विराटनगर – प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्न नसकिरहेका बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।

यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए । धनकुटा यसअघि पूर्वाञ्चल विकास क्षेत्रको राजधानी थियो ।

संघीय सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरु भंग गरे लगत्तै प्रदेश सरकारले पूरानो क्षेत्रीय सदरमुकामलाई प्रदेशको सम्पर्क राजधानी बनाएको हो । त्यस्तै प्रदेश १ को यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

यसैबीच प्रदेशको नाम र राजधानीका बारेमा छलफल गर्न नेकपा संसदीय दलको बैठक बुधवारदेखि बोलाइएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार धुव्र सुवेदीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here