पदम श्रेष्ठ
भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका कालभैरवअगाडि यःसिं (इन्द्रध्वज) उठाएपछि आश्विनकृष्ण चतुर्दशीसम्म मनाइने इन्द्रजात्रा उपत्यकामा भव्य मनाइँदैछ । यलम्बर जात्रा येंयाः अर्थात् काठमाडौं नगर निर्माण भई उद्घाटनको दिन मानिन्छ इन्द्रजात्रा ।

कलिगत संवत् ३८२५ (वि.सं ७८१)मा राजा गुणकामदेवले पचलीलाई बिँड र म्हय्पीलाई मञ्जुश्री खड्गको टुप्पो हुने गरी देशको चारैतिर अष्टमातृका पीठ विराजमान गराई येंगा हिटीनेर उद्घाटन गरेको विश्वास गरिन्छ ।

अर्काे आख्यान अनुसार किराती राजा यलम्बरले ५ हजार वर्षअघि भारतको कुरुक्षेत्रमा भएको महाभारत युद्ध हेर्न जाँदा कौरव र पाण्डवमध्ये जुन पक्ष हार्छ उसैको पक्षमा लड्ने बताएछन् । तर यस्तो भएमा युद्ध कहिल्यै अन्त्य नहुने देखेर छली कृष्णले छल गरी यलम्बरको टाउको दुई टुक्रा हुने गरी काटिदिए । यही दिनको स्मरणमा प्रत्येक वर्ष यहाँ आजुद्यो (आकाश भैरव)को शिर र अर्कोतर्फ बाकाद्यो (आजुद्योको साथी) तान्त्रिक पूजासहित सार्वजनिक प्रदर्शनमा राख्ने परम्परा छ ।

इन्द्रध्वजोत्थानकै दिनदेखि काठमाडौं, ललितपुर, भक्तपुरलगायतका नेवार बस्तीमा हाथुद्यो (भैरव) लगायत देवी–देवता, दलुमत आदि सार्वजनिक रूपमा द्धिप प्रदर्शन गर्ने गरिन्छ । यसै दिनदेखि हल्चोक स्वयम्भूको सवः भक्कु, किलागलबाट पुलुकिसी (तानाकिसी), मजिपातबाट मजिपाः लाखे, कुम्हाननीको कुम्हो प्याखँ, किलागलको दि प्याखँ (देवी नृत्य), भक्तपुरबाट महाकाली प्याखँ गणनृत्य र माकः प्याखँ र त्रिपुरेश्वरको दश अवतार झाँकी इन्द्रजात्रामा सार्वजनिक प्रदर्शन गरिन्छ भने पाटनको च्यासल फल्चामा नेपालको सबैभन्दा प्राचीन चलचित्र झ्यालिँचा मञ्चन गरिन्छ ।

पदम श्रेष्ठ

उपाकू बनेगु

भाद्रकृष्ण द्वादशी (यँलाथ्व द्वादशी) अर्थात् इन्द्रध्वजोत्थानकै दिन साँझ मृतकका नाउँमा बाटोभरी धूप–दीप (पाल्चा) बाल्दै देवी–देवालाई धूप, अक्षता, नगद चढाउँदै ‘उपाकू परिक्रमा’ गर्ने गरिन्छ ।

इन्द्रजात्रा आख्यान

लिच्छविकालीन अभिलेखमा इन्द्रजात्रामा मल्लकालसम्म चिकंमुगलस्थित अट्कोनारायणअगाडि इन्द्रध्वज उठाएपछि शुरू हुने परम्परालाई राजा प्रतापसिंह शाहले ने.सं. ८९५ मा तिब्बतलाई हराएको खुसीयालीमा हनुमानढोका कालभैरवअगाडि ठड्याउन थालेको कथन छ ।

तर इन्द्रजात्राको अर्को प्रचलित आख्यानमा भने स्वर्गका राजा इन्द्रले आप्mनी आमा डागीँका लागि तीज व्रत बस्न मरु ख्योकेव (मरुटोलस्थित भगवतीबारी)मा पारिजातको फूल चोरिरहेको देखी ज्यापूले पक्री दुई हातखुट्टा बाँधी सार्वजनिक बेइज्जत गरेदेखि इन्द्रजात्रा पर्वको शुरूआत भएको उल्लेख गरिएको छ ।
जीवित देवी कुमारीको रथयात्रा

