बेइजिङ — ‘उर्मिला कोजु, नेपाल । विश्वविद्यालयकै सबैभन्दा कान्छी विद्यार्थी ।’ अखिल चीन महिला महासंघकी उपाध्यक्ष हाङ स्या वैले चिनियाँ ‘फस्ट लेडी’ अर्थात् राष्ट्रपति सी चिनफिङकी धर्मपत्नी फङ ली युआनसँग यसरी चिनाइरहँदा उनको ढुकढुकी बढिरहेको थियो ।

चाइना वुमन युनिभर्सिटीको कार्यक्रममा विभिन्न देशका सहभागीमाझ चिनियाँ प्रथम महिला फङ ली युआन र उर्मिला कोजु । तस्बिर : लक्ष्मी/कान्तिपुर

अन्य छात्राहरूलाई सामान्य रूपमा चिनाइरहेका बेला आफ्नोबारे बखान गरेर चिनाइदिँदा उर्मिला उमंगले भरिइन् । चाइना वुमन युनिभर्सिटी (सीडब्लूयू) मा ८ महिनादेखि समाज सेवाअन्तर्गत ‘महिला नेतृत्व तथा सामाजिक विकास’ विषयमा बेइजिङमा अध्ययनरत छिन् भक्तपुरकी उर्मिला ।

सन् २०१५ मा ग्लोबल लिडर्स सम्मेलनका दौरान चिनियाँ राष्ट्रपति सी चिनफिmङले घोषणा गरेको लैंगिक समानता र महिला सशक्तीकरण कार्यान्वयनका लागि थालनी गरिएको यो कार्यत्रमले अहिले २ दर्जनभन्दा बढी देशका छात्रालाई आकर्षित गरेको छ । सन् २०१७ का दीक्षान्त प्राप्त विद्यार्थीको बिदाइ र नयाँ विद्यार्थीको स्वागतका लागि बेइजिङको प्रशासनिक केन्द्र ‘ग्रेट हल अफ द पिपुल्स’ मा मे मसान्तमा यो कार्यक्रम गरिएको थियो ।

उर्मिला भन्छिन्, ‘उहाँको साथीजस्तो व्यवहारले एकदमै उत्साहित भएँ । सामान्य तरिकाले नै प्रभाव पार्नुभयो ।’ एक जमानाकी नामी गायिका एवं सैन्य पृष्ठभूमिकी फङ लीयुआनको परिचय राष्ट्रपति सीकी श्रीमती हुनुमा मात्रै छैन । उनको सामाजिक सेवासँगको लगावले छुट्टै पहिचान स्थापित गरेको छ । अहिले प्रथम महिला भएपछि फङ लीयुआनको मायालु व्यवहारबारे संसारका थुप्रै मानिस अनभिज्ञ छैनन् ।

बालिका शिक्षाका लागि ‘स्प्रिङ बड प्रोजेक्ट तथा बालिका र महिला शिक्षाका लागि युनेस्को, यी दुईटा संस्थाका लागि आफू विशेष प्रतिनिधि रहेको भनेर विश्वभरबाट भेला भएका विद्यार्थीमाझ उनले आफ्नो परिचय दिइन् ।

प्रथम महिला उपस्थित कार्यक्रममा बोल्ने मौका पाउनेमा मौरिसस, अफ्रिकी मुलुक लेसोथो र नेपाल मात्रै थिए । उर्मिलाले बेइजिङबाट अन्य प्रान्तमा लगेर हस्तकला, खेलौना उद्योग, संस्कृति, चिनियाँ कुङ्फु, उद्ममलगायतमा महिलाहरूको अग्रसरता, महिला सशक्तीकरणमा चीनको प्रोत्साहनबारे अनुभव सुनाइन् ।

चीनबाट नेपालले महिला सशक्तीकरणका क्षेत्रमा धेरै कुरा सिक्न सक्ने र वकिलका रूपमा भविष्यमा आफूले यसमा अग्रसरता लिने बताएपछि फङ लीयुआनले पनि प्रशंसाको बुढीऔंला उठाएर ‘थम्स् अप’ गरिन् । अनि प्रत्युत्तरमा भनिन्, ‘हामीले विश्वव्यापी रूपमा महिलाहरूको इम्पावरमेन्टका लागि प्रयास गर्नुपर्छ । यहाँ सिकेका कुरा आफ्नो देशमा फर्केर कार्यान्वयन गर्नु है ।’

प्रथम महिलाले विदेशी छात्राहरू भेटेका फोटा सार्वजनिक भएसँगै ट्वीटरमार्फत नेपालीसामु पुगे । कतिपय ट्वीटर प्रयोगकर्ताले भने, ‘साडी लगाउँदैमा वा नमस्कार गर्दैमा नेपाली छात्रा नहुन पनि सक्छिन् ।’ ती प्रतिक्रियाबारे उनी भन्छिन्, ‘हाकुपटासी लगाएर विशुद्ध नेवारी संस्कृति झल्काउने योजनामा थिएँ तर कालो लुगा नलगाउनू भनेकाले त्यसो गर्न पाइएन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here