नगेन चाम्लिङ
किरात प्रदेश नामाकरण गरेर राईको इतिहास बचाउने कि हिन्दूको ? प्रदेश १ को सवालमा यहाँका जनप्रतिनिधिदेखि अधिकांश नागरिकहरु दुविधामा छन् । जनप्रतिनिधिमा डर पनि छ कि आज एउटा नाम प्रस्ताव ल्याउँला भोलि जनताले तिरस्कार गर्ने पो–हो– कि ? यस्तै–यस्तै अनुत्तरित कौतुहलले भरिएर आज प्रदेश १ बेनामे भएर बसिरहेको छ । प्रदेश १ को नामाकरण गर्ने विषयमा भ्रम र यथार्थ, केही उदाहरण, असर र विकल्पबारे चर्चा गरौ ।

नेपालको पूर्वी भेगमा पुरानो बसोवास रहेको किरात समुदाय भनेर चिनिने विविध जातिहरु राई, लिम्बू, सुनुवार, याक्खा र अन्य छन् । यी अधिकांशले एक नम्बर प्रदेशको नाम किरात भए मेरो पहिचान र इतिहास जोगिरहने छ भन्ने विश्वास लिन्छन् । कतिपयले सोचेका छन्, नाम भएपछि सबैमा किरातीको अधिपत्य हुनेछ ।

त्यसैगरी किरात जातिभित्र नपरेको ठान्ने अन्य अधिकांशले किरात नाम भएपछि हाम्रो अधिकार संकटमा पर्छ, त्यसैले कसैको पनि इतिहास नखुल्ने अमुक नाम दिउँ भन्ने दाउपेचमा तल्लिन छन् । इतिहास खुल्ने नाम दिँदैमा कसैको अधिकार खोसिएला त ?

अमेरिकाको उदाहरण हेरौ। डाकोटा, मिसौरी, मिनिसोडा, उथा र अरु धेरै राज्यहरुको नामांकन त्यहाँका आदिवासीको साना–साना पुरानो देशको नामबाट समेटिएको छ । यसले अमेरिकाको इतिहासलाई बुझाउन सजिलो भएको छ । के त्यहाँ नाम राख्दैमा बाहिरबाट आएकाहरुलाई अपमान भएको छ ? उनीहरुले गोराहरुलाई लखेटे त ? अमेरिका मात्र हैन संसारको कुनै पनि प्रजातान्त्रिक मुलुकले आपसमा विभेद गर्ने भन्ने अहिलेको युगमा अकल्पनिय छ । त्यहाँ यतिमात्र हो आदिवासीहरुलाई गाँस, बास, कपास, रोजगार लगायतमा भने सहुलियत छ । त्यो त नेपालले पनि सुरु गरिसकेकै छ ।

किरात शब्द

किरातको यथार्थ के हो त ? सर्वप्रथम किरात शब्द कहाँबाट उत्पत्ति भयो ? यसबारे प्रष्ट हुन जरुरी छ । धेरै ऐतिहासिक नामहरुमा दुविधा भएपनि किरातमा समानता छ । तथापि अधिकांशलाई थाहा छैन, किराती शब्द कसरी स्थापित भयो भनेर । किरात शब्द वास्तवमा किरातीको मुन्दुममा छैन । किराती भनिएको समुदायको मुन्दुममा त यलखोम छ । त्यसो भए यलखोम राज्य खोज्नुपर्ने थियो । किन किरात स्वीकार्न तम्सियो त ? यसमा प्रष्ट जवाफ एउटै मात्र छ, किरात शब्द हिन्दुकै उपज हो । हिन्दुको इतिहास वा शास्त्रले किरातीको देश भनेर यलाखोमलाई अर्को नाम दियो । जसरी बेलायती सरकारले भारतलाई इन्डिया नामाकरण गरेपछि कालान्तरमा उसको नाम इन्डिया भनेर चिनाउन बाध्य भयो ।

त्यसरी नै यलाखोमवासीले अहिले आफूलाई किरात भनेर चिनाउन बाध्य भएको हो । इण्डिया नामको इतिहास दुईसय वर्षको मात्र हो । तर हिन्दुको शास्त्र अनुसार किरातको इतिहास सत्य युगदेखिको निरन्तर छ । यती लामो इतिहास बोकेको नेपालमा किरात भन्ने प्रदेशको नामसम्म रहेन भने हिन्दुको वेद शास्त्र पनि गलत सावित हुनेछ ।