मातृसत्तात्मक नेवार समुदायको प्रतीक जीवित देवी कुमारी, भैरव र गणेश रथारोहण नै इन्द्रजात्राको प्रमुख आकर्षण मानिन्छ ।

येंयाः पून्हीका नाउँमा प्रख्यात यस दिन नेवार समुदायका घर–घरमा छ्वयला (पोलेको मासु), अदुवा, लसुन, कालो भटमास, समयबजी (स्याबजी–चिउरा) बाँड्ने र ‘ला छकू वय्क समयबजी बल–बल पुलुकिसी’ भन्दै माग्न जाने परम्परा छ भने बसन्तपुर गद्दी बैठकमा राष्ट्रप्रमुख, विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका व्यक्तिहरूको उपस्थितिमा श्रीकुमारीको भव्य रथारोहण तथा पञ्चबुद्ध, मजिपाः लाखे, सवः भक्कु आदिको झाँकी प्रदर्शन गरिन्छ ।

सत्ययुगको कुरा हो, राजा त्रैलोक्य मल्ल र तलेजु भवानीबीच पासाः खेल्दै राज्यसम्बन्धी सञ्चालनका बारे कालो पर्दाले छेकी वार्ता भइरहेको बेला राजाको मनमा पाप चित्त उत्पन्न भएछ । उक्त कुरा थाहा पाएकी देवी तलेजु भवानीले अबदेखि शाक्य थरकी कन्याको जीउमा मात्र आफू प्रकट हुने र उनैसँग सल्लाह लिनू भनी उपदेश दिँदै अलप भइछन् ।

त्यसै बेलादेखि जीवित देवी कुमारीसँग राज्यप्रमुखले इन्द्रजात्राका बेला टीका लगाउन जाने परम्परा चलेको र यदि राज्यप्रमुख कुमारीघर वसन्तपुर नपुगी अपमान गरे राज्य स्थिर नरहने विश्वास गरिन्छ ।

अन्तिम मल्ल राजा जयप्रकाश मल्ललाई कुमारीले अब तिम्रो राज्य गर्ने शक्ति सकियो, राज्यसत्ता बचाइराख्न कुमारी रथारोहण गराउनू भन्ने उपदेश दिएमुताबिक ने.सं. ८७६ देखि रथारोहण प्रारम्भ भएको मानिन्छ ।

ने.सं ८८८ मा गोर्खाका राजा पृथ्वीनारायण शाहले यसै दिन कुमारी रथारोहणमा मस्त नेवारहरूमाथि सांघातिक हमला गरी नेपालमण्डल आफ्नो अधीनमा लिएका थिए । तर पृथ्वीनारायण शाहले नेवार अस्तित्वलाई आत्मसात् गर्ने भनी मौखिक सहमति जनाएका थिए । र त्यसपछि गुठी सम्पत्ति आफ्नै खानदानी चङ्गुलमा राखी जात्रा–पर्वका लागि दक्षिणा दिने परम्परालाई उनले निरन्तरता दिएका थिए ।

आख्यान अनुसार किराती राजा यलम्बरले ५ हजार वर्षअघि भारतको कुरुक्षेत्रमा भएको महाभारत युद्ध हेर्न जाँदा कौरव र पाण्डवमध्ये जुन पक्ष हार्छ उसैको पक्षमा लड्ने बताएछन् ।

कुमारीबारे प्रसिद्ध आख्यानः र दवु कुमारी व्यालय्

पचलीभैरव र ङेत अजिमाँ (नरदेवी)को राज्य चलिरहेको बेला अनि बलियो दैत्यले आक्रमण गरी अष्टमातृका गण र भैरवहरू सबैलाई हराइदिएछन् तर दैत्यको कुमारीसँग प्रेम सम्बन्ध थियो । माता–पिता र राष्ट्रलाई धरापमा पारी आफूसँग विवाह गर्न चाहने दैत्यसँग कुमारी सहमत हुन सकिनन् ।

अन्त्यमा छलगरी कुमारीद्वारा राष्ट्रघाती एवम् माता–पिताका दुश्मनलाई वध गरी आफू आजीवन कुमारी नै रहने प्रतिज्ञा गरिन् । यही त्यागको सम्मानस्वरूप रथारोहण गरिएको दबू प्याखँ (डबली नृत्य) गणनृत्य जोशी देगलमा प्रत्येक वर्ष प्रदर्शन गरिन्छ ।

