चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्वको विषयमा आलोपालो गर्ने सहमति भएको र सोही अनुसार अघि बढ्ने बताएका छन् ।

बुधबार भरतपुरमा प्रेस सेन्टर र प्रेस चौतारीको संयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले सरकारको नेतृत्वबारे पुरानै सहमति रहेको दोहोर्याए ।

यसअघि प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली भारत गएका बेला दाहालले एउटा टेलिभिजन अन्तर्वार्तामा सरकारको आलोपालो नेतृत्वबारे मुख खोलेका थिए ।
दाहालको उक्त अभिव्यक्ति आउनासाथ नेतृत्वबारे भएको सहमतिपत्र समेत सार्वजनिक भएको थियो ।

उक्त पत्र सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले पाँच वर्ष नै आफैले सरकारको नेतृत्व गर्ने आशयसहितको अभिव्यक्ति दिएपछि ओलीले सहमति कार्यान्वयन नगर्लान् कि भन्ने शंका उब्जिएको थियो ।

हाल प्रधानमन्त्री ओली बाहिर रहेकै बेला दाहालले दाेस्राे पटक उक्त विषय उठाएका हुन् ।

उनले भने, ‘जुन सहमति र समझदारी साथ अघि बढेका छौं, त्यसैअनुसार अगाडि गइन्छ । सबैलाई थाहा भएकै कुरा हो, त्यही सहमति अनुसार सरकारको नेतृत्वमा अघि बढ्छौ ।’

सो क्रममा उनले मिडिया काउन्सिल विधेयक र गुठी विधेयकको मस्यौदा तयार पार्दा आवश्यक गृहकार्य कम भएको बताए ।

उनले उक्त विधेयक परिमार्जन हुने बताए । उनले भने, ‘जति गृहकार्य हुनुपर्ने हो त्यो नभएकै हो । सबैको सहमतिमा आवश्यक परिमार्जन गरिनेछ ।’

यसैगरी लोकसेवा आयोगको विज्ञापनबारे प्रधानमन्त्री ओली नेपाल आएपछि मात्रै निर्णय गरिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here