काठमाडौं । आदिवासी धिमालहरुको समावेशी कोटामा गैरआदिवासी (क्षेत्री धिमाल)ले सरकारी जागिर खाएको समाचार सार्वजनिक डटकममा प्रकाशित भएपछि धिमाल जातीय विकास केन्द्रले प्रेस विज्ञप्ती जारी गरी आफ्नाे गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

केन्द्रका महासचिव केदार धिमालले मंगलबार विज्ञप्ती जारी गरी उक्त घटनाको तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

खोटाङ जिल्लाको साकेला गाउँपालिका निवासी विष्णुप्रसाद धिमालले आदिवासी जनजाति कोटामा लोकसेवा आयोग पास गरी जागिर खाएकोबारे सार्वजनिकले सोमबार मात्रै जनजातिको कोटामा क्षेत्रीले खाए जागिर, कसरी मिलाए डकुमेन्ट ? शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

केन्द्रले खोटाङमा आदिवासी धिमालहरुको बसोबास नै नरहेको प्रष्ट पारेको छ ।

‘धिमालहरु मूलतः झापा, मोरङ, सुनसरी, इलाम र काठमाडौं जिल्ला बाहेक अन्य जिल्लामा नगन्य रुपमा पाइन्छ । खोटाङ जिल्लामा धिमालहरुको बसोबास छैन,’ विज्ञप्तीमा भनिएको छ, ‘बसोबास नै नभएको जिल्लाबाट पनि नक्कली कागजात मिलाएर वा कर्मचारीहरुको मिलेमतोमा धिमालहरुको भाग खोस्ने काम गर्नेलाई कानुनी कठघरामा उभ्याउनुपर्छ । यो घटनाको यथाशिघ्र छानबिन गर्नका लागि सरकारलाई अनुरोध गर्दछौ ।’

केन्द्रका महासचिव धिमालले यस घटनाका बारेमा आफूहरुले थप अनुसन्धान गर्दै कानुनविदहरुसँगको सहयोग लिएर अघि बढ्ने बताए ।

‘यस्तै खालको घटना पहिला मेरै गाउँमा पनि भएको थियो,’ मोरङ जिल्लाको बेलबारी–१० भाउन्ने घर भएका धिमालले भने, ‘त्यो करिब २०५५, ५६ सालतिरको हुनुपर्छ ।’

उनले धिमाल लेखाउनेहरु ब्राम्हण समुदाय हुन सक्ने अनुमान गरे ।

उनले आफ्नै गाउँका पहिला धमला लेख्नेहरुले नै पछिल्लो समय धिमाल लेख्न थालेको पनि सुनाए ।
‘मैरै गाउँमा पनि पहिला धमला लेख्नेहरु थिए, म उनीहरुलाई चिन्छु । पछिल्लो समय उनीहरुले धिमाल लेख्न थालेका छन्,’ उनले भने, ‘तर किन धिमाल लेखाउन थाले त्यसबारे मैले सोध्न पाएको छैन ।’

उनले आदिवासी धिमालहरुले जनजातिको कोटामा अहिलेसम्म कसैले सरकारी जागिर खाएको आफूलाई थाहा नभएको बताए ।

प्रेस विज्ञप्तीः

जनजातिको कोटामा क्षेत्रीले खाए जागिर, कसरी मिलाए डकुमेन्ट ?

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here