इन्द्रजात्रामा पाटन च्यासलको झ्यालचा

इन्द्रजात्रा काठमाडौंमा राज्यप्रमुखको उपस्थितिमा कुमारी रथारोहण गरी मनाउने भए तापनि ललितपुरको च्यासलमा नेपालको ‘प्रथम चलचित्र’ झ्यालचा प्रदर्शन गरी मनाइने परम्परा छ ।

येंयाःपून्ही भाद्रशुक्ल पूर्णिमाका दिन साँझ ७ः३० बजेदेखि एक घण्टा प्रदर्शन हुने झ्यालचा चलचित्र सेतो पर्दाभित्र चिरा दीप बाली यौनभावको क्रियाकलाप देखाउने हुँदा चलचित्र हेर्नेहरूको ठूलो भीड लाग्नेगर्दछ । प्रजापति गुथीको यो प्रस्तुतिलाई छायाँ दर्शन पनि भन्ने गरेको पाइन्छ ।

दागीं वा बौमत

यँलाथ्व चतुर्दशीका दिन कुमारी रथारोहणसँगसँगै काष्ठमण्डप मरुबाट दाबी (इन्द्रकी आमाको प्रतीक स्वरूप) सेतो मुकुण्डो र जामासहितको भेषभूषामा धिमे–भुस्या (परम्परागत नेवारी बाजा)को संगीतमय तालमा नगरपरिक्रमाका लागि बाहिर निकालिन्छ ।

त्यसै गरी इन्द्रका पिताका रूपमा बौमत कुमारी रथारोहणकै मार्गमा मृतकका नाउँमा दीपदान गर्दै घुमाइन्छ । यसरी नगरपरिक्रमा गर्दा मृतकका नाउँमा ९ थरी गेडागुडी सस्र्युं, तोरी, कालो तिल, जौ, ज्वानो, केराउ, गेडामास, कालो भटमास बाटोभर छर्दै हिँड्ने परम्परा छ । यसै दिन स्वर्गको बाटोको रूप मान्दै काठमाडौंबाट १५ किमि पश्चिम थानकोटस्थित इन्द्रदह (यंकीदह)मेला भर्न श्रद्धालुहरू राति नै हिँडेर पुग्ने गर्दछन् ।

नानिचा याः (दथु याः)

यँलागा चतुर्दशी अर्थात् इन्द्रजात्रको अन्तिम दिन कुमारीसहितको रथ किलागलतर्फ लाने परम्परा छ । राजा जयप्रकाश मल्लले मथ्याम्ह (ल्याइते) रानीलाई देखाउन अन्तिम रथारोहण ँनानिचा याः’ (नानीको लागि यात्रा)को परम्परा थप गरिएको जनश्रुति छ । राज्य प्रमुखद्वारा कुमारी दर्शन, इन्द्रध्वज विसर्जन, हाथुद्यो (भैरव) र यःमाद्यो (इन्द्र) प्रदर्शन आदि सबै कार्य यसै दिन सम्पन्न गरी इन्द्रजात्रको समापन गरिन्छ ।

ख्वप भक्तपुरको पुलुकिसी जात्रा

यलाथ्व द्वादशीदेखि यँलागा चौथीसम्म हुने इन्द्रजात्रा (ययाँ) पून्हीको अन्तिम दिनसम्म भक्तपुरमा पुलुकिसी जात्रा हुने गर्दछ । यमाद्यः भनी इन्द्र मूर्ति प्रदर्शन भए पनि काठमाडौंमा जस्तो ठूला–ठूला जात्रा गरिदैन । इन्द्रकी आमा डाँगीलाई तीजको लागि फूल चोर्न आउँदा ख्योकेवःवासी ज्यापूले पक्राउ गरी चोरलाई जस्तै दुई हात–खुट्टा बाँधी सिल्यो सतः र काष्ठमण्डपबीच सार्वजनिक गरिँदा इन्द्र खोज्न आएको ऐरावत हात्तीको प्रतिकस्वरूप तानाकिसी जात्रा भएजस्तै भक्तपुरमा अष्टमी व्रतका लागि खाइसी लिन पठाउँदा इन्द्र ढिलो गरी आएका कारण आमाडाँगीले ऐरावत हात्तीलाई खोज्न पठाएको नाउँमा यहाँ पुलुकिसी जात्रा गरिन्छ ।

