वीरगन्ज – वीरगन्जको श्रीपुरमा रहेको एभिन्यूज टेलिभजिनको ब्युरो कार्यालयमा सोमबार एक समुहले तोडफोड गरेको छ। दिउँसो १ बजेतिर मोटरसाइकलमा आएका ५-६ जना युवाले एभिन्यूज टिभीको वीरगन्ज श्रीपुर स्थित स्टुडियो समेत रहेको ब्युरो कार्यालयमा तोडफोड गरेका हुन्।

उनीहरुले कार्यालयको बाहिर रहेको टिभी च्यानलको होर्डिंग बोर्ड च्यातेर फाल्नुका साथै भित्र पसेर स्टुडियो र रिसेप्सनको सिसासमेत फुटाएका एभिन्यूज टिभीका पर्सा संवाददाता हरिशंकर साहले बताए।

‘हामी स्टुडियो भित्रै बसेर काम गरिरहेका थियौँ, अचानक ५/६ जना युवाहरु आएर तोडफोड गरेर भागे’, साहले भने , ‘कार्यालयमा रहेका सिसिटिभी क्यामेरामा तोडफोड गर्नेहरुको भिजुअल फुटेज रेकर्ड छ , उनीहरुको पहिचान भइसकेको छ।’

तोडफोड गर्नेहरु समाजवादी पार्टीका कार्यकर्ताहरु रहेको साहले दावी गरे। एभिन्यूज टिभीका ब्यूरो प्रमुख राजु श्रेष्ठले पनि समाजवादी पार्टीकै कार्यकर्ताहरुले तोडफोड गरेको बताए।

काठमाडौंमा रहेको एभिन्यूज टेलिभजिनबाट आइतबार साँझ प्रसारित समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अन्तर्वार्ताको विषयलाई लिएर वीरगन्जस्थित ब्युरो कार्यालयमा समाजवादी पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेको श्रेष्ठको दाबी छ। एभिन्युज टिभीको कार्यक्रम ‘सकस राजनीति’ मा प्रश्नकर्ता पत्रकारले ‘जवाफ नदिने भए कार्यक्रम छोडेर जानू’ भनेपछि यादवले बीचमै कार्यक्रम छोडेर हिँडेका थिए।

तर समाजवादी पार्टी पर्साका अध्यक्ष एवं सांसद प्रदीप यादवले तोडफोडमा आफना पार्टीका कार्यकर्ता संलग्न नरहेको दाबी गरे। ‘आक्रोशमा आएर कार्यकर्ताले तोडफोड गरेका हुन् कि भनेर म सोधिखोजी गरिरहेको छु।’

पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने तोडफोड गर्नेहरुको पहिचान खुल्न नसकेको र घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको बताए।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले एभिन्यूज टेलिभिजनको कार्यलयमा तोडफोड भएको घटना प्रेस माथिको नाङ्गो आक्रमण भएको बताएका छन्। उनले तोडफोडमा संलग्नलाई पक्राउ गरी अविलम्व कारवाहीको माग पनि गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here