काठमाडौं । नेकपाको खोटाङ जिल्लाका सचिव राम दंगालले प्रदेश नं १ को नाम किरात प्रदेश राख्नुपर्ने बताएका छन् ।
उनले किरात शब्द जातीय नभएर सांस्कृतिक तथा ऐतिहासिक सभ्यता भएको प्रष्ट पारे ।

खोटाङकाे बतासे स्थायी घर भई काठमाडौं बसोबास गर्नेहरुको गत शनिबार काठमाडौंको पशुपति क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा नेता दंगालले किरात प्रदेशलाई जातीय राज्यको रुपमा नहेर्न आग्रह समेत गरे ।

‘बाहुनले सरादे रुद्री गर्दा पूर्व ३ नम्बर माँझ किरात दिप्रुङ थुमे भनेर सुरु गर्छ, अनि तमसुकमा लेख्दा लिखितम् धनीको नाम पूर्व ३ नम्बर माँझ किरात दिप्रुङ थुमे भनेर लेखिन्छ । आज बाहुनले सराद पढ्दाखेरि भन्न मिल्ने, तमसुकमा लेख्न मिल्ने, किरात प्रदेश लेख्दा चाहिँ बाहुन, नेवार, तामाङले यो हाम्रो राज्य होइन भन्नु कुनै आवश्यक छैन । किरात भनेको सभ्यता हो, किरात राष्ट्रियता हो,’ दंगालले भने ।

उनले किरात समुदायको उभौली–उधौली र साकेला सिली प्रकृतिसँग जोडिएको बताए ।
‘आज साकेवा सिली नाचिन्छ, त्यो सिली भनेको प्रकृतिसँग जोडिएको छ । त्यहाँ धान कसरी रोपिन्छ ? खाडी कसरी बुनिन्छ ? माछा कसरी पौडिन्छ ? झिंगा कसरी नाच्छ ? प्रकृति सृष्टिको कुरा सिलीभित्र छ,’ उनले थपे, ‘किरात सभ्यता भनेको प्रकृतिपूजक हो । प्रकृतिले नै मान्छेलाई जोगाएको छ र प्रकृतिको पुजा गर्नुपर्छ भन्ने हाम्रो संस्कृति हो ।’
किरात संस्कृतिमा कोही पाहुना आउनासाथ कुखुरो काट्नैपर्ने र यो संस्कृति अहिले तामाङ, मगरहरुमा मात्रै नभएर क्षेत्री–बाहुनले पनि अंगालेको उनले बताए ।

‘किरात संस्कृतिमा पाहुना आउने बित्तिकै एउटा वापा (कुखुराको भाले) काट्नैपर्छ । क्षेत्री–बाहुनको पाहुना आउदा दुध, दही, चिनी, केरा दिइन्छ । तर आज कोही पनि पाहुना क्षेत्री–बाहुनकोमा आओस् कि तामाङकोमा आओस् वापा काट्नैपर्छ । यो भनेको किरात संस्कृति हो,’ उनले भने, ‘सबैलाई समानतापूर्वक हेर्ने, झुटो नबोल्ने, अतिथिप्रति सत्कार गर्ने संस्कृति किरात संस्कृति हो । तर अहिले हामी किरातलाई एउटा जातसँग जोड्दैछौ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here