तस्बिरः टंक सेलिङकाे फेसबुकबाट

काठमाडौं । पहिचानकाे आन्दोलनलाई साहित्यको क्षेत्रबाट समेत सशक्त ढंगले अघि बढाउने उद्देश्यसहित वरिष्ठ साहित्यकार राजन मुकारुङलाई ‘नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ’को संयोजकको जिम्मेवारी दिइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले महासंघको सम्बन्धन संस्थाहरुको विस्तार गर्दै जाने र पहिचानको आन्दोलन सशक्त बनाउने निर्णय बमोजिम मुकारुङलाई आदिवासी जनजाति साहित्यकार महासंघको संयोजक तोकिएको बताए ।

बिहीबार ललितपुरकाे कुसुन्तीस्थित जनजाति महासंघको कार्यालयमा मुकारुङलाई संयोजकको जिम्मेवारी दिइएको हो ।
उपाध्यक्ष छन्यालले आदिवासी जनजाति साहित्यकारहरुलाई संगठित गर्दै साहित्यको क्षेत्रबाट पहिचानको आन्दोलन अघि बढाउनका लागि आदिवासी जनजाति साहित्यकार महासंघ गठन गरिएको बताए ।

‘पहिचान र अधिकारको आन्दोलनका विविध आयामहरु छन्,’ उनले भने, ‘साहित्यको क्षत्रबाट पनि आदिवासी आन्दोलन उठाउने उद्देश्यसहित आदिवासी जनजाति साहित्यकार महासंघ गठन गरिएको हो ।’

साहित्यकार महासंघले तीन महिनाभित्रमा आफ्नाे विधान तयार गर्ने, अधिवेशन गर्ने र महासंघअन्तर्गतका संगठनहरुको विस्तार गर्ने छन्त्यालले बताए ।

बिहीबारको कार्यक्रममा जनजाति महासंघका अध्यक्ष जगत बराम भने स्वास्थ्य प्रतिकुलताका कारण अनुपस्थित थिए ।

जनजाति महासंघले गत भदौ १८ गते ‘नेपाल आदिवासी जनजाति कलाकार महासंघ’ गठन गरेको थियो । जसको संयोजक राजु गुरुङलाई दिइएको छ । उनी तमु गुरुङ कलाकार संघका अध्यक्ष हुन् । महासंघले ‘नेपाल आदिवासी जनजाति खेलकुद महासंघ’ समेत गठन गरेको छ ।

राजु गुरूङलाई जिम्मेवारीसहितको पत्र दिदै । तस्बिरः गोविन्द छन्त्याल

महासंघले आदिवासी जनजाति कानुन व्यवसायी महासंघ, पर्यटन, मजदुर लगायत अन्य सम्बन्धन संगठनहरु पनि क्रमशः गठन गर्दै जानेछ । हालसम्म महासंघ अन्तर्गत ८ वटा सम्बन्धन संगठन थिए ।

आदिवासीहरुको अधिकार कटौतीविरुद्ध प्रतिरोध गर्नेछौः मुकारुङ

आदिवासी जनजाति साहित्यकार महासंघको संयोजकको जिम्मेवारी पाएका मुकारुङले पछिल्लो समय आदिवासी जनजातिको अधिकारहरु कटौती हुँदै गएकोले सोविरुद्ध प्रतिरोध गर्न आफूहरु तयार रहेको बताए ।

‘हाम्रो पहिलो जोड भनेको जसरी पछिल्लो समय हाम्रा अधिकारहरु कटौती हुँदै गएका छन् त्यसका विरुद्धमा प्रतिरोध गर्ने हो,’ उनले भने, ‘पछिल्लो समय पहिचानको आन्दोलन कमजोर देखिएकोले त्यसलाई सशक्त ढंगले अगाडि बढाउनुपर्छ र राज्यलाई धक्का दिनुपर्छ भनेर पनि संगठनमा बस्न तयार भएको हुँ ।’

उनले अब देशविदेशमा संगठन विस्तार गर्ने र आदिवासी समुदायका साहित्यकारहरुलाई एकीकृत गर्दै पहिचानको आन्दोलनलाई अझ प्रभावकारी ढंगले अघि बढाउने बताए ।

1 COMMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here