काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’ को रूपमा रहेको धरहरा निर्माण कार्य १५ प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीले ‘म बनाउँछु मेरो धरहरा’ भन्ने नाराका साथ धरहरा निर्माण गर्ने अठोट गरेका थिए । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रधानमन्त्री ओलीले गत पुस १२ गते धरहरा निर्माणको शिलान्यास गरेका हुन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्धारित समयभित्रै धरहराको निर्माण कार्य सकिने लक्ष्यसहित काम भइरहेको बताउँदै तालिका अनुसार नै निर्माण कार्य अगाडि बढिरहेको जानकारी दिए ।

धरहरा निर्माणमा अहिलेसम्म ४० करोड रुपियाँ खर्च भइसकेको छ ।

अहिले धरहराको टावर ठड्याइने क्षेत्रको ‘राफ्ट फाउन्डेसन’ को काम भइरहेको छ । यही फाउन्डेसनमा नै धरहराको टावर निर्माण हुने भएकाले ‘राफ्ट फाउन्डेसन’ निर्माण कार्य महत्वपूर्ण मानिने गरिन्छ ।

त्यसैगरी, ‘अन्डरग्राउन्ड’ निर्माण गरिने दुई तल्ला भवनको समेत फाउन्डेसन निर्माणको कार्य भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here