हिन्दुको गलत इतिहासको एउटा उदाहरण, राम जन्मिएको भनिएको अयोध्यामा उत्खननपछि पत्ता लागेको छ । उत्खननले त्यहाँ सवै बौद्ध सम्बन्धि मात्र प्रमाणहरु फेला परेपछि हिन्दुहरुमा तरंग छाएको छ । के हिन्दुले ब्याख्या गर्ने किरात पनि यस्तै गलत हो ? हैन भने खासमा हिन्दूहरुको लागि किरात प्रदेश हुनु सुनौलो मौका हो । यहाँ कुनै प्रमाण जुटाउनु जरुरी पनि छैन ।
यहाँ किरातको विकल्पमा सगरमाथा वा कोशी भनेर पनि प्रचारमा ल्याइने गरेको छ । सम्भव हरेक शब्दमा हुन्छ । तर यसको ऐतिहासिक प्रमाणिकरण इतिहासलाई कसरी गराउने ? भविष्यमा इतिहास कसरी थाहा पाउने ? यसबारे राजनीति गर्नेले ध्यान दिनुपर्छ कि पर्दैन ?

कोशी र सगरमाथा दुवैको नामाकरण गरिएको इतिहास हेर्ने हो भने ८० देखि १०० वर्ष भन्दा पर छँदैछैन । मानौं, यीमध्ये एकको नामाकरण भयो तर नामाकरणले के अर्थ दियो त ? यसमा हामी सवै अनुत्तरित छौं । जहिल्यै कुहिरोको काग जस्तो हुने ? अब अनुत्तरित हुनु हुँदैन कोशी र सगरमाथा जतिबेला नामाकरण भयो त्यो भन्दा पहिले त्यहाँ अर्कौ नाम थियो । कोशीलाई वालाम्ता र सगरमाथालाई चोमोलुङ्मा यलखोमबासीले भन्दथे र अहिले पनि चलनमा छ र जसले अध्यायन गरिरहेका छन् उनीहरुलाई पनि थाहा छ ।

कोशी नामबारे

कोशी नामको अर्थ र सम्भावनाबारे चर्चा गरौं । कोष (सानो ईकाई) सँग शी शब्द समास गरेर कोशी शब्द हुन्छ । यसले नदीको नाम वा भुगोलको नाम भनेर खास अर्थ दिँदैन । तर अंग्रेजीमा अयबकत (कोष्ट्, कोष्टी)को अर्थ समुद्र क्षेत्रको भुभाग र शी भनेको समुद्र हुन्छ । नेपालसँग अंग्रेजको सम्बन्ध दुई सय वर्ष ज्यादा लामो छ । यो अवधिमा उनीहरु कोशी नदी धेरै तरेका छन् । नेपालमा समुद्री भाग नहुँदा कुनै अंग्रेज कुटनितिज्ञले कोशीलाई देखेपछि कोष्ट्–शी भनेको हुनुपर्छ ।
यो नै नेपालीले पछि कोशी भनेर चिनाएको हुन सक्छ । आजकल अधिकांश नेपालीले कोशीको अर्थ ठूला नदिहरु भन्ने बुझ्नुले पनि कोशी नामले एक नम्बर प्रदेशको नदी वा क्षेत्रलाई मात्र समेट्दैन । अर्को अर्थमा भन्नु पर्दा धेरै टाढाको ठाउँलाई इङ्गित गर्दा पनि कोश भन्ने गरिन्छ । काठमाडौं बस्ने वा सर्वसाधारणले पुर्वी भेगलाई टाढा भनेर चिन्न पनि कोशी नाम गरेको हुन सक्छन् । अर्को सम्भावित कोशी सँग मेल खाने नाम काँशी छ । यो भारतको एतिहासिक शहर जसलाई नेपाली हिन्दुले पनि सम्मान गर्छन् ।

