खाेटाङ- दलित बालबालिकाले दिएको दही खाँदा खोटाङका एक ७६ वर्षीय वृद्ध सामाजिक बहिष्कारमा परेका छन् । जिल्ला समन्वय समिति खोटाङले दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको खाल्लेमा आयोजना गरेको सहभोजमा दही खाएपछि आफ्नै दाजुभाइले सामाजिक बहिष्कार गरेको वृद्धको आरोप छ ।

उनी सोही नगरपालिका–१ का बासिन्दा हुन् ।

जिसस खोटाङले असार १८ गते आयोजना गरेको सहभोजमा टंकप्रसाद आचार्यले दलित बालबालिकाले दिएको दही खाँदै मानव मानवमा छुवाछुत गर्नु नहुने भन्दै सबैमा सचेतना जगाउनुपर्ने उद्घोष गरेका थिए ।

जिसस सभापति बबी चाम्लिङ र खोटाङका सीडीओ विष्णुहरि उपाध्यायसँगै दही खाएर छुवाछुतविरुद्ध अभियानमा लागेका टंकप्रसाद अहिले दाजुभाइबाटै बहिष्कारमा परेपछि विस्थापित भएका छन् ।

आइतबार धरान आएका उनले सरकारले छुवाछुत अन्त्य गरेको हो भने समाजमा कार्यान्वयन गर्न र आफूलाई बहिष्कार गर्नेमाथि कडा कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

उनले छुवाछुतविरुद्ध अभियानमा आफूले दलित समुदायका बालिकाबाट दही खाएर केही पनि नबिराएको भन्दै छरछिमेकमा रहेका आफ्नै दाजुभाइ र भाइभतिजाले अपहेलना गरी तैंले गल्ती गरिस्, अब तँलाई देवाली पनि गर्न दिँदैनौं भन्दै छरछिमेकमा भएका धार्मिक कार्यमा प्रवेश नगराउने भन्दै मानसिक यातना दिएको बताए ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा रत्नप्रसाद आचार्यले लेखेका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here