धरान । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई पत्रकार विराट अनुपम (विराट गौतम) ले फोन गरेर उत्तेजित बनाएको भन्दै नेपाल पत्रकार महासंघले त्यसमा पत्रकारको गल्ती देखाएको छ ।

भ्रष्टाचारविरोधी छबि बनाएका मेयर चौधरीले पत्रकार गौतमको नाकको हड्डी भाचिदिने धम्की दिएर उक्त घटना चर्चामा आए पनि आम मानिसले भने बढीजसो पत्रकारलाई गलत भन्दै टिप्पणी गरेपछि नेपाल पत्रकार महासंघ प्रदेश नं १ कमिटिले गत जेठ २३ गते मोहनकाजी न्यौपानेको संयोजकत्वमा अध्ययनको लागि मिसन टोली गठन गरेको थियो ।

उक्त टोलीले मंगलबार प्रतिवेदन बुझाएको छ । र उक्त प्रतिवेदनमा पत्रकारको पनि गल्ती औल्याइएको छ ।

तेस्रो बुँदामा भनिएको छ, ‘पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्टाटसमा प्रमुख द्वारिकलाल चौधरीले कमेन्ट गरेको विषयलाई फोन गरेर उत्तेजित बनाएको पाइयो । साथै पत्रकार विराट अनुपमले पटक–पटक सामाजिक सञ्जाल फेसबुकमा दिने निजी अभिव्यक्ति तथा धारणाले थुप्रै पत्रकार र सामाजिक व्यक्तिको मानमर्दन र प्रतिष्ठामा आघात पुगेको गुनासा थुप्रै पाइयो ।’

पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्टाटसमा प्रमुख द्वारिकलाल चौधरीले कमेन्ट गरेको विषयलाई फोन गरेर उत्तेजित बनाएको पाइयो ।

प्रतिवेदनमा सुझाव समेत प्रस्तुत गरिएको छ । जसमा भनिएको छ, ‘पत्रकारले रिपोर्टिङ गर्दा र अन्तरवार्ता लिने क्रममा व्यक्तिलाई होच्याउने गरी अशिष्ट, अमर्यादित र पूर्वाग्रही प्रश्न गर्नु हुँदैन । पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग पृथक विषय भएको हुँदा पत्रकारले सामाजिक सञ्जालमा विचार र टिप्पणी व्यक्त गर्दा सचेत हुनुपर्दछ ।’

विभिन्न समयमा कतिपय पत्रकारले आचार संहिता र पेशागत मर्यादा पालन नगर्दा समग्र पत्रकारिता जगत नै आलोचित भइरहेको भन्दै मिसनले पत्रकार महासंघले जिल्ला शाखामा गुनासो सुनुवाई शाखा निर्माण गर्नुपर्ने सुझाव समेत दिएको छ ।

यसैगरी मेयर चौधरीले पनि आप्mनो गल्ती भएको स्वीकार गरेका छन् । उनले यसअघि नै आप्mनो बोली फिर्ता लिएका थिए । उनले आवेगबस परिस्थिति त्यस्तो भएको बताएका थिए ।

मिसन टोलीले चौधरीसँग भएको छलफल उधृत गर्दै प्रतिवेदनमा लेखेको छ, ‘द्वारिकलाल चौधरीले पत्रकार र प्रेस जगतप्रति गलत अभिव्यक्ति दिएको स्वीकार गर्दै त्यसमा आफू सच्चिन तयार रहेकाले सार्वजनिक स्थलमा गएर कान समातेर सय पटक उठबस गर्न पनि तयार रहेको बताएका छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here