त्यसैलाई सापटी ल्याएर नेपालमा नामांकन गर्न खोजेको भए त्यो पनि प्रष्ट उल्लेख गर्नुपर्छ । मानौं भारतमा गोर्खाल्याण्ड राज्य माग भइरहेको छ । गोर्खाल्याण्ड शब्द नेपालीसँग जोडिएको भनेर उनीहरुले प्रष्ट खुलाएका छन् । फरक सत्य यती हो गोर्खाल्याण्ड माग्नेहरु त्यहाँका पहिलो बासिन्दा हुन् । तर काँशीलाई मान्नेहरु आयातित हुन् ।
केही भारतको राज्यहरुसँग तुलना गरेर पनि नेपालमा प्रदेशको नामाकरणलाई सहज बनाउन सकिन्छ । धेरै उदाहरण मध्ये केही लियौं । भारतमा आसाम राज्यको नाम ब्रम्हपुत्र किन हुन सकेन ? बिहार किन घागरा वा गंगा प्रदेश भएन ? वा कस्मिर किन लद्दाख हिमालको नामबाट राखिएन ? किनकी आसाममा आसामीको इतिहास राख्नुछ, विहारमा बौद्धको इतिहास बचाउनु छ, कस्मिरमा मुस्लिमको इतिहास राख्नुछ ।
बिहार राज्य जहाँ भनिएको छ त्यो बुद्धको विहारहरुलाई संरक्षण गरेर राखेकाले विहार नामांकन भएको हो । आश्चर्य के छ भने बिहार राज्यमा एक प्रतिशत पनि बौद्ध धर्मावलम्भीहरु छैनन् । भारतको यो उदाहरणले के पुष्टि हुन्छ भने नदीको नाम नदीसँगै वा पहाडको नाम पहाडसँगै छ । राज्यको लागि अर्को नाम हुन जरुरी छ । जसले त्यहाँको इतिहासलाई वचाईराखेको होस् । सगरमाथा नाम कसरी रह्यो यसको ऐतिहासिकता के हो अधिकांशलाई ज्ञान छ । ‘सगर’को अर्थ आकाश ‘माथा’को अर्थ शिर समास गर्दा ‘सगरमाथा’ भयो । अर्थपूर्ण नाम भएपनि यो नाम स्वीकार्य हुन्न । किन हुन्न भन्ने एउट उदाहरण, चार्लेस बाबागेले कम्युटर बनाए । कम्युटरलाई नेपालीले स्वचालित मेसिन भनेर बुझाउन सकिन्छ । तर नाम दिन मिल्दैन । तात्पर्य बाबुराम आचार्यले सगरमाथा भनेको नाम राख्न उनको कुनै योगदान छैन ।

अन्तमा

सगरमाथा वा कोशीजस्ता नाम राखिएमा यसको नकारात्मक असरहरु प्रसस्ती हुनेछन् । सर्वप्रथम कोशी वा सगरमाथा नामको अर्थ कसैले प्रष्ट बनाउन नसक्नु, दोस्रो पुरानै राजाकै प्रदेश त आयो भन्ने हिनता बोध हुनु, इतिहास तोडमोड गराएकाले आत्मग्लानी हनु जस्ता नकारात्मक असरहरु पर्नेछन् ।

यस्ता कथाविनाको प्रदेशको नामको गाथा जनताले कहिल्यै गाउने छैनन् । अर्थ विनाको राज्यको नाम आएमा किरात जन्य संगठन र पहिचानवादी संगठनहरुले रुष्टता पोख्नेमा दुविधा छैन । दल भित्रैबाट समेत यस्ता अर्थनवर्थको नाम विरुद्ध आवाज उठाउने प्रष्टै देखियो । यसले एक नम्बर प्रदेशमा राजनीतिमा असहज हुने निश्चित छ । असहज राजनीतिले हरेक विकासमा बाधा पुर्याउँछ ।
त्यसकारण भ्रममा नपरी यथार्थको पक्षमा प्रदेश संसदले निर्णय लिनुको विकल्प छैन । नेपालको सवैभन्दा पुराने इतिहास किरात प्रदेश नामाकरण गर्नमा गर्व गरौं । यसका लागि सवै जनताले खवरदारी गर्नुको विकल्प छैन । कसैले पनि मुख्यमन्त्री वा सभामुदको मुख नताक्नुस् । उनीहरु अन्तिममा विकल्प दिने मात्र हुन् । फेरि पनि डिजिटल जमानामा नेपाली मात्र हैन विदेशीले समेत संसारको कुना–कुनामा बसेर नेपालीबारे अध्यायन गरिरहेका छन् ।

किरात प्रदेश नामाकरण गर्ने अवसर पाएर पनि नामाकरण भएन भने किरात प्रदेशको माग हराउनेवाला छैन । कालान्तरले किरात प्रदेश नामाकरण गराउन सक्छ । कालान्तरसम्म एक नम्बरको जनप्रतिनिधि साच्चिकै एक नम्बरमा सम्मानित हुने कि अपमानित ? स्वतन्त्र विचार गरी निर्णय लिऔ ।

1 COMMENT

  1. ‘किरात’ शब्दको इतिहासलाई जरैसम्म पहिल्याउने हो भने हिन्दू महासगरमै पुग्नु पर्ने हुन्छ । तर इतिहासकारले ‘किरात इतिहास’ लेख्ने क्रममा हाम्रै स्रोत, वस्तु, स्थितिको समेत अध्ययन, अनुसन्धान गरेका छन् । जुन कुरा हामीले बुझ्नु अति आवश्वयक छ ।

    सन्तुलित ढंगले लेखिएको यो लेख तथ्यपरक छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here