प्रतिनिधिमूलक तस्बिर

पदम श्रेष्ठ
काठमाडाैं । कपाली, कुश्ले, दर्शनधारी भनेर चिनिने नेवार समुदायको एकमात्र लाश गाडेर अन्त्येष्टि गर्ने समुदाय अब मसानघाट संरक्षणमा लाग्ने भएको छ ।

कपाली समुदायको दश वर्षपछि सम्पन्न नयाँ कार्यसमिति निर्वाचन चयनका साथ आयोजित एक कार्यक्रममा बक्ताहरुले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘हाम्रो समुदायको अन्त्येष्टि जलाएर होइन, पार्थिव शरीरलाई उत्तरपूर्व फर्काएर पलेटी कसेर ध्यानमुद्रामा बसाएर गाडिन्छ । त्यसका लागि हाम्रा पुर्खाले राज्यसँग लालमोहर लगाएर समुदायको बसोबास रहेको स्थानका खोला किनारमा मसानघाटका लागि जग्गा पाएका थिए, हाल आएर त्यस जग्गामा अनेक स्वार्थ बोकेका संस्था, व्यक्तिले आँखा गाड्दा, विकास निर्माणको नाममा यस समुदाय घाटै जोगाउन नसक्ने समस्यामा परेको छ,’ कपाली समाजका पूर्वअध्यक्ष शंकरप्रसाद दर्शनधारीले भने ।

दर्शनधारीका अनुसार कपाली समुदायमा दाँत नउम्रिएका बालबालिका बाहेकका व्यक्तिको निधन हुँदा पार्थिव शरीरलाई विधिवत् शास्त्रको मन्त्रोचारणसहित झोली तुम्वासहित गाडिने परम्पराका कारण अन्त्येष्टिका लागि जग्गा धेरै चाहिन्थ्यो ।
गोरखनाथलाई कुलदेवता मान्ने र विशेष पूजामा चक्र पुजा सम्पन्न गर्न निपुण मानिने यस समुदायको मृत्यु संस्कारको सम्मान गरी परापूर्वकालदेखि राज्यले प्रदान गरेको मसानघाट मिचिने क्रम तीव्र भएपछि समाजले संगठित रूपमै आवाज उठाउन लागेको हो ।

‘हामी अल्पसंख्यक छौ, राज्यको कुनै पनि निकायमा हामी पुगेका छैनौ,’ दर्शनधारीले भने, ‘यसैको फाईदा उठाउँदै हाम्रो घाटसमेत मिचिएको छ ।’

 

कपाली समुदायको जनसङ्ख्या ज्यादै कम छ । नेपालभर काठमाडौ, भक्तपुर, ललितपुर, चित्लाङ, पोखरा, चितवन, धरान, धनकुटामा समेत करिब ३६ जिल्लामा मात्र जनसंख्या छ ।
‘हामी अल्पसंख्यक छौ, राज्यको कुनै पनि निकायमा हामी पुगेका छैनौ,’ दर्शनधारीले भने, ‘यसैको फाईदा उठाउँदै हाम्रो घाटसमेत मिचिएको छ ।’

काठमाडौंको धोवीचौर, कुश्लेचौरमा इन्द्रचोक खलक र किलागल खलकको मसानघाट बनाउने भनी समुदायले किनेरै जग्गा छुट्याएको शिलापत्रमा उल्लेख छ ।

मसानघाट भनिएका ठाउँमा भने अहिले घरहरू ठडिएका छन् । टेकु पचलीघाटमा पनि पुल बनाउने, सडक बनाउने काममा कपाली समुदायको घाट मासिएको छ । दर्शनधारीले भने, ‘कीर्तिपुरमा पनि त्यस्तै भएको छ । यसैगरी देशभर नै घाट मिचिने क्रम जारी छ ।’

कपाली समुदायको पशुपतिमा रहेको सात रोपनी मसानघाटको जग्गामा पशुपति विकास कोषले चार रोपनीमा सुमार्गी भवनसहित विद्युतीय शवदाहगृह निर्माण गरेको रत्न कपाली बताउँछन् ।
उनले बाँकी तीन रोपनी कपाली समुदायका लागि छुट्याउने कुरा गरेर त्यसको पनि कार्यान्वयन नगर्दा कोषले समाजमाथि अन्याय गरेको बताए ।

त्यसैगरी समाजको गोकर्ण शाखा प्रमुख रत्न कुश्ले कपालीले पुर्खाले लिएको लालमोहरको प्रमाण पनि प्राकृतिक प्रकोप लगायत विविध घटनामा परेर घर भत्कदा नाम निसाना मेटिएको बताए । ‘कपालीले प्रयोग गर्दै आएको घाट त भिरमै पुगेको छ । त्यही नै भएपनि यसो बोर्ड राखेर तारवारले भएपनि बारेका छौं,’ उनले भने ।

दश वर्षपछि निर्वाचन सम्पन्न गरी सुनिल कपालीको अध्यक्षतामा गठित समाजको केन्द्रीय कार्य समितिले शनिबार गोकर्ण सहिदपार्कमा वनभोज कार्यक्रमको आयोजना गरेको थियो । सो भोजमा सहभागी कपाली नेता, समाजसेवीहरूले समुदायको साझा समस्या अहिलेलाई मसानघाट मासिनु नै रहेको बताएका थिए । जसमा उनीहरुले मसानघाट बचाउने काम अगाडि बढाउने प्रतिवद्धता जनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here