विजय चाम्लिङ
काठमाडौं– लेखक शिवहरि अर्यालले समाजशास्त्र तथा मानवशास्त्रका विषयमा कक्षा ११ देखि स्नातक तहसम्म दुई दर्जन बढी पाठ्यपुस्तक लेखेका छन् । हाल उनले लेखेका पुस्तकहरु विभिन्न निजी तथा सरकारी स्कुल र कलेजका हजारौं विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

तर, नेपालका आदिवासी जनजातिका बारेमा अर्यालले जानाजान होस् या अन्जानबस पाठ्यपुस्तकमै गलत, भ्रमपूर्ण र अनर्गल किसिमको परिभाषा गरेको पाइएको छ ।

अर्यालले हालसम्म २५ वटा किताब लेखेका छन् । उनले लेखेका ६ वटा किताबमा ‘जनजाति’को परिभाषामा जनजातिहरुको मान, प्रतिष्ठा र इज्जतमा आँच पुग्ने अनर्गल विषय भेटिएको छ ।
उनका पुस्तकमा जनजातिबारे गलत ढंगको परिभाषा मात्रै छैन जनजातिहरुका परम्परागत धर्म, संस्कृति, मूल्य, मान्यता र सामाजिक व्यवस्थालाई समेत गलत किसिमले अथ्र्याइएको छ ।

कक्षा १२ को ‘ग्रामिण अर्थशास्त्र’ नामक किताबको पेज नं १०० मा ‘जनजाति’को अर्थ र परिभाषा लेखिएको छ । जसमा भनिएको छ, ‘जनजाति भन्नाले आफ्नै मौलिक भाषा, संस्कृति, परम्परा भएका, आफ्नै किसिमको धार्मिक आस्था भएका, आफूलाई हिन्दु भनी कहिल्यै दाबी नगर्ने, आफ्नै लिखित तथा मौखिक इतिहास भएका, निश्चित भौगोलिक क्षेत्रमा बस्ने समूह, राज्यको राजनैतिक शक्तिले त्यस्ता समूहको सांस्कृतिक भाषा र धर्मको विकासमा हेलचेक्राइँ गरेका हुन्छन् भन्ने आरोप लगाउने समूहलाई जनजाति (Ethnic group) भनिन्छ ।’

उक्त किताबको पेज नं २३२ मा ‘किपट भूमि’ विषयमा लिम्बूहरु राजा प्रतापसिंह शाहको पालामा सिक्किमबाट भागेर नेपाल प्रवेश गरेको र राजाले उनीहरुलाई सुरक्षा दिएको उल्लेख छ ।

लेखकले लिम्बूहरुको किपट भूमिबारे अर्थ र परिभाषा दिने क्रममा यो कुरा उल्लेख गरेका हुन् । जसमा भनिएको छ, ‘नेपाल सरकारले राजा प्रतापसिंह शाहको पालामा सिक्किम सरकारद्वारा सताइएका लिम्बुहरुलाई नेपालको पहाडी भागमा प्रवेश दिएर सुरक्षा प्रदान गरेको पाइन्छ ।…..’

ग्रामिण अर्थशास्त्र (कक्षा १२) का साथै समाजशास्त्रको परिचय (बिए प्रथम सेमेस्टर), नेपालमा समाजशास्त्र र मानवशास्त्र (कक्षा १२), ग्रामीण विकास (कक्षा ११), समाजशास्त्रको परिचय (स्नातक प्रथम वर्ष) र प्रारम्भिक समाजशास्त्र र मानवशास्त्र (कक्षा ११) नामक किताबमा आदिवासी जनजातिबारे गलत सूचना प्रवाह हुने गरी उल्लेख गरिएको छ ।

किताब कतिसम्म हचुवाको भरमा लेखिएको छ भन्ने कुरा ‘नेपालमा समाजशास्त्र र मानवशास्त्रको परिचय’ नामक किताबको पेज नं २४६ हेर्दा प्रष्ट हुन्छ । जहाँ लिम्बुहरुको धर्म बौद्ध धर्म भनिएको छ । र केही लिम्बुहरुचाहिँ हिन्दु धर्म मान्छन् भनिएको छ ।

