काठमाडौं । नेवारहरुको पहिचान र संस्कृतिमा आधारित ‘नेवा कमल पुखु’ मेटाएर बनाइएको छायाँदेवी कम्प्लेक्सको उद्घाटन गर्ने पर्यटनमन्त्री योगेश भट्टराईलाई नेवारहरुको एउटा समूहले बहिष्कार गर्ने चेतावनी दिएको छ ।

उनीहरुले नेवाः देय दबुको २५औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिने कार्यक्रममा मन्त्री भट्टराईलाई प्रमुख अतिथि बनाएकामा आपत्ति समेत जनाएका छन् ।

मन्त्री भट्टराईलाई प्रमुख अतिथि नबनाउन माग गर्दै उनीहरुले मन्त्री भट्टराई नै प्रमुख अतिथि रहने हो भने कार्यक्रम नै बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।

श्रीकृष्ण मानन्धरद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्र नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकारलाई बुझाइएको छ ।
‘गएको २०७५ पुष १० गते थँबहि (ठमेल)को कमल पोखरीलाई समाप्त पारेर छाँयादेवी कम्प्लेस बनाएको उद्घाटन गर्ने अहिलेका संस्कृति पर्यटन मन्त्री योगेश भट्टराईलाई प्रमुख अतिथि बनाएकोमा साह्रै दुःख लाग्यो । नेवाःहरुको पहिचानसित सम्बन्ध भएको कमलपोखरीलाई समाप्त पारेको विरोध गर्दै एकातिर नेवाःहरुले संघर्ष गरिरहेको समयमा सांसदको हैसियतले पछाडिको ढोकाबाट गएर छाँयादेवी कम्प्लेस उद्घाटन गर्नुहुने मन्त्री भट्टराईको सो कार्य एक किसिमले नेवाः विरोधी कार्य हो । नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूबाट उहाँलाई प्रमुख अतिथि बनाएकोमा हाम्रो घोर आपत्ति छ । उहाँलाई प्रमुख अतिथि नबनाउनका लागि अनुरोध पनि गर्दछौं । उहाँलाई प्रमुख अतिथि बनाएमा त्यहाँ नेवाःहरुले विरोध गर्यो वा कुनै पनि किसिमको घटना घट्यो भने त्यसको जिम्मेवारी स्वयं दे दबू नै हुनेछ भन्ने पनि स्पष्ट गर्न चाहन्छौं ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here