद्ध एजेन्डामा यायोक्खाले चालेको अहिलेको अभियान १ नम्बर प्रदेश किरात प्रदेश अभियानमा दुवै संगठन सक्रिय रुपमा आएको हुनुपर्छ ।

यता यायोक्खामा पद ओगट्ने, किरात राई विद्यार्थी संघको आधिकारिक हुँ भनेर दाबी गर्ने आफ्नाे कार्यक्रममा प्रभावकारी भूमिका नगर्ने, अर्कोतिर आधिकारिक संगठनलाई लाचार छाँया भनेर आक्षेप लगाउनेहरु पनि भोलिको दिनमा खरो उत्रिएनन् भने त्यो पनि आपत्तिजनक हुन्छ । यस विवादको मिलन विन्दु भनेको ९औं राष्ट्रिय सम्मेलनलाई विद्रोह संगठनले स्वीकार गर्ने र संस्थापन पक्षले विद्रोही विद्यार्थीहरुको असन्तुष्टि सम्बोधन गर्ने नै हो ।

(यायोक्खा केन्द्रीय सदस्य राईसँग कुराकानीको आधारमा तयार पारिएको छोटो विचार ।)

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here