काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रमा रहेको रकम उत्पादनमा लगाउन आग्रह गरेकी छन् ।

नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका सन्दर्भमा बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

सहकारीले अब उत्पादनमा लगानी गर्नुस् भन्दा सहकारी अभियन्ताले सहकारी क्षेत्रलाई बुझ्नुभएन की भन्ने प्रश्न गरेको भन्दै मन्त्री अर्यालले आफुले सहकारी क्षेत्रलाई राम्ररी बुझेकै कारण उत्पादनमा लाग्न आग्रह गरेको समेत बताइन् ।

‘सहकारी क्षेत्रलाई मन्त्रीले सहकारी बुझ्नुभएन कि भनेर अभियन्ताले भन्नुहुन्छ । तर मैले मज्जाले बुझेको छु’, मन्त्री अर्यालले भनिन्, ‘अबको दिशा समृद्धि, विकासकै दिशा हो । सहकारीको स्रोत उत्पादनमा लगाउनुस । उत्पादनमा लाग्नुस भन्दा मन्त्रीले सहकारी बुझेन क्या हो भन्ने होइन । उत्पादनका क्षेत्रमा लगानी गरिदिनुस भनेको सहकारीले सहकारीमै लगानी गर्नुस भनेको हो ।’

लगानीको कुरा गरिरहँदा मन्त्री आफैले किन गरेन भन्ने प्रश्न पनि स्वभाविक रूपमा उठ्ने भएकाले आफुले ३ गाउँको जमिन एकिकृत गरेर कागती खेती शुरू गरिसकेको मन्त्री अर्यालले जानकारी दिइन् ।

‘मन्त्री आफैंले गरेन भन्ने प्रश्न उठ्ला भनेर मैले त शुरु गरिसके । तीन गाउँका जमिन एकीकरण गरेर कागती लगाउन शुरु गरेका छौ । यस वर्ष ३० हजार कागती लगाउने योजना रहेको छ’, उनले भनिन् ।

दुई पत्रकार पुरस्कृत

साे अवसरमा दुई पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।

नेपाल सहकारी पत्रकार समाजले स्थापना गरेको ‘सिजेएन राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार’ क्लिकमाण्डु डटकमकममा कार्यरत शोभित थपलियालाई प्रदान गरिएको थियो । त्यस्तैगरी संस्थाका संस्थापक उपाध्यक्ष डिल्ली सापकोटालाई सम्मान गरिएको थियो । प्रमुख अतिथी मन्त्री अर्यालले दुवै पत्रकारलाई पुरस्कृत तथा सम्मानित गरेकी हुन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here