उदयपुर । उदयपुरबाट प्रकाशित हुने त्रियुगा एक्स्प्रेस दैनिकमा कार्यरत पत्रकार देवराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।
समाचार संकलन गरी घर फर्कदै गर्दा आइतबार साँझ बेल्टारबाट प्रहरीले उनलाई पक्राउ गरेको त्रियुगा एक्स्प्रेस दैनिकका प्रकाशक तथा सम्पादक विश्वराज तामाङले बताए ।

पत्रकार राईले चौदण्डीगढी–७ स्थित ज्योति बहुमुखी क्याम्पसमा दुई समूहबिच झगडा हुँदा छुट्याउने प्रयास गरेका थिए । उक्त झगडाकै निहुमा प्रहरीले पत्रकार राईलाई पक्राउ गरेको हो । तर उक्त घटनामा पत्रकार राई निर्दोष रहेको क्याम्पसका प्रमुख द्रोण पराजुलीको भनाइ छ ।

पराजुलीले आफ्नाे विद्यार्थीमाथि चित्रकुमार कार्की र रमिला बस्नेतले कुटपिट गरेको बताए । तर के विषयमा झगडा भएको हो ? भन्ने आफूलाई थाहा नभएको क्याम्पस प्रमुख पराजुलीले बताए ।

सम्पादक तामाङका अनुसार बेल्टार फर्कने क्रममा उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की र मिस स्टेज विजेता रमिला बस्नेतसँग भेट भएपछि राईलाई उनीहरुले क्याम्पस जान आग्रह गरेका थिए । कार्कीका सहयोगी शिव रोइलाको आग्रहमा पत्रकार राई क्याम्पस पुगेका थिए ।

क्याम्पस पुगेका कार्की र बस्नेतले बिएड प्रथम वर्षमा अध्ययनरत अजय राईलाई हातपात गरेका थिए । त्यसपछि पत्रकार राईले छुट्याउने प्रयास गरेका थिए ।

बेल्टार घर भएकी बस्नेतको केही समयअघि चरित्र हत्या हुने किसिमको सामग्री सार्वजनिक भएको र सो सामग्री बनाउन अजय राईको भूमिका रहेको कारण उनीमाथि हातपात गरिएको हुनसक्ने बताइएको छ । प्रहरीले घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ ।

त्रियुगा एक्स्प्रेस दैनिकले निर्दोष व्यक्ति पत्रकारलाई नियन्त्रणमा लिएको भन्दै तत्काल रिहा गर्न प्रेस विज्ञप्तीमार्फत माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here