काठमाडौं– सत्तारुढ समाजवादी पार्टी निकट लिम्बुवान राष्ट्रिय समितिले लिम्बूहरुको ऐतिहासिक मुन्धुमीस्थल तिम्बुङ वरक (पोखरी)मा विष्णु मन्दिर निर्माण गरिएकोमा गम्भीर आपत्ति जनाएको छ ।

समितिका अध्यक्ष खगेन्द्र माखिमले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त कार्यले लिम्बूहरुको मुन्धुमी महत्वमाथि नै हस्तक्षेप भएको उल्लेख गरेका छन् ।

उनले विष्णु मन्दिर तुरुन्त हटाउन नेपाली राज्यसत्तासँग माग समेत गरेका छन् ।

‘लिम्बुवानको ताप्लेजुङ र पाँचथरको केन्द्रमा रहेको आदिवासी लिम्बूहरुको ऐतिहासिक मुन्धुमीस्थल तिम्बुङ वरक (पोखरी)मा हिन्दुधर्मको विष्णु मन्दिर निर्माण गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘आदिवासी लिम्बूहरुको पवित्र धार्मिक, सांस्कृतिक तथा मुन्धुमी स्थलमा हिन्दुहरुको विष्णु मन्दिर र्मिाणसँगै तिम्बुङ पोखरीको मुन्धुमी महत्वमाथि हस्तक्षेप भएको छ ।’

पोखरीको छेउमा भौतिक संरचना निर्माणले प्राकृतिक सुन्दरता समेत नष्ट गरेको भन्दै विज्ञप्तीमा भनिएको छ, ‘यसरी लिम्बू आदिवासीहरुको बचेको अस्तित्वलाई समेत नामेट पारेकोले उक्त संरचना तत्काल हटाउन नेपाली राज्यसत्तासँग आग्रह गर्दछौ ।’

विज्ञप्तीमार्फत माखिमले ‘लिम्बुवान स्प्रिङ आन्दोल’ले आयोजना गरेको तिम्बुङ पोखरी बचाऔ अभियानमा आफ्नाे पूर्ण समर्थन रहेको बताएका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here