जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सदियौदेखि विभेदमा परेको थारु समुदायले अधिकार प्राप्तिको लागि संघर्ष गर्नुको विकल्प नरहेको बताएका छन् ।

थारु आयोगले साेमबार जनकपुरमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले  मुलुक संघीय गणतन्त्रमा गए पनि कार्यन्वयन पक्ष इमान्दार नभएकोले संघर्ष अपरिहार्य रहेको उल्लेख गरे ।

संघर्ष नगरेसम्म कुनै समुदायले अधिकार प्राप्त गर्न नसकेको इतिहास रहेको जिकिर गर्दै मुख्यमन्त्री राउतले आफ्नाे भविष्य परिवर्तनका लागि थारुहरुमा लड्ने साहस जुटाउन आग्रह गरे ।

आयोग गठनमा समेत विभेद भएको बताउँदै उनले महिला आयोग र दलित आयोग जतिको अधिकार थारु, मधेशी, मुश्लिम जस्ता आयोगहरुलाई नदिइएको बताए ।

समुदायको अधिकारको लागि लड्दा रेशम चौधरीलाई झुठा मुद्दा खेप्नु परेको उल्लेख गर्दै उनले आन्दोलनको नाउँमा दशौ हजार मान्छे मार्नेहरु राज्य सत्ता संचालन गर्ने र निर्दोष रेशम चौधरीलाई जेलमा बस्नुपर्ने कहाँको न्याय हो ? भनी प्रश्न समेत गरे ।

आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश नं २ का थारु अगुवा, जनप्रतिनिधि लगायतकाे सहभागिता थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here