भक्तपुरमा पुलुकिसी जात्रा गरिन्छ । इन्द्र जात्राको समापनस्वरूप द्वितीयाका दिन फलामको त्रिशूलसहित सायमी, मानन्धर समुदायले ठूलो यामतः चिराख बोक्छन् भने यामतः भैरवस्थान पु¥याएपछि मात्र पुलुकिसी जात्रा गर्दा मसान भैरवलाई बच्चा पाउन नसकी मरेको भैंसीको राँगाको आन्द्राको माला पहिराउनुपर्ने अनौठो परम्परा छ । देशमा भूतप्रेतबाट दुःख नदिइयोस् भन्ने कामनाका साथ गरिने पुलुकिसी जात्रा तानताना बाजाको तालमा इन्द्रायणीलगायतका देश परिक्रमा गर्दा काठमाडौंमा जस्तो पूजा–जात्रा गर्ने नभई बटुवाबाट जगात उठाउने परम्परा छ । गाईजात्रा परिक्रमाको मार्गमा पुलुकिसी परिक्रमा गरिंदा तौमद्यी हुँदै वंशगोपाल पु¥याउँदा हात्तीलाई खेतर्फ फर्काएर खुवाएको नौटंकी गरिन्छ भने नःपुर्खुमा पानी र ब्रह्मायणीतर्फ फर्काएर धान खुवाउने जात्रा गरिन्छ । एउटा अनौठो भनाइ के छ भने पुलुकिसीले जात्रामा जसको खेततर्फ फर्किएर धान खान्छ, त्यसको खेतमा धान फल्दैन भने पोखरीको पानी पनि सुक्खा हुन्छ ।

नागचा प्याख

इन्द्रजात्राकै अवधिमा पशुपतिक्षेत्र जयबागेश्वरीमा नागचा प्याखँ शिव–पार्वती नृत्य आश्विन कृष्णपक्ष परेवाको रातिदेखि तीन दिन पूर्णिमासम्म मृदङ्ग आदि बाजाको तालमा प्रेमलीलामा आधारित नृत्य हुने गर्दछ ।

नेपालभाषा, नेपाली, हिन्दी मिश्रित गीत भट्याउने सो नृत्य ‘’ेइन्द्रराज आएर भने दुःख फूं हरण या कर्जा हुँ म भएँ, धन राजा पञ्चाल देश,,, यसरी गाइने नागचा प्याखँबारे एक घतलाग्दो किंवदन्ति छ । सुन्दर नामका एक राजकुमारको देशमा अमर व्याधा शिकार खेल्दै एकान्त जङ्गलमा पुग्दा त्यहाँ अत्यधिक तातो कृत्रिम पानीको पोखरी थियो । पोखरीका छेउमा एक विषादी नामक मन्त्रसिद्धि वैद्य जप गरिरहेका थिए । व्याधाको आग्रहमा वैद्यले पोखरीको पानी पिउनयोग्य चिसो बनाइदिए ।

तापका कारण छट्पटाइरहेका जीवजन्तु नागराजा एकाएक पानी सामान्य भएबाट खुसी हुँदै बाहिर निस्कदा व्याधालाई देखेका नागराजले इच्छाइएको कुरा अमोघपास हतियार दिएर पठाइदिए । अमोघपास हतियारको माध्यमबाट व्याधा दाजुभाइले एकैपल्ट देवराज इन्द्रकी छोरीलाई माग्दा एउटीसँग कसले विवाह गर्ने विवाद हुन पुग्यो ।

अन्त्यमा दाजुभाइले अमोघपास हतियार र राजकुमारीलाई सुन्दर राजकुमारको जिम्मा लगाई धन–सम्पत्ति, गहना लाने विचार गरी राजदरबारमा जिम्मा लगाइदिएछन् । अन्त्यमा महादेवको सहयोग लिई देवराज इन्द्रले आफ्नी छोरी सुन्दर राजकुमारबाट फिर्ता लगेछन् । यही आख्यानका आधारमा नागचा प्याखँ नचाउन अमालकोट कचहरीमार्फत समयबजी ल्याई चढाउने परम्परा छ ।

जय बागेश्वरी नासः चोकबाट द्यःल्हायगुपछि शुरू भएको नागचा प्याखँ सिफल ताम्रोश्वर नवाली गणेश बासुकी भट्टको घरअगाडि, पशुपति मूल भट्टको घरमा, राममन्दिर, राजराजेश्वरी, गृह्येश्वरी आदि स्थानमा नचाउँदै इन्द्रजात्राको अन्तिम दिन नानिचायाः गरी नागचा प्याखँ विधिवत् सम्पन्न गर्ने परम्परा छ ।

प्रतिक्रियाका लागि padamcha@hotmail.com

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here