यस किताबको पेज नं २१७ मा जनजातिबारे उही अर्थ र परिभाषा लेखिएको छ भने पेज नं २५६ मा ‘सामाजिक संगठन’ शीर्षकमा राईहरुको गोत्रो भनेर हचुवाकै भरमा केही लेख्ने प्रयास गरिएको छ ।

उनका अन्य सबै किताबमा जनजाति, धर्म, संस्कृति आदिकाबारेमा उस्तै कुरा उल्लेख गरिएको छ ।

यसमा गम्भीर पक्ष यो पनि छ कि उनले आफ्नाे कुनै पनि किताबमा कतै पनि ‘आदिवासी’का विषयमा अर्थ र परिभाषा लेखेको पाइँदैन ।

जनजातिको परिभाषा दिने क्रममा उनले २०५४ सालमा स्थापना भएको तत्कालिन ‘राष्ट्रिय जनजाति विकास समिति गठन आदेश २०५४’ (हालका आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान)लाई स्रोत उल्लेख गरेका छन् ।
तर, जनजाति विकास समितिबाट प्रतिष्ठान बनेको र सरकारले आदिवासी जनजातिलाई एउटै तहमा राखेर परिभाषित गर्दै ऐन जारी गरेको १८ वर्ष भइसक्दा पनि लेखकले पटक–पटक आफ्नाे किताबको नयाँ संस्कार प्रकाशन गर्दा समेत आदिवासी जनजातिको सरकारी परिभाषा कोड (साभार) गरेको देखिदैन ।

यहीनेर ‘आदिवासी’लाई छाँयामा पार्ने र ‘जनजाति’ शब्दावलीलाई मात्रै प्रचारमा ल्याउने लेखकको नियत हो ? भन्ने शंका उब्जिएको छ ।
‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८’ले आदिवासी जनजातिको प्रष्ट परिभाषा गरेको छ । जसमा ‘आदिवासी/जनजाति भन्नाले आफ्नाे मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनुपर्छ’ भनिएको छ । सरकारले प्रतिष्ठानमार्फत नेपालमा ५९ आदिवासी जनजाति सूचिकृत गरेको छ ।

गोरखास्थित सहिद लखन थापा गाउँपालिका–११ स्थायी घर भएका लेखक अर्यालका किताबहरुको हविगत हेर्दा राज्यका प्राज्ञिक तथा बौद्धिक नागरिक मानिने स्कुल, कलेज र विभिन्न विश्वविद्यालयका पुस्तक लेखकहरुको आदिवासी जनजातिप्रतिको दृष्टिकोण कस्तो रहेछ ? पाठ्यपुस्तक लेखनमा कतिसम्म लापरबही गरिदो रहेछ ? उनीहरुका पुस्तक कुन गुणस्तरको हुनेरहेछ भन्ने प्रष्ट हुन्छ ।

६ वटा पुस्तक बिक्रीवितरणमा नगरिने

अर्यालले लेखेका पुस्तकहरुमा आदिवासी जनजातिका सम्बन्धमा गलत र अनर्गल उल्लेख भएको पाइएपछि आदिवासी जनजातिहरुका साथै प्रतिष्ठानले समेत गम्भीर चासो देखाएपछि अर्यालले एम.के. पब्लिसर्स एण्ड डिस्ट्रिब्युटर्सबाट प्रकाशन भएका आफ्नाे ६ वटा पुस्तक बिक्रीवितरण बन्द गर्ने प्रतिवद्धता जनाएका छन् ।


प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, सदस्य सचिव गोविन्दलाल माझी र शाखा अधिकृत रामकुमार मादेनको पहलमा लेखकलाई बोलाएर छलफल गरिएको थियो । सो क्रममा अर्यालले आफ्नाे गल्ती स्वीकार गर्दै ६ वटै पुस्तकहरु बिक्रीवितरण बन्द गर्ने लिखित प्रतिवद्धता जनाएका हुन् ।

