काठमाडौं । थरुहट÷थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई ‘गोहीको आँशु’ नझार्न चेतावनी दिएका छन् ।

टीकापुर घटनाको बारेमा आइतबार अध्यक्ष दाहालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेता थारुले चेतावनी दिएका हुन् ।

अध्यक्ष दाहालले आदिवासी जनजातिहरुको एजेण्डा छोडिसकेकोले उनले अब थारुहरुको अधिकारको कुरा गरेर गोहीको आँशु नझार्न तथा दोहोरो चरित्र नदेखाउन चेतावनी दिएका हुन् ।

‘निर्दोष थारुहरुलाई जेलमा थुनेर राख्ने बाहिर गोहीको आँशु बगाउने प्रचण्डको दोहोरो चरित्र थारुहरुले बुझिसकेका छन्,’ नेता थारुले भने, ‘माननीय रेशम चौधरीसहित ११ जनालाई जेलमुक्त गरेको खोइ ?’

अध्यक्ष दाहालले आइतबार थरुहट संघर्ष समितिका पदाधिकारीहरुसँग ‘टीकापुर घटना राजनीतिक विद्रोह’ भएको बताएका थिए ।

नेता थारुले प्रचण्डले चाहेको भए टीकापुर घटनाको समस्या पहिल्यै भइसक्ने बताए । तर उनले अहिले फेरि जथाभावी बोलेर थारुहरुलाई उत्तेजित पार्न खोजेको आरोप लगाए ।

‘प्रचण्डले साँचो अर्थमा थारुको मुद्दा बोकेको भए अहिलेसम्म टीकापुर घटनाले राजनीतिक समाधान पाइसक्थ्यो,’ उनले भने, ‘तर उनले थारुहरुप्रति मुखमा रामराम बगलीमा छुराजस्तै प्रवृत्ति देखाए ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here