सम्माननीय प्रधानमन्त्री तथा सरकारी नेकपाका अथेन्टिक अध्यक्ष केपी शर्मा ओलीज्यूले भन्नुभएछ, “पार्टी एकताको लागि मैले दहालजीले ल्याएको कागजातमा नहेरी सही धस्काइदिएँ । सही धस्काएपछि बल्ल पछि अध्ययन गरें ।”

प्रसंग आलोपालो प्रधानमन्त्री बन्ने सहमतीसँग सम्बन्धित थियो । ओलीजीले यसो भन्नुको अर्थ- आलोपालोवाला कुरा सही धस्काउँने बेलामा आफूलाई हेक्का थिएन भन्ने हो ।
नहेरी सही धस्काउने अनि पछि हेरेर मान्दिनँ भन्ने तरिकाले कहाँ पुर्याउला ?

-पहिलो कुरा सरकारको नेतृत्व गर्ने व्यक्ति समेतले आपसी सहमति गर्दा हेर्दैनहेरी सही गर्दा रहेछन् । हेर्दैनहेरी सही गर्नुको आशय के हुन्छ ?
पहिलो हुन्छ-यिनीहरू गम्भीर विषयमा पनि खेलाँची गर्दा रहेछन् र यिनीहरूको भर पर्ने कुरा राम्रो होइन ।
दोस्राे हुन्छ- यिनीहरू तात्कालिक र व्यक्तिगत फाइदाको लागि जे पनि हुन्छ भन्न र जे पनि गर्न तयार हुने रहेछन् र आफ्नो स्वार्थ पूरा भएपछि आफू समान मान्छेलाई पनि धोका दिन लाजै नमानी सक्ने रहेछन् ।

यो कुनै आरोप होइन नेकपा माओवादी केन्द्र र एमालेबीच एकता गर्दाको बखतको सहमति पत्र र त्यस बारेमा पार्टीको बैठकमै प्रधानमन्त्रीज्यूले व्यक्त गर्नुभएको धारणाले जन्माएका प्रश्नहरू हुन् यी ।

अब सोच्नोस-
प्रचण्ड जत्तिको चर्तापूर्जा मान्छेसँग गरेको सहमति त मलाई थाहै थिएन, हेर्दैनहेरी सही धस्काएँछु भन्नेहरूले अरु सामान्य नागरिकहरूसँग गरेका सहमति पालना गर्लान् ? पटक्कै गर्दैनन् । शासकहरू भविष्यमा धोका दिनको लागि मात्र सहमति गर्छन् भन्ने कुराको यो गजब उदाहरण हो ।

यस प्रकारको सहमति गर्ने र पालैपालो झुक्किनेमा यो देशका शक्तिशाली पार्टीका अध्यक्षद्वय नै छन् भनेपछि अरुको हालत के होला ? केपीओलीज्यू सही गर्न बेलामा झुक्किनुभयो भने प्रचण्डज्यू केपी ओलीले प्रधानमन्त्रीको पद खुरुक्क दिनुहोला भनेर झुक्किनुभयो । कठैबरा हाम्रो देशका नेताहरू !
र अन्तिम कुरा-
आफ्नै पार्टीका ‘कमरेड’लाई त यसरी थाङ्नामा सुताएर मनोरन्जन लिने प्रवृत्ति नेताहरूमा छ भने यी धोकेबाजहरूबाट अरुले के आशा गर्ने ?

यसरी हेर्दैनहेरी सही धस्काउँने खुस्कटहरूले विदेशीहरूसँग गरिने सन्धि सम्झाैताका व्यहोरा कत्तिको हेर्छन् होला ? पक्कै हेर्दैनन् । कर्मचारीतन्त्रले तयार पारेको कागजमा सही धस्काएर जीवन गुजार्छन् ।
यस्तो खुस्कटहरूले चलाएको शासनमा देश र जनताको भविष्य कस्तो होला ?

(याे सामग्रही बालाराम तिम्सिनाकाे फेसबुकबाट लिइएकाे हाे)

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here