उनले गत साउन १६ गतेकै मितिदेखि आदिवासी जनजातिसँग सम्बन्धी शीर्षक, उपशीर्षक र व्याख्या रहेका किताबहरु बिक्री बन्द गर्ने प्रतिवद्धता जनाएका हुन् । प्रतिवद्धतापत्रमा उप्रान्त आदिवासी जनजातिसँग सम्बन्धित पुस्तक लेख्दा आदिवासी जनजातिको प्रतिष्ठामाथि आँच आउने, गलत सूचना प्रवाह गर्नेजस्ता शीर्षक वा शब्दावली प्रयोग नगर्ने उल्लेख छ ।

अब सच्याएर प्रकाशन गर्छु- अर्याल

लेखक अर्यालले ‘प्रारम्भिक समाजशास्त्र र मानवशास्त्र’ (कक्षा ११) नामक पुस्तकको २०७६ सालमा पाँचौ संस्करण समेत निकालिसकेका छन् । उनका अन्य पुस्तकहरु पनि कम्तिमा तेस्रो संस्करणमा प्रकाशन भएका छन् । उनले गल्ती भएका आफ्ना पुस्तकहरु सच्याएरमात्रै प्रकाशन गर्ने सार्वजनिकसँग बताए ।

लेखक शिवहरि अर्याल

पुस्तक लेखनजस्तो संवेदनशील कार्यमा कसरी लापरबाही भयो ? भन्ने प्रश्नमा उनले ‘पहिला अर्का एकजना साथीले पुस्तक लेख्नुहुन्थ्यो पछि उहाँले लेख्नुभएकोलाई मैले निरन्तरता दिनुपर्यो, यही कारण राम्रो हेर्न पाइएन’ भन्ने जवाफ दिए ।

‘लापरबाही त किन हुन्थ्यो र, किताबमा त्यस्तो लेख्न पाइन्छ ?,’ प्रतिप्रश्न गर्दै अर्यालले भने, ‘अब त्यही किताब अर्को वर्ष रिप्रिन्ट गर्दैछु, मलाई भेट्नुहोला म तपाईँलाई नयाँ किताब दिनेछु ।’

पुस्तकभित्र आदिवासी नलेख्नुमा नियत- मादेन

प्रतिष्ठानका शाखा अधिकृत रामकुमार मादेनले लेखक अर्यालको पुस्तकमा आदिवासीको अर्थ र परिभाषा उल्लेख नगर्नुमा उनको नियत देखिएको बताए । पुस्तकमा आदिवासीहरुको परिभाषा समावेश नगरीकन केवल जनजाति शब्दावलीलाई मात्रै महत्व दिनुलाई सरकारले अनुमोदन गरिसकेको अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि (आईएलओ) र आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र (युएनड्रिप) विरुद्धको लेखकको नियतपूर्ण दृष्टिकोण रहेको मादेनको भनाइ छ ।

‘आईएलओ १६९ र युएनड्रिपका कुरा अथवा स्वशासन र स्वायत्तताका कुरा आदिवासीहरुले मात्रै पाउँछन् जनजातिले पाउँदैनन्,’ मादेनले भने, ‘नेपालको हकमा आदिवासी/जनजाति एउटै समुदाय भएपनि केवल जनजातिलाई मात्रै जोड दिनु नियतबसको विषय हो ।’

रामकुमार मादेन

अर्यालका पुस्तकहरुमा आदिवासी लगायतका अन्य थुप्रै विषय छुटेको र भएका विषयबारे पनि गलत भएकाले ती सब सच्याइनुपर्ने मादेनले बताए ।

2 COMMENTS

  1. आदिवासी जनजातिको भाषा धर्म सस्कार मन्दिर आदि इत्यादी परम्परालाई हिन्दु धर्ममा उल्लेखित गरिदिएर आदिवासी जनजातिको सबैकुरा मास्ने र आदिवासी जनजातीको सबै परम्परालाई हिन्दुले आफ्नो बनाउने कुचेष्टा गर्दै आएकोछ

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here