काठमाडौं– ताप्लेजुङको तिम्बुङ वरक (पोखरी)मा विष्णु मन्दिर निर्माण गरी विष्णु पोखरी नामाकरण गरी लिम्बूहरुमाथि धार्मिक तथा सांस्कृति अतिक्रमण गर्न खोजिएको भन्दै लिम्बुवान स्प्रिङ आन्दोलनसहित पहिचानवादी सामाजिक संस्था र विभिन्न दलका नेताहरुले विष्णु मन्दिरमा तालाबन्दी गरेपछि सरकारले आन्दोलनरत पक्षसँग वार्ता गर्ने तयारी गरेको छ ।

लिम्बुवान स्प्रिङ आन्दोलनले झापादेखि तिम्बुङसम्म ‘काङ्सोरे लङ्गमार्च’ गरी गत १५ अगष्टमा मन्दिरको ढोकामा ताला लगाइदिएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आन्दोलनरत पक्षसँग वार्ताका लागि पत्राचार गरेको लिम्बुवान स्प्रिङ आन्दोलनका अभियान्ता टंक सेलिङले बताए ।

सेलिङले ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले स्प्रिङ आन्दोलन र पहिचानजन्य १८ संघसंस्थालाई वार्ताका लागि बोलाएको बताए ।

उनका अनुसार वार्ता आगामी २० अगष्ट (भदौ ३ गते)मा हुनेछ ।

स्प्रिङ आन्दोलनले तालाबन्दी गर्नुअघि १८ वटा पहिचानजन्य संस्थाहरुले संयुक्त प्रेस विज्ञप्ती निकाली तिम्बुङ पोखरी छेउको भौतिक संरचनाले आदिवासी लिम्बूहरुको धार्मिक आस्थामाथि अतिक्रमण गर्ने मात्रै नभएर तिम्बुङको प्राकृतिक सुन्दरतासमेत नष्ट गरेको भन्दै उक्त संरचना हटाउन माग गरेका थिए ।

सत्तारुढ समाजवादी पार्टीअन्तर्गत लिम्बुवान राज्य समितिका अध्यक्ष खगेन्द्र माखिम र कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समेत विज्ञप्ती निकाली उक्त संरचना हटाउन माग गरेका थिए । अभियान्ता सेलिङले काङसोरे लङ्गमार्चकै परिणामस्वरुप सरकारले वार्ताको पहल गरेको बताए ।

आफ्नो फेसबुकमा उनले लेखेका छन्, ‘हामीलाई राज्यसत्ताले वार्तामा बोलाएको कुरालाई काङ्सोरे लङमार्चको परिणामको रुपमा बुझेका छौं । र संयुक्त तिम्बुङ वरक बचाऔ अभियानको पनि उत्तिकै हात रहेको छ । समग्रमा सबै पहिचानवादी लिम्बुवानप्रेमीहरुको आन्दोलनले नै राज्यसत्ता वार्ताका लागि तयार भएको ठहर छ ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here