विजय चाम्लिङ
ताप्लेजुङ– ताप्लेजुङको तिम्बुङ पोखरीको छेउमा निर्माण गरिएको विष्णु मन्दिरमा तालाबन्दी गरिएको छ । लिम्बुवाङ स्प्रिङ आन्दोलनका अगुवाहरुले हिजो बिहीबार तिम्बुङ पोखरीको मन्दिरमा तालाबन्दी गरेका हुन् ।

लिम्बुहरुको मुन्धुमसँग जोडिएको तिम्बुङ पोखरीलाई विष्णु मन्दिर निर्माण गरी विष्णु पोखरी नामाकरण गर्न खोजिएपछि लिम्बुवान स्प्रिङ आन्दोलनकारीहरुले झापादेखि तिम्बुङ वरकसम्म काङ्सोरे लङ्गमार्च गरेका थिए । जसमा ४२ जना सहभागी थिए । बिहीबार तिम्बुङ वरक पुगेपछि उनीहरुले मन्दिरको ढोकामा ताला लगाएका हुन् ।

लङ्गमार्चका संयोजक इक्साहाङ चेम्जोङले लिम्बुहरुमाथि धार्मिक तथा सांस्कृतिक अतिक्रमण गरी विष्णु मन्दिर निर्माण गरिएकोले सोको विरोधका लागि मन्दिरमा तालाबन्दी गर्नुपरेको बताए । तिम्बुङ वरकको किनारमा विष्णु मन्दिर बनाएर विष्णु पोखरी बनाउने प्रयास गरिएकोले आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।

सहसंयोजक प्रयास बान्तावाले ‘तिम्बुङ वरक बचाऔ अभियान’मा लिम्बुहरुमात्रै नभएर सम्पूर्ण आदिवासी जनजातिहरुको समर्थन रहेको बताए ।

मन्दिरमा तालाबन्दी गरिने भएपछि सो स्थानमा सरकारले दुई दर्जनबढी सुरक्षाकर्मी प्रहरीहरु समेत खटाएको थियो । प्रहरी र मन्दिर पक्षधरहरुले तालाबन्दी गर्नबाट रोक्न खोजे पनि स्प्रिङ आन्दोलनका युवाहरुले तालाबन्दी गरेका हुन् ।

लङ्गमार्चमा लिम्बुवानी नेता मचिन्द्र बेघा, किरात याक्थुङ चुम्लुङ प्रदेश समिति सल्लाहकार दिलेन्द्र कुरुङ्बाङ, समाजवादी पार्टीनिकट लिम्बुवान प्रदेश समितिका सदस्य सञ्जीव योङ्या, लिम्बुवान क्रान्तिकारी पार्टीका महासचिव दिनेश किराती लगायत नेताहरु पनि सहभागी भएका थिए ।

लङ्गमार्चकै क्रममा उनीहरुले ताप्लेजुङको सिदिङ्वा गाउँपालिका र पान्थरको याङ्वरक गाउँपालिकालाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

स्प्रिङ आन्दोलनका अभियान्ता टंक सेलिङले आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने प्रष्ट पारेका छन् । ‘लिम्बुवान भूमिमाथि हुने कुनै पनि किसिमको अतिक्रमण र अन्यायविरुद्ध शान्तिपूर्ण र सिर्जनशील आन्दोलन गर्नेछौ,’ उनले भने, ‘लिम्बुहरुको मुन्दुमसँग जोडिएको तिम्बुङ पोखरीलाई विष्णु पोखरी बनाउने प्रयास गम्भीर धार्मिक सांस्कृतिक अतिक्रण नै हो । यसविरुद्ध धार्मिक र जातीय सद्भाव कायम राख्दै सामाजिक आन्दोलनको विकास गर्ने प्रयास गरिरहेका छौं ।’

उक्त मन्दिर नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईको पहलमा पर्यटन बोर्डबाट ५० लाख र ताप्लेजुङको सिदिङवा गाउँपालिकाबाट ५ लाख गरी कूल ५५ लाख रुपैयाँमा बनेको बताइएको छ ।

सो मन्दिर निर्माणमा पनि चरम भ्रष्टाचार भएको भन्दै कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले छानबिन गर्न माग गर्दै केही दिनअघि मात्रै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएकाे थियाे ।

1 COMMENT

  1. यस्तै पारा हो भने,पशुपतिनाथ भित्र पनि बुद्ध को गुम्बा बनाउनु मिल्छ?कसैले कसैको ऐतिहासिक मुन्धुम थलो लाई अतिक्रमण गर्नु हुदैन।होशियार ,एकात्मक वादी।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here